
धुलिखेल : नगरव्यापी समावेशी सरसफाइ एलायन्स (सिविसान) को १९ औं बैठक धुलिखेलमा सम्पन्न भएको छ । सिविसानको सदस्य काठमाडौ विश्वविद्यालयले आयोजना गरेको सिविसान बैठकको सुरुमा काठमाडौ विश्वविद्यालयका प्रोफेसर डा. भीम श्रेष्ठले नेपाल टेक्नोलोजी इनोभेटिभ सेन्टरको अवधारणा, खानेपानी तथा सरसफाइ क्षेत्रमा सेन्टरले गरिरहेको नवप्रवर्तनको कामबारे जानकारी गराउनुभयो।
बैठकमा खानेपानी मन्त्रालय, ईसिमोड र सिविसान बीच सुरक्षित तथा समावेशी सरसफाइ र फोहोरमैला व्यवस्थापनका लागि सम्भावित सहकार्यका बिषयमा छलफल भयो ।

यस्तै सन् २०२५ को लागि सिविसानले तयार पारेको कार्ययोजनाको समीक्षा गर्ने, खानेपानी तथा सरसफाइ क्षेत्रका ऐन, कानुन र नीतिगत व्यवस्थाहरुको प्रभावकारी कार्यान्वयनका लागि सिविसानले खेल्न सक्ने भूमिका लगायत बिषयमा पनि छलफल भएको छ ।
बैठकमा युएन ह्याबिट्याट नेपालका नेस्नल प्रोफेस्नल अफिसर (वास) सुधा श्रेष्ठले फोहोरपानी प्रशोधन केन्द्र र मानव मलमूत्र प्रशोधन केन्द्रहरुको सुचारुपनाको अवस्थाबारे गरिएको अध्ययन र यसको सिकाईबारे आफ्नो अनुभव सुनाउनुभयो। उक्त अध्ययनले मानव मलमूत्र प्रशोधन केन्द्र तथा फोहोरपानी प्रशोधन केन्द्रहरु किन पूर्ण रुपमा सञ्चालन हुन सकेका छैनन् भन्ने सवालमा गहिराईमा गएर बुझ्न पाएको बताउनुभयो।

बैठकमा वाटर एड नेपालका पैरवी प्रमुख सीमा रजौरियाले सरसफाइ क्षेत्रमा लैङ्गिक समानता र सामाजिक समावेशीकरणको बिषयमा वाटर एडले गरिरहेको कामका बिषयमा जानकारी गराउनुभयो। उहाँले सात वटै प्रदेशमा सरसफाइ उद्यममा संलग्न महिलाहरुबारे अध्ययन भैरहेको, लैङ्गिक समानता र सामाजिक समावेशीकरण निर्देशिका बनाईरहेको बताउनुभयो ।

बैठकमा लैङ्गिक समानता र सामाजिक समावेशीकरणको क्षेत्रमा सिविसानले गर्न सक्ने सम्भावित सहकार्यको बिषयमा समेत छलफल भयो।
बैठकको अन्त्यमा नगरव्यापी समावेशी सरसफाइ एलायन्स (सिविसान) का सदस्य सचिव सुधा श्रेष्ठले सिविसान सदस्यहरुलाई सदस्यताको प्रमाणपत्र वितरण गर्नुभयो।

नगरव्यापी समावेशी सरसफाइ एलायन्स नेपाल डिसेम्बर २०२१ मा गठन भएको हो । यसको सचिवालयको रुपमा युएन ह्याबिट्याट नेपालले समन्वयकारी भूमिका निर्वाह गर्दै आईरहेको छ ।
सिविसान सुरक्षित र समावेशी सरसफाइको क्षेत्रमा सहकार्य गर्ने निकाय हो, जसमा शैक्षिक संस्था, द्धिपक्षीय संगठन, नागरिक समाज, अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, मिडिया, निजी कम्पनी र संयुक्त राष्ट्रसंघका एजेन्सीहरु सहित २२ वटा संस्थाहरु सदस्य छन् ।

युएन ह्याबिट्याट नेपालले नेपाल सरकार र साझेदारहरु बीच समन्वयको भूमिका निर्वाह गर्दै आईरहेको छ। जसले सबै सरकारी तहहरुमा नगरव्यापी समावेशी सरसफाइ (CWIS) कार्यदिशाको पैरवी मार्फत सुरक्षित समावेशी सरसफाइ सेवाहरुको लागि सामूहिक आवाज उठाई रहेको छ ।
सिविसानका तीन प्रमुख प्राथमिक क्षेत्रहरु :
१. तथ्याङ्क सुदृढीकरण मार्फत सार्वजनिक सरसफाइ सेवाहरुको नीतिगत प्रभाव र अनुगमन
२. समावेशी सरसफाइ सेवाहरुलाई सुरक्षित रुपमा व्यवस्थापन गर्न नगरव्यापी समावेशी सरसफाइ (CWIS) कार्यदिशाको वकालत
३. क्षमता निर्माण र अभ्यासहरु ।

सिविसानले नगरव्यापी समावेशी सरसफाइ ((CWIS) कार्यदिशा मार्फत सुरक्षित र समावेशी सरसफाइ सेवाहरुलाई सुदृढ बनाउनका लागि एक सामूहिक आवाजको रुपमा विश्वसनीय उत्प्रेरक बन्ने लक्ष्य राखेको छ।



401 पटक हेरिएको 

