काठमाडौ : चालु आर्थिक बर्षको तुलनामा आगामी आर्थिक बर्ष २०८२/०८३ मा खानेपानी मन्त्रालयको बजेट सीमा २६.३४ प्रतिशतले बढ्ने भएको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष नेतृत्वको राष्ट्रिय स्रोत अनुमान समितिले खानेपानी मन्त्रालय लगायत केही विकासे मन्त्रालयको बजेट सीमा बढाएर अर्थ मन्त्रालयमा पेस गरेको हो ।
अर्थ मन्त्रालयमा समितिले पेश गरेको ‘राष्ट्रिय स्रोत अनुमान तथा खर्च सीमा निर्धारण सम्बन्धी प्रतिवेदन २०८१’ मा खानेपानी मन्त्रालयलाई २० अर्ब ७५ करोड बजेट सीमा दिईएको छ । चालु आर्थिक बर्ष खानेपानी मन्त्रालयको बजेट १६ अर्ब ३२ करोड छ ।
खानेपानी सँगै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको पनि बजेट बढ्ने भएको छ । उर्जाको लागि ५० अर्ब ८० करोडको बजेट सीमा निर्धारण गरेको छ।
प्रतिवेदनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सहित १९ मन्त्रालयको बजेट सिलिङ बढाइएको हो ।
चालु आर्थिक बर्ष १८ खर्ब ६० अर्ब ३० करोड ३० लाख रुपैयाँ बजेट घोषणा गरेको सरकारले अर्ध वार्षिक समीक्षा मार्फत १६ खर्ब ९२ अर्ब ७३ करोड रुपैयाँ बजेट कायम गरिएको छ । आगामी आर्थिक वर्षका लागि भने १९ खर्ब ६५ करोड रुपैयाँ बजेट सिलिङ तोकेको छ । यो बजेट चालु आर्थिक बर्षको सुरुको कुल बजेट भन्दा ४० अर्ब ३४ करोड ७० लाख रुपैयाँले बढी हो ।