कमलबजार नगरपालिका वडा नं. २ सफा तथा स्वच्छ क्षेत्र घोषणा

  वास खबर सम्बाददाता  405 पटक हेरिएको

अछाम : राष्ट्रिय सरसफाइ सप्ताहको सन्दर्भमा अछाम जिल्लाको कमलबजार नगरपालिका वडा नं. २ लाई “सफा तथा स्वच्छ क्षेत्र (पूर्ण सरसफाइ उन्मुख क्षेत्र)”को रूपमा घोषणा गरिएको छ। संविधानसभा सदस्य भरत साँउदको प्रमुख आतिथ्यतामा वडा नं. २ लाई औपचारिक रूपमा सफा तथा स्वच्छ क्षेत्र घोषणा गरिएको हो।

कार्यक्रमको सभापतित्व वडाध्यक्ष एवं वडास्तरीय खानेपानी तथा सरसफाइ समन्वय समिति संयोजक दिर्घा टमट्टाले गर्नु भएको थियो। कार्यक्रमको प्रारम्भमा वडाध्यक्षले वडाभित्र सञ्चालनमा रहेका खानेपानी, सरसफाइ तथा स्वच्छता सम्बन्धी योजनाहरूको प्रगतिको विवरण प्रस्तुत गर्नुभएको थियो।

पूर्ण सरसफाइका आधारभूत सूचकहरू पालिकाद्वारा अनुगमन गरी प्रमाणीकरण भइसकेको जानकारी सभा माझ प्रस्तुत गरिएको थियो, जसलाई सो अवसरमा उपस्थित सभाले अनुमोदन समेत गरेको थियो।

घोषणाको सफल कार्यान्वयनमा हेल्भेटास नेपालद्वारा सञ्चालित एकीकृत जलस्रोत व्यवस्थापन कार्यक्रम र नगरपालिकाको आर्थिक सहयोग रहेको थियो भने कार्यक्रमको समग्र सहजीकरण ग्रामिण विकास केन्द्र (रूडेक नेपाल), अछामले बहन गरेको थियो। कार्यक्रमको समापनमा सरसफाइको दिगोपनाका लागि सामूहिक प्रतिबद्धता जनाउँदै हस्ताक्षर समेत गरिएको हेल्भेटास नेपालका क्षमता विकास विज्ञ नीलकण्ठ पाण्डेले जानकारी दिनुभयो।

नगरपालिकाका उप–प्रमुख शारदा कुमारी बिष्ट कुँवरको विशिष्ट आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, वडामा रहेका दुई विद्यालयका शिक्षक तथा विद्यार्थीहरू, स्थानीय सञ्चारका पत्रकार, स्थानीय साझेदार संस्था ग्रामिण विकास केन्द्र (रूडेक नेपाल) का निवर्तमान अध्यक्ष टंकप्रसाद ढुङ्गाना, स्थानीय बासिन्दा लगायतको उल्लेख्य उपस्थिति रहेको थियो।

कमलबजार नगरपालिका वडा नं. २ मा जम्मा २८१ घरधुरीहरू छन्, जसले हेल्भेटास नेपाल र नगरपालिकाको संयुक्त सहयोगमा सञ्चालित सातवटा खानेपानी तथा सरसफाइ योजनाबाट प्रत्यक्ष लाभ लिएका छन्।

‘एक घर, एक धारा’ अभियान अनुसार हरेक घरमा धारा जडान गरिनुका साथै, फोहोर फाल्ने खाल्डो, भाँडा सुकाउने चाङ, टुटी सहितको ड्रम र पानी शुद्धिकरणका लागि क्यान्डिल फिल्टरको व्यवस्था गरिएको छ। साथै, सार्वजनिक फोहोर व्यवस्थापनका लागि चार स्थानमा खाल्डाहरू निर्माण गरिएको छ।

वडामा दुई वटा विद्यालय, एक स्वास्थ्य इकाइ, वडाकार्यालय, नगरपालिका अस्थायी भवन र इलाका प्रहरी कार्यालय समेत रहेका छन्। कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा फिल्ड संयोजक टंक बोहरा, सामुदायिक सहजकर्ता जानकी तिमिल्सिना तथा तपेन्द्र विष्टको पनि महत्वपूर्ण भूमिका रहेको थियो।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार