वातावरण संरक्षणमा केन्द्रित समुदायको लागि २ घण्टा अभियानले मनायो १०० औं हप्ता

  वास खबर सम्बाददाता  248 पटक हेरिएको

भक्तपुर : वातावरणीय सफाई प्रति सजग बन्दै थालनी गरिएको समुदायको लागि २ घण्टा अभियानले १०० हप्ता सम्पन्न गरेको छ । अभियानले १०० हप्ता पूरा गरेको उपलक्ष्यमा ‘वातावरणीय विशेष उत्सव, सम्मान कार्यक्रम’ को आयोजना गरी नगरपालिकाले अभियानमा निरन्तर साथ र सहयोग गर्ने विभिन्न संघसंस्थाहरुलाई सम्मान गरेको हो।

चाँगुनारायण नगरपालिका वडा नं. २ अध्यक्ष एवं समुदायका लागि २ घण्टा अभियानका संयोजक सोम प्रसाद प्रधानले अभियानको आगामी कार्यक्रमको घोषणा गर्नुभयो । चाँगुनारायण नगरपालिका, वडा नं. २ स्थित प्राज्ञ आर्दश समाजले हरेक शुक्रबार २ घण्टा गर्ने गरी तय गरेको कार्यक्रम तेस्रो हप्ताबाट वडा नं.२ ले संयोजन गरि कार्यक्रमलाई निरन्तर अगाडि बढाईएको प्राज्ञ आदर्श समाजका अध्यक्ष नबराज काफ्लेले बताउनुभयो।

त्यसैगरी १३ औं हप्ताबाट सिंगो चाँगुनारायण नगरपालिकामा यो अभियान कार्यान्वयनमा ल्याउन चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्रीले चाँगुनारायण मन्दिर परिसरबाट उद्घोष गर्नुभएको थियो ।

राष्टको लागि २ घण्टा अभियान भक्तपुरबाट अभिप्रेरित भई प्राज्ञ आदर्श समाज मार्फत वडा नं. २  हुँदै चाँगुनारायण नगरपालिकाका ९ वटै वडामा अभियान सञ्चालनमा तदारुकता देखाएकोमा नगरप्रमुख जीवन खत्री, वडाअध्यक्ष सोम प्रसाद प्रधान,अन्य ८ वटै वडाध्यक्ष लगायत सम्पुर्ण नगरबासीलाई अध्यक्ष काफ्लेले धन्यवाद व्यक्त गर्नुभयो ।

प्राज्ञ आर्दश समाज,राष्टको लागि २ घण्टा अभियान,नेप्सेम्याकलाई विशेष सम्मान सहित कदर पत्र, प्रशंसा पत्र र प्रोत्साहन पत्रद्धारा वडा नं. २ भित्रका विद्यालय,नेपाल रेडक्रस सोसाईटी, दुवाकोट स्वास्थ्य चौकी,दुवाकोट प्रहरी प्रभाग,टा्ेल सुधार समिति लगायत ७३ वटा विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाहरुलाई सम्मान गरिएको चाँगुनारायण नगरपालिका वडा नं. २ का जनप्रतिनिधि एवं वास कार्यक्रम संयोजक प्रेम खत्रीले जानकारी दिनुभयो।

सो कार्यक्रममा केही समय अगाडि सम्पन्न गरिएको वातावरण सम्बन्धी चित्रकला प्रतियोगितामा वडाभित्रका उत्कृष्ट ३ विद्यालयलाई पुरस्कृत गरिएको संयोजक खत्रीले बताउनुभयो।

चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्रीले वडा नं।२ ले थालनी गरेको अभियान सिंगो चाँगुनारायण नगरपालिका भित्र फैलिएको र जनस्तरबाटै प्रशंसायोग्य कार्यक्रम रहेको उल्लेख गर्दै वातावरण सँग जोडिएको यस अभियानले नगरपालिकाबाट उचित सम्मान प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो ।

काठमाडौ उपत्यका विकास प्राधिकरण बोर्डका प्रमुख आयुक्त जानुका ढकालले जनप्रतिनिधि नै क्रियाशिल भएर आज १०० औ हप्ताको कार्यक्रम मनाउन पाउँदा खुशी व्यक्त गर्नुभयो । उहाँले अभियानको निरन्तरताको कामना गर्नुका साथै अभियानलाई आगामी दिनमा प्राधिकरणबाट पूर्ण साथ र सहयोग उपलब्ध भैरहने प्रतिबद्धता व्यक्त गर्नुभयो।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार