ज्वालामूखीको ३ नम्बर वडा सफा र स्वच्छ वडा घोषणा

पूर्ण खोप सुनिश्चितता तथा घरमा सुत्केरी शून्य गाउँपालिका समेत घोषणा

  वास खबर सम्बाददाता  716 पटक हेरिएको

धादिङ : धादिङको ज्वालामूखी गाउँपालिका – वडा नं ३ लाई गाउँपालिकाको तेस्रो र जिल्लाको चौथो सफा र स्वच्छ वडा घोषणा गरिएको छ । पूर्ण खोप सुनिश्चितता र दिगोपना तथा घरमा सुत्केरी शून्य गाउँपालिका घोषणा गरी ३ वटा प्रमुख कार्यक्रम एकै दिन सम्पन्न भएको हो ।

वडा नं. ३ का वडा अध्यक्ष उमेश श्रेष्ठको अध्यक्षतामा नेपाल सरकार कृषि तथा पशुपन्छी मन्त्रालयका मन्त्री रामनाथ अधिकारीको प्रमुख अतिथ्यतामा सम्पन्न भएको घोषणा सभामा ज्वालामुखी गाउँपालिका अध्यक्ष यामनाथ दनै, उपाध्यक्ष धर्म वहादुर अर्याल, ज्वालामूखी गाउँपालिकाका निवर्तमान अध्यक्ष विनोदराज तिमल्सिना लगायत अन्य विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

“मिसन दुइ हजार वयासी, सफा स्वच्छ क्षेत्र ज्वालामूखी
सफा स्वच्छ गाउँको पहिचान भन्ने मुख्य नारा सहित”

मार्गदर्शन २०७३ अनुसारको पहिलो चरण वडा नं ३ को १३ वटा टोलका सवै घरधुरीले सफा र स्वच्छ घरको ५ वटा व्यवहार अन्र्तगतका १५ वटा सुचक सवै घरधुरीले शत्प्रतिशत पूरा गरी घोषणा गरिएको हो ।

यसका ५ वटा व्यवहारहरुमा १) चर्पीको समुचित प्रयोग २) व्यक्तिगत सरसफाइ ३) सुरक्षित खानेपानी ४) सुरक्षित र स्वच्छ खाना ५)घर तथा आगनको सरसफाइ रहेका छन् । यी सवै व्यवहार पुरा भए नभएको एकिन टोल विकास संस्था ,वडा स्तरीय खानेपानी ,सरसफाइ तथा स्वच्छता समन्वय समितिले ४ पटक सम्म घरधुरी अनुगमन गरी सिफारिस गरेपछि अन्तिम प्रमाणिकरणको लागि गाउँपालिकाले अन्तिम मूल्याँकन गरी पुरा भएको पाइए पछि घोषणाको चरण सम्म पुगिएको हो ।


हाल सम्म ज्वालामूखी गाउँपालिकामा ३ वटा वडा र विभिन्न वडाका टोलहरु गरी ५५ प्रतिशत घरधुरी सफा तथा स्वच्छ घोषणा भएको र २०१४ घरधुरी घोषणाको तयारीमा रहेको ज्वालामूखी ग्रामीण खानेपानी तथा सरसफाइ व्यवस्थापन बोर्डका प्रबन्धक सबिना रेग्मीले जानकारी गराउनुभयो।

खानेपानीको उचित व्यवस्थापन संगै गाउँपालिका वासीलाइ सुरक्षित खानेपानी उपलव्धताको लागि घरेलु स्तरमा फिल्टर विधिवाट पानी शुद्दिकरणको व्यवस्थापनको लागि एक घर एक फिल्टर र डस्विन उपलव्ध गरिएको छ । उक्त सामाग्री सहयोगमा समुदाय , गाउँपालिका, खानेपानी बोर्ड र अन्य संघ सस्थाहरुको सहलगानी,समन्वय,सहकार्य,साझेदारी तथा आर्थिक प्राविधिक सहयोगमा उपलव्ध गराइएको हो ।


गाउँपालिकामा विकास साझेदारी संघ संस्थाहरुमा वाइन टु वाटर नेपालको सहयोगमा मेम्व्रन फिल्टर सहयोग लगायत समुदायमा खानेपानी र सरसफाइ सम्वन्धी विभिन्न गतिविधि संचालनमा सहयोग गरिएको प्रबन्धक रेग्मीले जानकारी गराउनुभयो ।

शान्ति नेपाल, सामुदायिक रुपान्तरण समाज नेपाल, फोकस नेपाल र अक्सफाम नेपालले यो अभियानको शुरुवाती चरण देखि नेतृत्वदायी भूमिकामा रही बोर्ड र गाउँपालिकालाई सहयोग गरिरहेको छ ।

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार