
जाजरकोट : जाजरकोटको सदरमुकाम खलंगामा वास मार्ट स्थापना गरिएको छ । सबैका लागि दिगो खानेपानी सरसफाइ तथा स्वच्छता आयोजना (सुस्वा) भेरी नगरपालिका वास युनिटको सहजीकरणमा खलंगा स्थित ज्योति हार्डवयरमा वास मार्ट स्थापना गरिएको हो ।
सुस्वा लागु भएका भेरी नगरपालिका भित्रका सेवाग्राहीहरुले सरसफाइका सामाग्रीहरु एउटै स्थानबाट सर्वसुलभ तरिकाले खरिद गर्न सकुन् भन्ने उद्देश्यले वास मार्ट स्थापना गरिएको वास संयोजक रविन्द्र विक्रम शाहीले बताउनुभयो । ‘वास मार्टमा नङ कटदेखि सेनिटरी प्याड, खानेपानी योजना निर्माणका लागि आवश्यक सामग्री देखि शौचालयका सामानहरु लगायत खानेपानी र सरसफाइ सँग सम्बन्धित सामग्रीहरु सहजै उपलब्ध हुनेछन्’ उहाँले भन्नुभयो।
इकाईको चालु आर्थिक वर्षको नियमित कार्यक्रम अन्तरगत वास मार्ट स्थापना गरिएको हो संयोजक शाहीले भन्नुभयो ज्ज्योति हार्डवयर एण्ड अर्डर सप्लायर्समा अब सरसफाइ सामग्रीहरु सहजै उपलब्ध हुने ब्यवस्था गरिएको छ । त्यसैगरी समुदाय स्तरमा पनि आयोजनाका कर्मचारीहरुले वास मार्टको प्रचार प्रसार गर्ने कार्य गर्नेछन् भने आयोजनाले समुदायमा सरसफाइका क्षेत्रमा काम गर्दा आवश्यक पर्ने सामग्रीहरु सो मार्टबाट खरिद गर्न समेत सिफारिस गर्नेछन् ।
वास मार्टको उद्घाटन गर्दै भेरी नगरपालिकाकी उपमेयर सीता जैसीले आफुहरुले स्थापना गरेको वास मार्टले नगर सहित जिल्लाको खानेपानी तथा सरसफाईको क्षेत्रमा सहयोग पुग्ने बताउनुभयो । ‘वास मार्ट स्थापना पछि खानेपानी र सरसफाई सम्बन्धी सबै सामानहरु एकै ठाउँमा सहज रुपमा सबैले पाउनु हुनेछ, उपमेयर जैसीले भन्नुभयो। यसले जिल्लाकै खानेपानी र सरसफाईको क्षेत्रमा सहयोग पुग्ने मेरो विश्वास छ।’

वास मार्टमा सहज रुपले सुलभ मुल्यमा प्रयोग गर्न सजिलो र पानीको अधिकतम बचत गर्ने सामग्रीहरु पाउने भएकोले सबैले प्रयोग गर्न तथा आवश्यक प्रचार प्रसार गर्न उपमेयर जैसीको आग्रह छ ।
सुस्वा परियोजनाका सल्लाहकार सुर्य बहादुर थापाले खानेपानी, सरसफाई तथा स्वच्छताका क्षेत्रमा नागरिकहरुलाई थप सुविधा दिन र नियमित प्रयोग गर्ने बानीको विकास गर्नका लागि परियोजनाले वास मार्ट स्थापनामा सहयोग गरेको बताउनुभयो।
वास मार्टमा खानेपानीको अधिकतम बचत गरी सरसफाई गर्न सकिने सामग्रीहरु, शौचालयमा पानीको बचत संगै अपांगमैत्री, जेष्ठ नागरिकमैत्री, गर्भवती, सुत्केरी तथा महिनावारी महिलामैत्री सामग्रीहरु सहित खानेपानी, सरसफाई तथा स्वच्छताका लागि आवश्यक सबै सामग्रीहरु एकै ठाउँमा पाइने नगरपालिकाले जनाएको छ ।
उपभोक्ताले आफुलाई आवश्यक परेको सामग्रीहरुको बारेमा थाहा पाउनका लागि मार्टमा उपलब्ध रहेका सामग्रीहरुको नाम, सो सामग्रीहरुको विशेषता, मूल्य लगायतको सबै जानकारी सबैले देख्नेगरी राखिने नगरपालिकाको भनाई छ ।
जिल्लामै पहिलो पटक वास मार्ट संचालन गर्न सहयोग पुर्याएको भन्दै ज्योति हार्डवयरका प्रोप्राइटर रामचन्द्र ज्योतिले भेरी नगरपालिकालाई धन्यवाद व्यक्त गर्नुभयो।


393 पटक हेरिएको 

