शारदा नगरपालिकामा मानव मलमूत्र व्यवस्थापनको समस्या आउनु अघि नै पूर्व तयारी

  वास खबर सम्बाददाता  604 पटक हेरिएको


सल्यान : सल्यानको शारदा नगरपालिकाले मानव मलमूत्र व्यवस्थापनको समस्या आउनु अघि नै यसबारे पूर्व तयारी गरिसकेको छ । नगरपालिकाले यस सम्बन्धी समस्या आएमा समाधानका लागि पूर्व तयारी स्वरुप कानुनी औजारहरु निर्माण गरिसकेको छ ।

शारदा नगरपालिकामा सुरु भएको ‘नगरव्यापी समावेशी सरसफाइ सेवा प्रणालीहरुको विस्तार कार्यक्रम’ सम्बन्धी यु.एन.ह्याबिट्याट र शारदा नगरपालिका बीच भएको छलफलमा नगरपालिकाका उपप्रमुख सुश्मिता सापकोटाले अहिलेसम्म शौचालयको सेप्टिक ट्याङ्क भरिएर समस्या आई नसके पनि निकट भविश्यमै भरिन सक्ने सम्भावनालाई मध्यनजर गरेर पूर्व तयारी गरिसकेको बताउनुभयो।


‘हाम्रोमा अब समस्या आउनेवाला छ, यसको व्यवस्थापनका लागि ढिलो गर्नु हुँदैन भन्ने पक्षमा छौं, हामी जे खोजिरहेका थियौं, यो कार्यक्रम सही समयमा आईदियो, हामी खुसी छौं’ उहाँले भन्नुभयो।

कानुनी औजार खारेज गर्न पनि तयार छौंं : प्रमुख प्रशासकीय अधिकृत

शारदा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओम प्रकाश देवकोटाले नगरपालिकाले आफ्नो आवश्यकताको आधारमा संघीय सरकारले उपलब्ध गराएको टेम्प्लेट्सहरुको आधारमा विभिन्न कानुनी औजारहरु बनाएको र मानव मलमूत्र व्यवस्थापनका लागि पूर्ण नहुन सक्ने भएकाले यसको संशोधन गरेर अघि बढ्न सक्ने बताउनुभयो। ‘सेप्टिक ट्याङ्क तथा मलमूत्र प्रशोधन केन्द्रको सवालमा प्राविधिक पक्षलाई पनि हेरौं, पक्कै पनि त्यसलाई परिमार्जन गर्नुपर्ने र त्यस्तै परे खारेज नै गरेर नयाँ बनाउनुपर्छ भने पनि हामी तयार छौं’ उहाँले भन्नुभयो।


उहाँले नगरपालिकाको श्रीनगर क्षेत्रमा शहरीकरण तीब्र गतिमा भैरहेको र नागरिक स्तरमा चेतनाको कमी, पालिका सँग न्युन बजेट लगायत कारणले स्तरीय सेप्टिक ट्याङ्क निर्माण हुन नसकेको, भवन निर्माण संहितामा स्तरीय सेप्टिक ट्याङ्क निर्माणलाई समाहित गर्न नसकेको पनि बताउनुभयो ।

विस्तारै सेप्टिक ट्याङ्कहरु भरिन थालेकाले नगरपालिका आफैले सक्सन ट्याङ्क किन्ने वा निजी क्षेत्रलाई प्रोत्साहित गर्ने वा बाहिरको स्थानीय तहको मेसिनलाई झिकाउने भन्ने बिषयमा चाँडै निर्णय लिने बताउनुभयो।

प्रमुख प्रशासकीय अधिकृत देवकोटाले शारदा नगरपालिकाले हाल ५ रोपनी जग्गामा फोहोरमैला व्यवस्थापन गर्दै आएको र नजिकै खोला समेत भएकाले मानव मलमूत्र प्रशोधन केन्द्र निर्माणका लागि अन्यत्र जग्गाको प्रबन्ध गर्नुपर्ने बताउनुभयो।

उहाँले पूराना घरको सेप्टिक ट्याङ्कलाई कसरी सुधार गर्ने र नयाँ बन्ने घरमा कसरी स्तरीय सेप्टिक ट्याङ्क निर्माण गर्ने भन्ने बिषय नै अहिलेको मूल प्रश्न भएको बताउनुभयो ।

सेप्टिक ट्याङ्कको नियमनले घटाउँछ समस्या :NPO श्रेष्ठ

छलफलको क्रममा यु.एन. ह्याबिट्याटका राष्ट्रिय प्रोफेस्नल अफिसर (NPO) सुधा श्रेष्ठले नगरपालिका सँग मानव मलमूत्र प्रशोधन केन्द्र नभए पनि सेप्टिक ट्याङ्कको नियमन मात्र गर्न सके सेप्टिक ट्याङ्क भरिएर आउन सक्ने समस्यालाई धेरै हदसम्म घटाउन सकिने बताउनुभयो ।


‘स्तरीय सेप्टिक ट्याङ्क निर्माणले सेप्टिक ट्याङ्कबाट मानव मलमूत्र रसाएर वा चुहिएर खानेपानीको स्रोतमा मिसिने, चाँडो चाँडो भरिने जस्ता समस्यालाई पनि हटाउँछ’ उहाँले भन्नुभयो। नयाँ बन्ने घरमा स्तरीय सेप्टिक ट्याङ्क निर्माण गर्नुपर्ने बिषयलाई अनिवार्य गराई भवन निर्माण संहितामा समावेश गर्ने र नियमन गर्न थालनी गर्ने समय यही बेला उपयुक्त हुने उहाँको सुझाव थियो।

कार्यक्रम अन्तर्गत हुनेछन् यी चार काम

‘नगरव्यापी समावेशी सरसफाइ सेवा प्रणालीहरुको विस्तार कार्यक्रम’ सञ्चालित नगरपालिकाहरुमा नगरस्तरीय मानव मलमूत्र व्यवस्थापन सम्बन्धी कुनै एक (ऐन वा नियमावली वा कार्यविधि वा योजना वा नीति वा कार्यनीति) निर्माण हुनेछ ।

यस्तै मानव मलमूत्र व्यवस्थापन सम्बन्धी तथ्याङ्क संकलन गरी एन वासमा अद्यावधिक गर्ने र सरसफाइ सम्बन्धी कार्यसम्पादन सूचक तथा मानकहरुको तथ्याङ्क संकलन गरी एन वासमा अद्यावधिक गर्ने लगायत प्राविधिक सहयोग हुने NPO श्रेष्ठले बताउनुभयो।


‘कार्यक्रम मार्फत सरसफाइ क्षेत्रमा कार्यरत जनशक्तिको क्षमता अभिवृद्धि गर्ने काम हुनेछ, यस अन्तर्गत खानेपानी तथा ढल व्यवस्थापन विभाग र खानेपानी मन्त्रालय मार्फत तालिम आयोजना गरिनेछ’ उहाँले भन्नुभयो।

कार्यक्रम अवधिमा हरेक नगरपालिकामा नगरव्यापी समावेशी सरसफाइका लागि आवश्यक संस्थागत विकास समेत गरिनेछ।

गएको असार १४ गते शुक्रबार ‘नगरव्यापी समावेशी सरसफाइ सेवा प्रणालीहरुको विस्तार परियोजना’ सञ्चालन गर्न यु.एन.ह्याबिट्याट, नेपाल नगरपालिका संघ, वाटर एड नेपाल र सम्बन्धित नगरपालिकाहरु बीच बहुपक्षीय समझदारी भएको थियो ।


सात वटै प्रदेशका एक एक वटा गरी सात वटा नगरपालिकामा यो कार्यक्रम सुरु भएको छ ।

शारदा नगरपालिकामा भएको छलफल कार्यक्रममा यु.एन.ह्याबिट्याटको तर्फबाट राष्ट्रिय प्रोफेस्नल अफिसर सुधा श्रेष्ठ, सिविसान कोअर्डिनेसन अफिसर सतिश जंग शाही तथा नगरपालिकाको तर्फबाट नगर उपप्रमुख सुश्मिता सापकोटा, प्रमुख प्रशासकीय अधिकृत ओम प्रकाश देवकोटा, नगर प्रवक्ता राजेश कुमार शर्मा, वन तथा वातावरण संयोजक किशोर हमाल, इन्जिनियर खगेन्द्र मल्ल, सव इन्जिनियर कैलाश चनारा, फोहोरमैला व्यवस्थापक समीक्षा बस्नेत र सामाजिक परिचालक बिमला डाँगी लगायतको सहभागिता थियो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार