विश्व पानी दिवसको नारा र यसको सान्दर्भिकता

  वास खबर सम्बाददाता  843 पटक हेरिएको

विगत बर्षहरुमा जस्तै यस बर्ष पनि विश्व पानी दिवस विभिन्न कार्यक्रम गरी मनाउन सुरु भएको छ । दिवस आउन केही दिन बाँकी रहँदै पानीसँग सम्बन्धित विभिन्न कार्यक्रमहरु आयोजना गरी मनाउन थालिएको हो ।

सन् १९९२ मा ब्राजिलको रियो द जेनेरियोमा भएको संयुक्त पर्यावरण र विकासको संयुक्त राष्ट्र सङ्घको भेलाले विश्व पानी दिवसको घोषणा गरेको हो । सन् १९९२ मा एजेन्डा २१ मा समाहित गरिएको विश्व पानी दिवसको रूपरेखालाई आत्मसाथ गर्दै सन् १९९३ मा प्रथम विश्व पानी दिवस मनाईएको थियो।

विश्व पानी दिवस २०२५ को नारा ग्लेसियर संरक्षण (Glacier Preservation) गरौं भन्ने तय गरिएको छ । ग्लेशियर भनेको हिमालय क्षेत्रमा हजारौं बर्षदेखि जमेको बरफ, हिउँ, र चट्टानको ठूलो संग्रह हो। नेपालमा हिमालय क्षेत्रमा ३ हजार ८०० भन्दा बढी ग्लेशियरहरू रहेको बताईन्छ । जसमध्ये सगरमाथा क्षेत्रको खुम्बु ग्लेशियर, ङोजोङ्मा ग्लेशियर आदि प्रसिद्ध छन्।
ग्लेशियर पग्लिने कारणहरु

१) जलवायु परिवर्तन : जलवायु परिवर्तनले नेपालको तापमान विश्वकै औसतभन्दा बढी दरले बढिरहेको छ । जसले गर्दा स्वच्छ पानीको स्रोतको रुपमा रहेको ग्लेसियर बर्षेनी पग्लिदै गएको छ ।

२) प्रदूषण : हावामा कार्बन डाइअक्साइड, ब्ल्याक कार्बन जस्ता प्रदूषकहरूले ग्लेशियर उच्च दरमा पगाल्ने काम गरिरहेको हुन्छ ।

३) मानवीय गतिविधिहरू : अनियन्त्रित पर्यटन, हिमालय क्षेत्रमा निर्माण, र जंगल फडानीले गर्दा पनि ग्लेशियरलाई असर गरेको छ।

ग्लेसियर पग्लिँदा पर्ने प्रभावहरु

१) पानीको अभाव : ग्लेसियर नदीहरूको मुख्य स्रोत हो। ग्लेसियर उच्च दरमा पग्लिएपछि नदी सुक्ने, सिँचाइ र खानेपानीको समस्या सिर्जना हुने हुन्छ ।

२) प्राकृतिक प्रकोप : ग्लेसियर पग्लिँदा हिमताल बन्छ । यसले हिमताल फुट्ने र बाढीको खतरा निम्त्याउने हुन्छ । गत साल साउन ३२ गते सोलुृखुम्बुको थामेमा आएको बाढी यसैको एउटा उदाहरण हो । थामेमा गेग्रान र ढुंगा सहित आएको बाढीले एउटा विद्यालय, एउटा स्वास्थ्य चौकी, २ वटा होटल, १३ वटा घर पूर्ण र १० वटा घर आंशिक रूपमा क्षति भएको थियो । ९५० किलोवाट क्षमताको जलविद्युत् परियोजनामा समेत क्षति पुगेको थियो ।

३) कृषि र ऊर्जामा असर : ग्लेसियर उच्च दरमा पग्लिने र हिमताल फुटेपछि आउने बाढीले ठूलो जनधनको क्षति गर्न सक्छ । जलविद्युत् आयोजना नदी तटमै बन्ने हुनाले ठूलो क्षति पुर्‍याउन सक्छ ।

ग्लेसियर संरक्षणका उपायहरू

१. जलवायु परिवर्तन घटाउने : कार्बन उत्सर्जन घटाउन अन्तर्राष्ट्रिय सहयोग जस्तै पेरिस सम्झौतालाई सक्रिय बनाउने ।

२. स्थानीय पहल : हिमालय क्षेत्रमा वृक्ष रोपण, प्रदूषण नियन्त्रण, र स्थानीय समुदायलाई जागरूक बनाउने ।

३. प्रविधि र अनुसन्धान : ग्लेसियर मोनिटरिङ्गका लागि नवीन प्रविधिको प्रयोग गरी अध्ययन अनुसन्धान गर्ने ।

४. जोखिम व्यवस्थापन : हिमतालहरूमा रहेको पानीलाई सुरक्षित तरिकाले निकास दिने, जसका कारण कुनै पनि समयमा हिमताल विस्फोट हुने जोखिम नरहोस् ।

नेपालको भूमिका

राष्ट्रिय नीति : राष्ट्रिय जलवायु नीति सरकारको प्राथमिकतामा रहेको छ। नेपाल सरकारले ग्लेशियर संरक्षणलाई प्राथमिकता दिँदै आएको जनाएको छ।

सामुदायिक सहभागिता : स्थानीय समुदाय, एनजीओ, र अन्तर्राष्ट्रिय संस्थाहरू जस्तै इसिमोड सँगको साझेदारी बढाइएको छ।

ग्लेशियर नेपालको प्राकृतिक सम्पदा, स्वच्छ पानीको जलभण्डार र आर्थिक अस्तित्वको आधार हो। ग्लेसियरहरूले पृथ्वीको स्वच्छ पानीको स्रोतको ठूलो भाग समेट्छन ।

यसले वातावरणीय सन्तुलन कायम राख्न महत्त्वपूर्ण भूमिका खेल्दछ ।यसलाई बचाउन जलवायु न्याय, सामूहिक जिम्मेवारी, र दीर्घकालीन योजनाहरू बनाई कार्यान्वयन गर्न जरुरी छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार