
बर्दिया : बर्दियाको बारबर्दिया नगरपालिकाको वडा नं. ८ औंरीमा जनज्योति आधारभूत विद्यालय छ । विद्यालयको प्रवेशद्वार खोल्ने वित्तिकै अगाडि पट्टि देखिन्छ ‘हात धुने स्थान।’ प्रवेशद्वारबाट सीधै अगाडि बढ्दा हात धुने स्थानमै पुगिन्छ । त्यहीँनेर छ, छात्र छात्रा शौचालय । त्यसको बायाँ पट्टि पहुँचयुक्त शौचालय बनाईएको छ ।

पहुँचयुक्त शौचालय भित्रको सबै संरचना अपाङ्गता भएका व्यक्तिहरुको पहुँचलाई केन्द्रमा राखेर निर्माण गरिएको छ। अन्य ठाउँमा बनाएका पहुँचयुक्त शौचालयमा जस्तै यो शौचालय सम्म पुग्न पहुँचयुक्त बाटो, ह्वील चेयर गुडाएर फर्किने प्रशस्त ठाउँ, समाउनका लागि रेलिङ, साबुन पानी र ऐना लगायत सुविधाको व्यवस्था गरिएको छ ।

तर यो शौचालयमा थप सुविधाहरु पनि छन् । शौचालय भित्रै विद्युतीय जनाउ घण्टीको पनि व्यवस्था गरिएको छ । शौचालयको भित्तामा भएको विद्युतीय घण्टीको स्वीचलाई दबाउन साथ बाहिरपट्टिको भित्तामा रहेको स्पीकरमा घण्टी बज्न थाल्छ । घण्टीको आवाज विद्यालय परिसरभित्र सुन्न सकिने गरी राखिएको छ ।
पहुँचयुक्त शौचालय खासगरी अपाङ्गता भएका व्यक्तिहरुले प्रयोग गर्ने भएकाले शौचालय भित्र केही भैपरी समस्या भएमा तत्काल सहयोग प्राप्त गर्न सकोस् भन्ने उद्देश्यले शौचालय भित्रै विद्युतीय घण्टी राखिएको वाटर एड नेपाल, वास गेन्स परियोजनाका परियोजना प्रबन्धक उमा शंकर यादवले बताउनुभयो।

पहुँचयुक्त शौचालय किशोरीहरुले प्याड फेर्नका लागि पनि प्रयोग गरिन्छ । त्यसैले शौचालय भित्रबाटै प्याड खसाल्ने ठाउँ पनि बनाईएको छ । त्यहाँबाट खसालेको प्याड शौचालयसँगै जोडिएको बाहिरपट्टिको इन्सिनेरेटरमा जम्मा हुन्छ ।
‘महिनावारी भएको समयमा कतिपय किशोरीहरुलाई रिंगटा चल्ने, ढल्ने, बेहोस हुने जस्ता समस्या पनि हुन सक्छ । त्यत्तिबेला आपतकालीन सहयोग चाहिने हुन सक्छ ।’ परियोजना प्रबन्धक यादव भन्नुहुन्छ ‘त्यस्तो बेला कसलाई कसरी भन्ने त ? कुनै उपाय हुँदैन । कम्तीमा घण्टीको व्यवस्था भयो भने स्वीच दबाउन सक्छन् र समयमै सहयोग पाउन सक्छन् ।’
इन्सिनेरेटरमा जम्मा भएको प्याडलाई जलाइन्छ । आगो लगाएर ढोका बन्द गरेपछि धुँवा जत्ति पाइपबाट उडेर आकाश तिर जाने र खरानी जत्ति भुँईमा जम्मा हुने विद्यालयका शिक्षक समर बहादुर मल्लले बताउनुभयो ।

खरानीलाई विद्यालयको फूलबारीमा मलको रुपमा प्रयोग गरिन्छ। शौचालय र हात धुने स्थानको अघिल्तिर र कक्षाकोठाको अगाडिको खुला भागमा पनि फूलबारी बनाईएको छ ।
शौचालयको ढोका दुवैतिर खोल्न मिल्ने
पहुँचयुक्त शौचालयको अर्को विशेषता हो, दुवैतिर खोल्न मिल्ने ढोका । ह्वील चेयर प्रयोगकर्ताले शौचालयको ढोका खोल्न आफूतिरै तानिरहनु पर्दैन । मात्र धकेले पुग्छ । यस्तै शौचालय भित्रबाट बाहिर निस्किँदा पनि ढोकालाई धकेले पछि बाहिरपट्टि खुल्छ ।

