नगरव्यापी समावेशी सरसफाइ योजना कार्यान्वयनका लागि अध्यक्ष ढुंगानाले देखाउनु भएको दृढता

  वास खबर सम्बाददाता  339 पटक हेरिएको

काठमाडौः नगरव्यापी समावेशी सरसफाइ सेवा प्रणालीहरुको विस्तारका लागि सातवटै प्रदेशका सात नगरपालिकाहरूसँग समझदारीपत्रमा हस्ताक्षर हुँदै गर्दा नेपाल नगरपालिका संघका अध्यक्ष भीमप्रसाद ढुंगानाको मुहार उत्साहले भरिएको थियो। उहाँको आवाजमा आत्मविश्वास थियो । आँखामा गहिरो संकल्प र उहाँले व्यक्त गर्नुभएका शब्दहरूमा स्थानीय तह प्रतिको दरिलो प्रतिबद्धता थियो।

उहाँले भन्नुभयो, ‘नेपाल नगरपालिका संघले नेतृत्व गर्ने यो अवसर केवल कार्यक्रम कार्यान्वयनको थालनी होइन, परिवर्तनको आरम्भ हो।’

कार्यक्रममा उपस्थित सबैको मन छोएको भनेको उहाँको त्यो गहकिलो भनाइ थियो ‘इच्छाशक्ति भनेको राजनीतिक नेतृत्वमै हुनुपर्छ। नीतिगत रूपमा निर्णय गरेपछि मात्र काम गर्ने वातावरण बन्छ।’

यही वाक्यमा उहाँको सोच, दर्शन र कार्य-दिशाको स्पष्ट झल्को पाइन्थ्यो। समावेशी, सुरक्षित र दिगो सरसफाइ क्षेत्रको चुनौती प्रति उहाँको दृष्टिकोण केवल प्राविधिक वा प्रशासनिक मात्र थिएन, त्यो एक राजनीतिक प्रतिबद्धता र सामाजिक उत्तरदायित्वको भावनाले भरिएको थियो।

“मलमूत्र व्यवस्थापनको काम नगरी नहुने काम हो र यो जिम्मेवारी हामी सबैको हो” भन्ने उहाँको विचारले सरसफाइलाई केवल सफा-सुग्घर नगर बनाउने कार्य नभई स्वास्थ्य, गरिमा र मानवअधिकारसँग जोडिएको विषय हो भन्ने सन्देश दिएको थियो।

अध्यक्ष ढुंगानाले कार्यक्रमको नेतृत्व गर्न पाउनु आफैंमा नेपाल नगरपालिका संघका लागि ठूलो अवसर भएको बताउँदै भन्नुभयो “हामीले साझेदारहरूसँग मिलेर सात नगरपालिका छनोट गरेका छौं। यी नगरहरू सिकाई केन्द्र बनून्, अन्य नगरपालिकाले पनि हेर्ने र सिक्ने उदाहरणीय कार्य होस् भन्ने हाम्रो विश्वास छ।”

उहाँको मन्तव्यमा सरसफाइ क्षेत्रमा स्थानीय सरकारको भूमिकाको गहिरो अभिव्यक्ति झल्किन्थ्यो। उहाँले स्पष्ट रूपमा भन्नुभयो, “समझदारी गर्नु ठूलो कुरा होइन, त्यसको प्रभाव देखिनु ठूलो कुरा हो।”

कार्यक्रमको सफल कार्यान्वयनका लागि उहाँले दातृ निकाय र अन्य साझेदारहरूलाई नियमित रुपमा फिल्ड भ्रमण गरी प्रगतिका समीक्षा, सुझाव र परामर्श दिनुपर्ने आवश्यकता पनि औँल्याउनुभयो। साथै, नगरहरूबीच साझा सिकाइ र अनुभव साटासाट गर्ने वातावरण निर्माण गर्नु अपरिहार्य रहेको धारणा पनि उहाँले राख्नुभयो।

अध्यक्ष ढुंगानाको यो अभिव्यक्ति नीतिगत सोच, व्यावहारिक दृष्टिकोण र दिगो परिणाम प्रति समर्पित नेतृत्वको प्रमाण हो। उहाँले चाहनुभएको “सिकाइ केन्द्र नगरपालिकाहरू” निर्माण गर्ने सपना तब मात्र सफल हुनेछ, जब सबै सरोकारवाला निकायले साझा जिम्मेवारीका साथ एकै दिशातर्फ अगाडि बढ्नेछन्।

गेटस् फाउण्डेसनको वित्तिय व्यवस्थापन र यु.एन.ह्याबिटाटको कार्यकारी भूमिकामा नेपाल नगरपालिका संघ, वाटर एड नेपाल र सम्बन्धित नगरपालिका बीच समझदारी पत्रमा हस्ताक्षर भए सँगै कैलालीको गोदावरी नगरपालिका, सल्यानको शारदा नगरपालिका, दाङको घोराही उपमहानगरपालिका, गोरखाको गोरखा नगरपालिका, ललितपुरको ललितपुर महानगरपालिका, सिरहाको लहान नगरपालिका र झापाको मेचीनगर नगरपालिकामा नगरव्यापी समावेशी सरसफाइ सेवा प्रणालीहरुको विस्तार कार्यक्रम (Scalling of Citywide Inclusive Sanitation Service System) सुरु भएको छ ।

२०२६ डिसेम्बरसम्म सञ्चालन हुने कार्यक्रममा वाटर एड नेपाल, नेपाल नगरपालिका संघ, खानेपानी मन्त्रालय/खानेपानी तथा ढल व्यवस्थापन विभाग र यु.एन.ह्याबिटाट सँगको समन्वयमा पालिकाहरुलाई निम्न प्राविधिक सहयोग गर्नेछ ।

√ नगरस्तरीय दिशाजन्य लेदो व्यवस्थापन सम्बन्धी कुनै एक (ऐन वा नियमावली वा कार्यविधि वा योजना वा नीति वा कार्यनीति) बनाउने

√ दिसाजन्य लेदो व्यवस्थापन सम्बन्धी तथ्याङ्क संकलन गरी एन वासमा अद्यावधिक गर्ने ।

√ सरसफाइ सम्बन्धी कार्यसम्पादनका सूचक तथा मानकहरुको तथ्याङ्क वा अवस्था संकलन गरी एन वासमा अद्यावधिक गर्ने ।

√ पालिकामा दिसाजन्य लेदो प्रशोधन केन्द्रहरु भएको अवस्थामा तीन केन्द्रबाट प्रशोधन भई उत्सर्जित फोहोरपानीको तथ्याङक संकलन गरी एनवासमा अद्यावधिक गर्ने ।

√ पालिकामा दिसाजन्य लेदो प्रशोधन केन्द्रहरु भएको अवस्थामा ती केन्द्रहरुलाई व्यवसायिक योजना तयार गर्न वा अद्यावधिक गर्न सहयोग गर्ने ।

√ पालिकाहरुलाई नगरव्यापी समावेशी सरसफाइ तथा दिसाजन्य लेदो व्यवस्थापन सम्बन्धी विभिन्न अभिमुखीकरण तालिम तथा अन्य क्षमता विकासका कार्यक्रमहरु सञ्चालन गर्ने ।

√ नेपाल नगरपालिका संघ ले सम्पूर्ण कार्यक्रमको अनुगमन, मूल्याङ्कन गरी आवश्यक सुझावहरु नगरपालिकालाई प्रदान गर्नेछ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार