करिब ३७ करोड लागतमा फोहोर व्यवस्थापन गरिँदै, यस्तो छ योजना

  वास खबर सम्बाददाता  338 पटक हेरिएको

बागलुङ : बागलुङ नगरपालिकाले नगर क्षेत्रभित्रको फोहोरलाई स्रोत बर्गीकरण गरी सङ्कलन गर्ने र ल्यान्डफिल्डसाइटमा प्रशोधन गरेर बिक्री गर्ने योजना अनुरुप कार्य गर्न थालेको छ । नगरपालिकाले नगर क्षेत्रबाट सङ्कलन हुने फोहोरलाई पुनस् प्रयोग र अन्य फोहरलाई प्रशोधन गर्ने गरी नमूना ल्यान्डफिल्डसाइट निर्माण गरिसकेको छ ।

फोहोर व्यवस्थापनको समस्या दीर्घकालीन रूपमा समाधान गर्न नगरपालिकाले फोहोर प्रशोधनको जिम्मा समानता अभियान नेपाललाई दिएको छ। फोहोर व्यवस्थापनमा चुनौती व्यहोरिरहेको नगरले समानता अभियान नेपालसँग फोहर व्यवस्थापनको सम्झौता गरेको नगरपालिका प्रमुख वसन्तकुमार श्रेष्ठले बताउनुभयो। उहाँका अनुसार स्रोतबाटै फोहोर सङ्कलनका लागि बजारभरि १५ हजार डस्विन वितरण गरिएको छ ।

समानता अभियानका चन्द्रकान्त पौडेल र बागलुङ नगरपालिका प्रमुख श्रेष्ठले ३६ करोड ७७ लाख लागतमा नमूना फोहर प्रशोधन केन्द्र निर्माणका लागि सम्झौता गरेको नगर कार्यालयले जनाएको छ ।

नगरपालिकाले पाँच प्रतिशत र अभियानले ९५ प्रतिशत आर्थिक भार व्यहोर्दै फोहर व्यवस्थापन गर्न रु ३६ करोड ७७ लाख खर्च हुनेछ भने प्रशोधनबाट निकालिएको फोहरबाट अत्यावश्यक तथा घरायसी सामग्री बनाउन सकिने श्रेष्ठको भनाइ छ । हाल फोहोर फालिएको बागलुङ–१ स्थित मालढुङ्गामा व्यवस्थापन गरिने बताउँदै उहाँले प्रशोधन गरिएको फोहोर व्यवस्थापन केन्द्रलाई अध्ययन अवलोकन तथा पर्यटकीयस्थलका रूपमा विकास गरिने जानकारी दिनुभयो।

केन्द्रका लागि तत्काल चाहिने केही उपकरण र सवारीसाधन अभियानबाट सङ्कलन गरिने नगरप्रमुख श्रेष्ठले जानकारी दिनुभयो। फोहोर व्यवस्थापन गर्दा डम्पिङसाइट दुर्गन्धित नहुने, पुनः उपयोग गरेर फोहरबाटै पैसा कमाउन सकिने लगायत लक्ष्य राखिएको उहाँले सुनाउनुभयो।

“फोहर व्यवस्थापनको चुनौती बढिरहेको सन्दर्भमा नगरपालिकाले साझेदार निकायसँग मिलेर काम गर्न थालेको छ, नगरपालिको रु दुई करोड लागतमा फोहर प्रशोधन केन्द्र निर्माण गरिसकेको छ, फोहर प्रशोधनको काम यथाशीघ्र सुरु हुन्छ”, श्रेष्ठले भन्नुभयो “फोहोर प्रशोधन केन्द्र अब दुर्गन्ध रहित बनाएर पर्यटकीय केन्द्रका रूपमा विकास गर्नेछौँ ।”

नगरपालिकाले यस अघि तीन प्रकारका बाल्टिन दिएर फोहर सङ्कलनको काम थालिसकेको छ । ती फोहर कसरी सङ्कलन गर्ने भन्ने बारेमा बालबालिकाको इको क्लब गठन गर्ने, अभिभावकलाई सचेतना बढाउने काम पनि गरिने नगरप्रमुख श्रेष्ठले बताउनुभयो। आगामी दिनमा प्रदूषण रहित नगर बनाउने, बायोग्यास प्लान्ट निर्माण र फोहर व्यवस्थापन नजिकै स्विमिङ पुल बनाउने योजना रहेको उहाँले बताउनुभयो ।

उक्त स्थानमा तीन खण्ड बनाएर कुहिने, नकुहिने, सिसाजन्य लगायत खतरा फोहरको व्यवस्थापन गर्न केही संरचना समेत नगरपालिकाले बनाइसकेको छ । वि.सं. २०५४ देखि नगरपालिकाले एक दशकसम्म कालीगण्डकी किनारमा फोहर फालेको खबर नागरिक दैनिकले प्रकाशन गरेको छ। कुहिने र नकुहिने फोहर एकै ठाउँमा फाल्दा यहाँको १० रोपनी जग्गा भरिएको थियो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार