
ललितपुर : ललितपुरको धोबिघाटमा निर्माण भएको फोहोरपानी प्रशोधन केन्द्रको परिक्षण शुरू भएको छ। आयोजना कार्यान्वयन निर्देशनालय अन्तर्गत निर्माण सम्पन्न भएको प्रतिदिन ३ करोड ७० लाख लिटर फोहोरपानी प्रशोधन क्षमताको धोविघाट फोहोरपानी प्रशोधन केन्द्रको परिक्षण गरिएको हो ।
गत वर्ष निर्माण सम्पन्न भई प्रारम्भिक परिक्षण शुरू गर्ने तयारी भइरहेकै समयमा आएको बाढीबाट केन्द्रका केही भौतिक संरचना सहित इलेक्ट्रोमेकानिकल प्रणालीमा क्षति पुगेपछि परिक्षण गर्न ढिला भएको आयोजना कार्यान्वयन निर्देशनालयद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।
आयोजना उपनिर्देशक एवम् प्रवक्ता ई.बिकेश बधानथाछेद्वारा हस्ताक्षतिर विज्ञप्तीमा भनिएको छ ‘गतवर्षको बाढीबाट क्षतिग्रस्त भौतिक संरचना सहित इलेक्ट्रोमेकानिकल प्रणालीको निर्माण एवम् मर्मत सम्भार कार्य करिव सम्पन्न भएसँगै प्रतिदिन ३ करोड ७० लाख लिटर फोहोरपानी प्रशोधन क्षमताको धोविघाटस्थित एउटा केन्द्रको प्रारम्भिक परीक्षण शुरू गरिएको हो ।’
सो केन्द्रको संचालन निर्माण सम्पन्न भएको मितिले ५ वर्षसम्म सम्बन्धित निर्माण व्यवसायीबाट नै हुने व्यवस्था छ। यसैगरी धोविघाटमै अर्को फोहोरपानी प्रशोधन केन्द्र र भक्तपुरको सल्लाघारी र ललितपुरका कोड्कुमा समेत फोहोरपानी प्रशोधन केन्द्रहरूको निर्माण कार्य भइरहेको छ ।

निर्माणाधीन फोहोरपानी प्रशोधन केन्द्रहरूमध्ये धोविघाटको अर्को केन्द्रको पनि प्रशोधन क्षमता प्रतिदिन ३ करोड ७० लाख लिटर, कोड्कुको प्रतिदिन १ करोड ७५ लाख लिटर र सल्लाघारीमा निर्माणाधीन केन्द्रको प्रतिदिन १ करोड ४२ लाख लिटर रहेको छ ।


442 पटक हेरिएको 