ह्वील चेयर प्रयोगकर्ताले ढोकालाई तानेर खोल्नुपर्दा पछाडि पट्टि सर्नुपर्ने र यस्तो अवस्थामा ह्वील चेयर पछाडि पट्टि गुडेर दुर्घटना समेत हुन सक्ने भएकाले दुवैतिर खुल्ने ढोका बनाईएको वाटर एड, वास गेन्स परियोजनाका प्राविधिक अधिकृत रबिन्द्र गोदारले बताउनुभयो ।
पहुँचयुक्त शौचालय भनेपछि जुनसुकै शारीरिक समस्या भएकाका लागि पहुँच पुग्ने हुनुपर्ने र कुनै पनि अवरोधक हुन नहुने उहाँले बताउनुभयो । ‘कमोड, रेलिङ, पहुँचयुक्त बाटो हुँदैमा मात्र पहुँचयुक्त शौचालय नहुने र व्यवहारिक हिसाबले पनि सहज तरिकाले प्रयोग गर्न सक्ने हुनुपर्ने उहाँको भनाइ छ ।
वास गेन्स परियोजना अन्तर्गत जनज्योति आधारभूत विद्यालयमा पहुँचयुक्त शौचालय १ वटा, सेप्टिक ट्यांकी एक वटा, सोकपिट १ वटा, ८ धाराको हात धुने स्टेसन एक वटा, ४ वटा धाराको खानेपानी स्टेसन एउटा, फोहोर जलाउने पिट एक वटा, ट्युबेल प्लेटफर्म एक वटा र इन्सिनेरेटेर २ वटा निर्माण गरिएको हो।

यस्तै एउटा शौचालय एउटा हात धुने स्टेसनको मर्मत सम्भार गरिएको वास गेन्स परियोजनाका प्रोजेक्ट को-अर्डिनेटर जगदिश प्रसाद चौधरीले बताउनुभयो। उहाँका अनुसार उक्त संरचना निर्माण तथा मर्मत सम्भारका लागि परियोजनाले १८ लाख ४९ हजार ९ सय ४३ रुपैयाँ लगानी गरेको छ।
युके एड र वाटर एडको सहयोगमा बेस बर्दिया, राष्ट्रिय अपाङ्ग महासंघ र नेपाल प्रजनन स्याहार केन्द्र र स्थानीय सरकार सँगको साझेदारी र विद्यालयको समन्वयमा WASH for Gender and Adolescent Inclusive School in Nepal (WASH GAINS) परियोजना सञ्चालन भइरहेको छ ।
बर्दिया जिल्लाको ५ वटा स्थानीय तहका ३३ वटा विद्यालयमा काम गरिरहेको वास गेन्स परियोजनाले विद्यालयका किशोर किशोरीहरुको क्षमता विकास गरी विद्यालयमा पहुँचयुक्त वास सुविधा निर्माण र नगरपालिकाको नीति, रणनीति र कार्यविधि निर्माणमा सहयोग गरिरहेको प्रोजेक्ट कोअर्डिनेटर चौधरीले बताउनुभयो। उहाँले यसबाट विद्यालयमा किशोर किशोरीहरुको निरन्तरता र नियमिततामा बृद्धि हुने विश्वास व्यक्त गर्नुभयो ।
परियोजना गुलरिया नगरपालिकाको १० वटै माध्यमिक तहका सामुदायिक विद्यालय सहित बर्दियाको ठकुरबाबा, बारबर्दिया, मधुवन र गेरुवा गाउँपालिकाका गरी ३३ वटा विद्यालयमा सञ्चालन भईरहेको छ । ११ वर्षदेखि २० बर्ष उमेर समुहका १३ हजार ५ सय जना किशोर किशोरीहरुलाई लक्षित गरी सन् २०२३ अप्रिलदेखि सुरु भएको गेन्स परियोजना २०२६ मार्च सम्म सञ्चालन हुनेछ ।


441 पटक हेरिएको 

