
बर्दिया : बर्दियाको पाँच वटा स्थानीय तहले खानेपानी र सरसफाइमा आगामी दिनमा गरिने कार्यहरुको विवरण सहित ६ बुँदे घोषणा पत्र जारी गरेका छन् ।
विश्व पानी दिवसको अवसरमा वास गेन्स परियोजनाले बर्दियाको ठाकुरबाबा नगरपालिकामा आयोजना गरेको ‘गुणस्तरीय खानेपानीको महत्वबारे सरोकारवालाहरुसँग गरिएको अन्तरक्रिया कार्यक्रमको अन्त्यमा गुलरिया नगरपालिका, मधुवन नगरपालिका, बारबर्दिया नगरपालिका, ठाकुरबाबा नगरपालिका र गेरुवा गाउँपालिकाले ६ बुँदे ठाकुरबाबा घोषणा पत्र जारी गरिएको हो ।
घोषणा पत्रलाई आगामी दिनमा अक्षरशः पालना गर्न सहमत जनाउँदै अन्तरक्रिया कार्यक्रमका सबै सहभागीले हस्ताक्षर गरेका छन् ।
घोषणा पत्र :
१. आ -आफ्नो नगर/गाउँपालिकाभित्र शत प्रतिशत घरधुरीमा पर्याप्त सुरक्षित खानेपानी पुर्याउन वास योजना, बजेट तथा कार्यक्रम तयार गर्ने।
२. सम्पूर्ण विद्यालयहरूमा सुरक्षित खानेपानीका लागि सुरक्षित पिउने पानी प्रणाली स्थापना गर्ने।
३. खानेपानीको पहुँच र गुणस्तरका लागि समुदायलाई उत्तरदायी बनाउँदै अनुगमन तथा नियमन प्रक्रियालाई सुदृढ बनाउने।
४. पानीका स्रोत संरक्षण, वर्षाको पानीको संरक्षण र पानीको स्रोतहरूको परिपूरणका लागि नीतिगत व्यवस्था गर्दै कार्यक्रम तथा बजेट व्यवस्था गर्ने।
५. वन संरक्षण, तीन तारे विद्यालय निर्माण र वातावरणमैत्री स्थानीय शासन सम्बन्धी कार्यक्रम वार्षिक बजेट तथा कार्यक्रममा प्राथमिकता दिने।
६. संघ, प्रदेश, स्थानीय तह र खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको सहकार्य, समन्वय र सहलगानीमा “सुरक्षित खानेपानी“ सुनिश्चित गर्ने।

यो घोषणा पत्रले खानेपानीको संरक्षण, उपलब्धता, गुणस्तर तथा व्यवस्थापनलाई प्राथमिकता दिँदै विविध पक्षहरूको सहकार्यमा सुरक्षित खानेपानी उपलब्ध गराउने उद्देश्य राखेको गुलरिया नगरपालिकाका वास फोकल पर्सन एवं योजना शाखा प्रमुख मुकुन्द अर्यालले बताउनुभयो।
घोषणा पत्र प्र्रस्तुत गर्दै उहाँले खानेपानी र सरसफाइ क्षेत्रमा विगतमा भन्दा धेरै सुधार आएको र अझ सुरक्षित खानेपानीको क्षेत्रमा धेरै काम गर्न बाँकी रहेको बताउनुभयो । ‘सुरक्षित खानेपानीको क्षेत्रमा हामीले धेरै काम गर्न बाँकी छ, आजको घोषणा पत्रलाई कार्यान्वयन गर्नका लागि हामी सबै पक्ष जिम्मेवार भएर अगाडि बढ्नुपर्छ’ उहाँले भन्नुभयो।
उहाँले योजनाबद्ध विकासका लागि नीतिगत व्यवस्था, संस्थागत संरचना र बजेटको आवश्यकता पर्ने उल्लेख गर्दै सुरक्षित खानेपानीका लागि बर्दियाका ५ वटा स्थानीय तहसँग यी तीनै पक्ष मजबुत भएको बताउनुभयो।

घोषणा पत्र जारी गर्नु अघि ‘सुरक्षित खानेपानीको महत्वका बिषयमा विभिन्न सत्रहरु सञ्चालन गरिएको थियो । सुरक्षित खानेपानी उपलब्ध गराउनका लागि ऐन कानुन र नीति निर्देशिकामा भएका व्यवस्थाहरुका बारेमा वास गेन्स परियोजनाका परियोजना प्रबन्धक उमा शंकर यादवले प्रस्तुतीकरण गर्नुभएको थियो ।
उहाँले खानेपानी सेवा प्रदायकले समेत सुरक्षित पानी मात्र वितरण गर्नुपर्ने र यसका लागि नियमित परिक्षण गरी पिउन योग्य पानी मात्र उपलब्ध गराउनुपर्ने कानुनी व्यवस्था रहेको जानकारी गराउनुभयो।

बाटर एडको तर्फबाट वास गेन्स परियोजनाकै प्राविधिक अधिकृत रबिन्द्र गोदारले जलवायु परिवर्तनले जनजीवनमा पुर्याईरहेको असर र यसले भविश्यमा पुर्याउन सक्ने खतरा र क्लोरिनेसन विधिबाट खानेपानीको शुद्धिकरण गर्ने तरिकाका बिषयमा प्रस्तुतीकरण गर्नुभयो ।

त्यसपछि प्यानल छलफल सत्र सञ्चालन गरिएको थियो । प्यानल छलफलमा गुलरिया नगरपालिकाका उप प्रमुख साबित्रा गौतम, मधुवन नगरपालिकाका शिक्षा शाखा प्रमुख नारायण प्रसाद खनाल, खानेपानी तथा सरसफाइ कार्यालय बर्दियाका प्रमुख बसन्त दुलाल, खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ (फेडवासन) का केन्द्रिय सदस्य चन्द्रमणि पौडेल र गेरुवा गाउँपालिकाका वास फोकल पर्सन रमेश बजगाई हुनुहुन्थ्यो।

प्यानल छलफलमा खानेपानी र सरसफाइको वर्तमान अवस्था, सरोकारवाला निकाय बीच भैरहेको समन्वय र सहकार्य, नगरपालिकागाउँपालिकाले निर्माण गरेको ऐन, कानुन, नीति नियम र आगामी योजनाका बिषयमा बृहत छलफल गरिएको थियो।
छलफलमा मधुवन नगरपालिकाका शिक्षा शाखा प्रमुख नारायण प्रसाद खनालले हरेक सामुदायिक विद्यालयको खानेपानी परिक्षण गर्ने अनिवार्य व्यवस्था गर्ने र सुरक्षित पानी सुनिश्चित गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

गुलरिया नगरपालिका उपप्रमुख साबित्रा गौतमले भने नगरपालिका क्षेत्र भित्रका सबै घरपरिवारमा पाइप प्रणालीको पानीको पहुँच पुर्याउन बजेटको व्यवस्था गर्ने, सेवा प्रदायक संस्थाहरुलाई सबै विद्यालयहरुमा सुरक्षित खानेपानी उपलब्ध गराउन अनिवार्य गराउने बताउनुभयो।

यस्तै खानेपानी तथा सरसफाइ कार्यालय बर्दियाका प्रमुख बसन्त दुलालले हालसम्म खानेपानी कार्यालयमा प्रयोगशाला नभएको र जनशक्ति समेत नभएकाले आगामी दिनमा ल्याब स्थापनाको लागि पहल गर्ने बताउनुभयो।

यस्तै गेरुवा गाउँपालिकाका वास फोकल पर्सन रमेश बजगाईले गाउँपालिकामा भित्रका विद्यालयहरुको मूल्याङकन तारे पद्धति अनुरुप हुना थालेको र त्यसै अनुरुप आगामी तीन बर्ष भित्र सबै विद्यालयलाई तीन तारे बनाईने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ (फेडवासन) का केन्द्रिय सदस्य चन्द्रमणि पौडेलले सबै उपभोक्ता समितिहरुको दक्षता अभिवृद्धिका लागि तालिम एवं ऐन कानुनमा भएका व्यवस्थाहरुको पैरवीका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने बताउनुभयो।
बर्दियाको पाँच नगरपालिकाका ३३ वटा समुदायिक विद्यालयहरूको खानेपानी, सरसफाइ तथा स्वच्छता सुधारका लागि युके एड र वाटर एडको सहयोगमा बेस बर्दिया, राष्ट्रिय अपाङ्ग महासंघ र नेपाल प्रजनन स्याहार केन्द्रको साझेदारीमा वास गेन्स परियोजना सञ्चालन भइरहेको छ ।



1773 पटक हेरिएको 

