
किर्तिपुर, काठमाडौं : प्लास्टिकजन्य फोहोर व्यवस्थापनमा नयाँ आशा बोकेको एक नवीन उद्यम ‘प्लास्टिक केयर’ किर्तिपुर नगरपालिकामा सञ्चालनमा आएको छ। महिला समूहद्वारा स्थापना गरिएको यो उद्यम प्लास्टिक फोहोरलाई रिसाइकल गरी उपयोगी सामग्रीमा रूपान्तरण गर्न सक्रिय छ।
‘प्लास्टिक केयर’ उद्यमको सुरुवात ‘Centre for Integrated Urban Development’ (CIUD)’ द्वारा सञ्चालित PLEASE परियोजना अन्तर्गत किर्तिपुर नगरपालिकासँगको सहकार्यमा सञ्चालित सात दिने व्यवसाय विकास तालिमबाट भएको हो। तालिममा सहभागी महिला समूहहरूले प्रस्तुत गरेको व्यवसायिक योजनामध्ये ‘ग्रुप बी’ को योजना छानिएपछि उद्यमको रुपमा विधिवत दर्ता गरिएको हो।
तालिमपछि महिलाहरूले रिसाइकल मेशिन सञ्चालनको सीप सिकेका छन्। अहिले उनीहरू प्लास्टिकबाट कुर्सी, मेच, टेबल, फूलदानी, कोस्टर, की–रिङ्गजस्ता फर्निचर तथा सामग्री उत्पादन गरिरहेका छन्। बजारबाट अर्डर आउन थालेसँगै महिलाहरूको उत्साह बढ्दो छ।

स्थानीय घर–घरबाट संकलन गरिने प्रयोग भइसकेको प्लास्टिकलाई सफा, धुने, टुक्र्याउने र पुनः प्रयोग गर्ने प्रक्रिया अपनाई उनीहरूले वातावरणमैत्री उत्पादन तयार पारिरहेका छन्। यसले न केवल प्लास्टिक फोहोर घटाउने काम गरिरहेको छ, तर महिलाहरूको आर्थिक सशक्तिकरणमा पनि महत्वपूर्ण टेवा पु¥याइरहेको छ।
‘प्लास्टिक केयर’ किर्तिपुरमा समुदायको सक्रिय सहभागिता, महिला नेतृत्व र वातावरणप्रतिको जिम्मेवारीको उत्कृष्ट नमूना बनेको छ। यस्ता स्थानीय र नविन प्रयासहरू दिगो विकासको मूल आधार हुन्। प्लास्टिक केयर जस्ता उद्यमहरूले फोहोरलाई व्यवस्थापन र रोजगारी सिर्जना मात्र होइन बरु उदाहरणीय नेतृत्व मार्फत सामाजिक परिवर्तन ल्याउन पनि सफल भएका छन्।

यस्ता प्रयासहरूले प्लास्टिकजन्य फोहोर घटाउने मात्र नभई महिलाहरूको आर्थिक सशक्तिकरणमा समेत महत्वपूर्ण भूमिका खेलेको छ। प्लास्टिक केयर एउटा ज्वलन्त उदाहरण हो कि जब स्थानिय समुदायलाई सही सीप, प्रोत्साहन र अवसर प्रदान गरिन्छ भने, उनीहरूले दिगो वातावरणीय समाधान दिन सक्छन्। हामी सबैले यस्ता स्थानीय उद्यमलाई सहयोग र प्रवर्द्धन गर्नु अत्यन्त जरुरी छ।
प्लास्टिक प्रदूषण विरुद्धको यो सार्थक कदमलाई तपाईं पनि साथ दिन चाहनुहुन्छ? आउनुहोस्, यस्तो पहललाई समर्थन गरौं, सहयोग गरौं र भविष्यका लागि स्वच्छ र हरियाली वातावरण निर्माणमा हातेमालो गरौं।


705 पटक हेरिएको 

