काठमाडौ : प्रधानमन्त्री केपी शर्मा ओलीले धरानबासीलाई खानेपानी उपलब्ध गराउने प्रक्रिया अघि बढेको बताउनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सोमबार सुनसरीको धरान उपमहानरपालिकाका प्रमुख हर्कराज राई सहितको प्रतिनिधिमण्डल सँगको भेटमा प्रधानमन्त्री ओलीले धरानबासीलाई खानेपानी उपलब्ध गराउने प्रक्रिया अघि बढेको भन्दै आश्वस्त पार्नु भएको हो ।
मेयर साम्पाङले दोस्रो प्रयासमा प्रधानमन्त्री ओलीलाई भेट्न पाउनु भएको हो । यस अघि रित्तो गाग्री लिएर सिंहदरबार छिर्ने बेला प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न नपाएपछि मेयर साम्पाङ मुर्मुरिनु भएको थियो । सोमबारको भेटमा प्रधानमन्त्री ओलीले भन्नुभयो “धरानबासीले खानेपानी पिउन पाउनुपर्छ । यो प्रक्रिया आजैबाट अघि बढ्यो । यसका लागि सङ्घीय सरकारले बजेटको प्रबन्ध लगायत अन्य विषयमा आवश्यक सहजीकरण गर्नेछ । यो सन्देश धरानबासीलाई सुनाइदिनुहोला ।”
खानेपानी आयोजनाका लागि विस्तृत परियोजना प्रतिवेदन यसअघि सङ्घीय सरकारले तयार गरिसकेको छ । प्रधानमन्त्री ओलीले धरानको फोहोर व्यवस्थापनका लागि परम्परागत नभई आधुनिक प्रविधियुक्त ल्याण्डफिल्डसाइट बनाउनुपर्नेमा जोड दिनुभएको छ ।
मेयर साम्पाङले सोमबार नै खानेपानीमन्त्री प्रदीप यादवलाई पनि भेटेर धरानको खानेपानी समस्याको स्थायी समाधान गरिदिन माग गर्नु भएको छ । उहाँले आगामी बजेटमा धरानको खानेपानी समस्याको स्थायी समाधानको योजना माग गर्नुभयो ।
भेटमा खानेपानीमन्त्री प्रदीप यादवले धरानका नागरिकको वर्षैंदेखिको खानेपानीको समस्या समाधानका लागि पहल भइरहेको बताउनुभयो । साम्पाङ नेतृत्वको प्रतिनिधिमण्डलले धरानको खानेपानी समस्याको दीर्घकालिन समाधानका लागि बजेट विनियोजन गर्न आग्रह सहितको माग पत्र समेत पेस गरेको थियो ।
मागपत्र बुझ्दै मन्त्री यादवले धरानका नागरिकको खानेपानीको समस्याका विषयमा सिङ्गो मन्त्रालय जानकार रहेको र त्यहाँको खानेपानीको समस्या दातृ निकायसँगको सहयोगमा समाधान गरिने आश्वासन दिनुभयो।