
राजविराज : मधेश प्रदेशका स्थानीय तहहरूले खानेपानी तथा सरसफाइ (WASH) प्रणाली सुदृढीकरण र दीगो व्यवस्थापनका लागि कार्ययोजना बनाएका छन्। सप्तरीको राजविराजमा सम्पन्न दुई दिने कार्यशालामा सहभागी स्थानीय प्रतिनिधिहरूले आ–आफ्ना तहमा लागू गर्न मिल्ने व्यावहारिक योजनाहरू तयार गरेका हुन्।
वैशाख १५ र १६ गते सम्पन्न कार्यशाला सबल नेपाल र महुली विकास समुदाय केन्द्रको संयुक्त आयोजनामा वेल्थहंगरहिल्फेको प्राविधिक तथा आर्थिक सहयोगमा सम्पन्न भएको हो। कार्यशालामा सिरहा र सप्तरी जिल्लाका १० वटा स्थानीय तहका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा नगरप्रमुख, उपप्रमुख, वडा अध्यक्ष, वास र सूचना प्रविधि फोकल पर्सनहरू, उपभोक्ता समितिका प्रतिनिधिहरू, NaRMIN, MuAN तथा खानेपानी डिभिजन कार्यालयका प्रतिनिधिहरूले सक्रिय उपस्थिति जनाएका थिए।
कार्यशालाको उद्देश्य स्थानीय सरकारलाई वास प्रणालीमा सुशासन, पारदर्शिता, जवाफदेहिता, सार्वजनिक वित्तीय व्यवस्थापन तथा योजना र बजेट प्रक्रियासँगको समन्वयमा आवश्यक ज्ञान र सीप प्रदान गर्नु थियो।

कार्यक्रममा वास प्रणालीको वर्तमान अवस्था, नीतिगत तथा कानुनी संरचना, लैङ्गिक समावेशिता, जलवायु सहनशीलता, र दीगो सेवा सुनिश्चितता सम्बन्धी प्रस्तुति, समूह कार्य र छलफलहरू गरिएका थिए। सहभागीहरूले सिकाइको आधारमा आफ्ना स्थानीय तहमा लागु गर्न सकिने योजनाहरू तयार पारेका थिए।
वेल्थहंगरहिल्फेको प्राविधिक तथा आर्थिक सहयोगमा सबल नेपालले सन् २०१९ देखि सिरहाका विष्णुपुर गाउँपालिका, सिरहा नगरपालिका, कल्याणपुर, कर्जन्हा र गोलबजार नगरपालिकामा, र महुली विकास समुदाय केन्द्रले सप्तरीका विष्णुपुर गाउँपालिका, राजगढ गाउँपालिका, अग्निसाइर कृष्णासवरण गाउँपालिका, डाक्नेश्वरी नगरपालिका र सप्तकोशी नगरपालिकामा वास प्रणाली सुदृढीकरणका कार्यक्रम सञ्चालन गर्दै आएका छन्।
यी कार्यक्रमहरूले स्थानीय तहमा दीर्घकालीन सेवा स्थायीत्व, समावेशी पहुँच र प्रणालीगत सुधारमा उल्लेखनीय योगदान पुर्याएका छन्।



832 पटक हेरिएको 

