ऋण तिर्न सक्ने गरी योजना बनाउन खानेपानी संस्थानलाई सांसद बरालको निर्देशन

  वास खबर सम्बाददाता  393 पटक हेरिएको


पोखरा : नेपाली कांग्रेस नेता एवं गण्डकी प्रदेश सांसद प्रकाश बरालले सरकारको ऋण तिर्न सक्ने गरी योजना ल्याउन खानेपानी संस्थानका नवनियुक्त महाप्रबन्धक अर्जुनबाबु ढकाललाई अनुरोध गर्नुभएको छ ।

नेपाल खानेपानी संस्थान कर्मचारी संघ केन्द्रीय समितिले नवनियुक्त महाप्रबन्धक ढकाललाई बधाई तथा शुभकामना प्रदान गर्न आयोजित कार्यक्रममा सांसद बरालले सरकारको ऋण तिर्न सक्ने गरी योजना ल्याउन र यसले कर्मचारीको समस्या पनि समाधान हुनेमा आफू ढुक्क रहेको बताउनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले सेवामुलक खानेपानी संस्थानले उपभोक्ताको सर्वोपरि हितमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो।
नेपाल खानेपानी संस्थान कर्मचारी संघका अध्यक्ष केदार धमलाको अध्यक्षतामा भएको कार्यक्रममा नेता शर्माले पानी मानिसको जीवन भएकाले प्रभावकारी सेवा दिन संस्थानलाई आग्रह गर्नुभयो।

कार्यक्रममा नेपाल खानेपानी संस्थानका महाप्रबन्धक अर्जुनबाबु ढकालले उपभोक्ताको हितमा सवै कर्मचारी संग भएको क्षमता उपयोग गरेर मुस्कान सहितको सेवा प्रदान गर्न कर्मचारीलाई आग्रह गर्नुभयो।


संस्थानको सिमित स्रोत र साधनबाट अधिकतम सेवा प्रवाह गर्नु पर्ने दायित्वबाट संस्थान चुक्न नहुने उहाँको भनाइ थियो । ढकालले विनियमावली परिवर्तनशील दस्तावेज भएकाले आवश्यकताको आधारमा थपघट गर्दै युनियनसँग सहकार्य गर्न आफू तयार रहेको पनि बताउनुभयो।

कार्यक्रममा नेपाल खानेपानी संस्थान गौशाला शाखाका प्रमुख राकेश गोईतले शाखा विस्तार अभियानलाई साथ दिनु पर्नेमा जोड दिनुभयो। उहाँले कर्मचारी संघको हरेक कदम तथा कार्यक्रम सकारात्मक भएको बताउँदै कर्मचारीका समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभयो।

यस्तै नेपाली कांग्रेस गोरखा जिल्लाका महाधिवेशन प्रतिनिधि ओम गुरुङले पञ्चायत तथा द्वन्दकालमा दमन र अन्यायमा परेको परिवार भित्रको असल व्यक्तित्व अर्जुनबाबु ढकाललाई शुभकामना दिँदै सफल कार्यकाल हुनेमा विश्वास व्यक्त गर्नुभयो ।


कार्यक्रममा नेपाल खानेपानी खानेपानी संस्थान कर्मचारी संगठनका सचिव झलकराम अधिकारीले कार्यरत कर्मचारीको रोजगारको सुनिश्चित गर्नु पर्ने बताउनुभयो। उहाँले राम्रो कामको समर्थन गर्ने बताउनुभयो ।

कर्मचारी संघ इकाई समिति पोखराका कोषाध्यक्ष सिमाना केसीले अतिथिहरुलाई गायन र नृत्यको माध्यमबाट स्वागत गर्नु भएको थियो । कार्यक्रममा विभिन्न शाखाका कार्यालय प्रमुखहरुको उपस्थित रहेको थियो ।

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार