
कपिलवस्तु : कपिलवस्तुको विजयनगर गाउँपालिकाले सरसफाइ अभियानलाई प्रभावकारी बनाउन ठोस कदम चालेको छ। गाउँपालिकाले सरसफाइसम्बन्धी नियम उल्लङ्घन गर्ने १९७ घरधुरीलाई कूल ४ लाख ९६ हजार रुपैयाँ बराबरको जरिवाना तोकेको छ।
गाउँपालिकाले सुरु गरेको ‘पूर्ण सरसफाइ अभियान’ अन्तर्गत शौचालय प्रयोग नगर्ने, खुला स्थान र बाटोमा फोहोर फाल्ने, नाली थुन्ने, चौपाया सडकमा छाड्ने र सार्वजनिक स्थलमा फोहोर गर्ने व्यक्तिहरूलाई निगरानी गरी कारबाही गरिएको हो।
“अघिल्ला वर्षहरूमा चेतावनी दिएर मात्र सीमित थियौँ, तर यो वर्ष व्यवहारमा सरसफाइ उतार्न जरिवाना आवश्यक देखियो,” गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले बताउनुभयो।
गाउँपालिकाले सरसफाइप्रति नागरिकको जिम्मेवारी बढाउन ‘सचेत नागरिक परिचयपत्र’ वितरण गर्दै सात बुँदे प्रतिबद्धता गराएको छ। ती प्रतिबद्धतामा घरअगाडि सफा राख्ने, नाली खुला राख्ने, शौचालय अनिवार्य प्रयोग गर्ने, पशु चौपाया नियन्त्रणमा राख्ने, फोहोरको उचित व्यवस्थापन गर्ने, सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने र सामाजिक सद्भाव कायम राख्ने विषय समावेश छन्।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजालका अनुसार सरसफाइ अभियानले प्रत्येक घरधुरीमा जिम्मेवारी बोध गराउने लक्ष्य राखेको छ।
खानेपानी तथा सरसफाइ शाखा प्रमुख अर्जुन बेल्बासेले प्रहरी, जनप्रतिनिधि र समाजसेवी सम्मिलित टोलीले सातै वडामा अनुगमन गरी नियम उल्लङ्घनकर्तालाई २ हजारदेखि ५ हजार रुपैयाँसम्मको जरिवाना गरिरहेको जानकारी दिनुभयो। कार्यपालिका बैठकको निर्णय अनुसार असार मसान्तसम्म जरिवाना तिर्नेलाई ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।


290 पटक हेरिएको 

