
काठमाडौ : खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) क्षेत्रका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिबद्धताहरूको समीक्षा गर्दै प्रगति अनुगमन र पारस्परिक जवाफदेहिता सुदृढीकरणका विषयमा बहु–सरोकारवालासँग परामर्श बैठक सम्पन्न भएको छ।
स्यानिटेसन एण्ड वाटर फर अल ( SWA) र वाटर एडको सहयोगमा फ्रेसवाटर एक्सन नेटवर्क दक्षिण एशिया (FANSA), खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपाल (FEDWASUN) र ग्रामीण सचेतना तथा विकास संगठन (RADO) नेपालको संयुक्त आयोजनामा सम्पन्न बैठकमा वास क्षेत्रमा भएका प्रतिबद्धताहरूको कार्यान्वयन अवस्था, चुनौती र आगामी रणनीतिबारे गहन छलफल गरिएको हो।
बैठकमा सहभागीहरूले जलवायु परिवर्तन अनुकूलन, विपद् जोखिम न्यूनीकरण तथा लैङ्गिक–सामाजिक समावेशीकरणका पक्षलाई अझ सुदृढ बनाउनुपर्ने आवश्यकता औँल्याए। साथै आगामी दिनमा खानेपानी, सरसफाइ क्षेत्रगत विकास योजना (SDP) चाँडो स्वीकृत गर्नुपर्ने, सेवा प्रदायकहरूको कार्य सम्पादन सूचक सुदृढ बनाउनुपर्ने र दिगो विकास लक्ष्यको अवधारणा अनुरुप ‘Leaving no one behind’ कसैलाई पनि पछाडि नछोड्ने तरिकाले सेवा विस्तार गर्नुपर्नेमा जोड दिइएको छ।
कार्यक्रममा राडो नेपालका अध्यक्ष डा. कृष्ण धितालले वास क्षेत्रमा भएका प्रतिबद्धताहरूलाई प्रतिबद्धतामा मात्र सीमित नराखी व्यवहारमा उतार्नुपर्नेमा जोड दिनुभयो । उहाँले यसका लागि सबै पक्षबीच प्रभावकारी सहकार्य अपरिहार्य रहेकोमा जोड दिनुभयो।

कार्यक्रममा फेडवासनका अध्यक्ष राजेन्द्र अर्यालले खानेपानी र सरसफाइको कानुनी अधिकार स्थानीय तहको भए पनि व्यवहारमा पूर्ण रूपमा कार्यान्वयन हुन नसक्दा अन्यौलको अवस्था सिर्जना भएको बताउनुभयो।

कार्यक्रममा वास विज्ञ लजना मानन्धर, डा. तेज कार्की, पत्रकार सुवास खतिवडा, तथा वास अभियन्ता सिर्जना कार्की लगायतले खानेपानी, सरसफाइ र स्वच्छता क्षेत्रको सुधारका लागि साझा प्रयास, स्पष्ट जिम्मेवारी र प्रभावकारी समन्वय आवश्यक रहेको बताउनुभयो।
छलफलमा सहभागीहरूले नेपालमा खानेपानी र सरसफाइ सम्बन्धी प्रतिबद्धताहरूको कार्यान्वयनमा निरन्तरता कमी देखिएको उल्लेख गर्दै तथ्याङ्क र वास्तविक सुधार बीच ठूलो अन्तर रहेको बताएका छन्।

देशका धेरै पालिकाहरुमा वास प्लान निर्माण भैरहेको भए पनि लक्षित क्षेत्रमा प्रभावकारी कार्यान्वयन अझै चुनौतीपूर्ण रहेको, सरोकारवालाहरूले आधारभूत खानेपानी व्यवस्थापनमा थप गम्भीर हुनुपर्ने र समन्वयात्मक प्रयास प्रयास आवश्यक रहेकोमा पनि जोड दिईएको थियो।
बैठकमा फान्सा नेपालकी कन्भेनर भावना शर्माले नागरिक समाजले वास क्षेत्रमा खेलेको भूमिका बारे प्रस्तुतीकरण गर्दै समुदायस्तरमा नागरिक सहभागिता उल्लेखनीय रहेको बताउनुभयो। त्यस्तै खानेपानी तथा ढल व्यवस्थापन विभागका सिनियर डिभिज्नल इन्जिनियर डा. रजित ओझाले खानेपानी र सरसफाइ क्षेत्रमा कार्यान्वयन र अनुगमनका प्राविधिक चुनौतीबारे प्रस्तुतीकरण गर्नु भएको थियो।
सरकारी निकाय, नागरिक समाज, प्राविधिक विज्ञ तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको उक्त कार्यक्रमले खानेपानी र सरसफाइ क्षेत्रमा गरिएको प्रतिबद्धताहरुलाई व्यवहारमा उतार्न सबै पक्षबीच अझ प्रभावकारी सहकार्य आवश्यक रहेको निष्कर्ष निकालेको छ ।



91 पटक हेरिएको 

