घर नक्सा पास गर्न गोदावरीमा सेप्टिक ट्याङ्क अनिवार्य

  वास खबर सम्बाददाता  418 पटक हेरिएको


कैलाली : कैलालीको गोदावरी नगरपालिकाले घर नक्सा पास गर्न सेप्टिक ट्याङ्क अनिवार्य समावेश भएको हुनुपर्ने व्यवस्था लागु गरेको छ। नयाँ घर निर्माण गर्ने घरधनीले घरको नक्सामा सेप्टिक ट्याङ्कको डिजाइन समावेश गरेमा मात्र नक्सा पास गर्ने व्यवस्थालाई अनिवार्य गराउँदै आएको गोदावरी नगरपालिकाका मेयर बीरेन्द्र भट्टलाई बताउनुभयो।

संयुक्त राष्ट्रसंघीय मानव बसोबास कार्यक्रम (UN-Habitat) र गोदावरी नगरपालिका बीच ‘नगरव्यापी समावेशी सरसफाइ सेवा प्रणालीहरुको विस्तार (Scalling of Citywide Inclusive Sanitation Service System) कार्यक्रम सम्बन्धी भएको छलफलमा मेयर भट्टले भवन निर्माण संहितामा सेप्टिक ट्याङ्कलाई समावेश गरी घरको अभिन्न भागको रुपमा राखिएको बताउनुभयो।

घर निर्माणको क्रममा पनि नक्सा बमोजिमको घर तथा सेप्टिक ट्याङ् निर्माण भए नभएको नगरपालिकाका कर्मचारीहरुले अनुगमन गरिरहने र सेप्टिक ट्या्क नक्सा अनुसार निर्माण भएमा मात्र घर निर्माण सम्पन्नताको प्रमाणपत्र दिने व्यवस्था गर्दै आएको उहाँले बताउनुभयो।


छलफलमा मेयर भट्टले मानव मलमूत्र र नगरपालिका भित्र उत्सर्जन हुने फोहोरमैलाको व्यवस्थापनको लागि गोदावरी नगरपालिकाले एसियाली विकास बैक/नेपाल सरकारको अनुदान र पाँच प्रतिशत नगरपालिकाको समेत लगानीमा एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण सम्पन्न भैसकेको र सञ्चालनको अन्तिम तयारीमा रहेको बताउनुभयो।

उहाँले एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्रमा ठोस फोहोरमैलाको व्यवस्थापन र मानव मलमूत्रको समेत व्यवस्थापन हुने भएकाले नगरपालिकाले नयाँ अभ्यास गर्दै गर्दा विज्ञको सल्लाह सुझाव र सहकार्यको अत्यन्तै खाँचो हुने र यसको परिपूर्ति नगरव्यापी समावेशी सरसफाइ सेवा प्रणालीहरुको विस्तार कार्यक्रम मार्फत पूरा हुने विश्वास व्यक्त गर्नुभयो।

फोहोरमैला व्यवस्थापन केन्द्रको सञ्चालन ३ बर्षसम्म निर्माण व्यवसायीले नै गर्ने र उक्त अवधिमा नगरपालिकामा दक्ष जनशक्ति तयार पार्ने उद्देश्यले ८ जना कर्मचारी छनौट गरिसकेको उहाँले बताउनुभयो। ठूलो क्षमताको प्रशोधन केन्द्र भएकाले छिमेकी नगरपालिकालाई समेत मानव मलमूत्र व्यबस्थापनको लागि प्रशोधन केन्द्र बनाउन बल नगर्न र आफूहरुसँगै सहकार्य गर्न अनुरोध गरिएको उहाँले जानकारी गराउनुभयो।

वास प्लान निर्माण हुँदै

गोदावरी नगरपालिकाले खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) योजना निर्माणको काम पनि अन्तिम चरणमा पु¥याएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज बिनाडीले वास प्लान निर्माणका लागि सबै तथ्याङ्क संकलन गरी विश्लेषण तथा प्रमाणीकरणको चरणमा रहेको बताउनुभयो।


नगरपालिका भित्र करिब २२ हजार घर परिवारका १ लाख ४ हजार जनसंख्याको बसोबास रहेको छ ।

गोदावरी नगरपालिकामै सुदुरपश्चिम प्रदेशको राजधानी समेत रहने भएकाले बसाईसराई गरेर आउने क्रम तीब्र रहेको र कतिपय आर्थिक अवस्था कमजोर भएका घरपरिवार र मूल घर बाट अलग्गिएका घर परिवारको बाहेक सबै घरमा शौचालय रहेको पाईएको उहाँले बताउनुभयो।

छलफलमा यु.एन.ह्याबिट्याटका राष्ट्रिय प्रोफेस्नल अफिसर (NPO) सुधा श्रेष्ठले नगरव्यापी समावेशी सरसफाइ सेवा प्रणालीहरुको विस्तार कार्यक्रम अन्तर्गत विशेष गरी चार वटा कम्पोनेन्टमा प्राविधिक सहयोग हुने जानकारी गराउनुभयो ।


उहाँले वाटर एड नेपाल, नेपाल नगरपालिका संघ, खानेपानी मन्त्रालय र खानेपानी तथा ढल व्यवस्थापन विभागको समन्वयमा नगरस्तरीय मानव मलमूत्र व्यवस्थापन सम्बन्धी कानुनी औजारहरु निर्माण गर्ने, मानव मलमूत्र व्यवस्थापन सम्बन्धी तथ्याङ्क संकलन तथा सुदृढीकरण गरी एन वासमा अद्यावधिक गर्ने, नगरव्यापी समावेशी सरसफाइ सम्बन्धी क्षमता विकास गर्न विभिन्न तालिमहरु सञ्चालन गर्ने र संस्थागत प्रारुप तयार गर्ने लगायत प्राविधिक सहयोगहरु हुने जानकारी गराउनुभयो।

गेट्स फाउण्डेसनको वित्तिय व्यवस्थापनमा सञ्चालित यो कार्यक्रमको यु.एन.ह्याबिट्याट कार्यकारी निकाय हो ।

गएको असार १४ गते शुक्रबार ‘नगरव्यापी समावेशी सरसफाइ सेवा प्रणालीहरुको विस्तार कार्यक्रम’ सञ्चालन गर्न यु.एन.ह्याबिट्याट, नेपाल नगरपालिका संघ, वाटर एड नेपाल र सम्बन्धित नगरपालिकाहरु बीच बहुपक्षीय समझदारी भएको थियो ।

छलफल कार्यक्रममा यु.एन.ह्याबिट्याटको तर्फबाट राष्ट्रिय प्रोफेस्नल अफिसर सुधा श्रेष्ठ, सिविसान कोअर्डिनेसन अफिसर सतिश जंग शाही तथा नगरपालिकाको तर्फबाट गोदावरी नगरपालिकाका मेयर बीरेन्द्र भट्ट, उपमेयर शारदा देवी रोकाया, प्रमुख प्रशासकीय अधिकृत धर्मराज बिनाडी, महिला तथा बालबालिका शाखाका प्रमुख गोदावरी खत्री, वातावरण तथा विपद व्यवस्थापन शाखाका प्रमुख एवं नगरव्यापी समावेशी सरसफाइ फोकल पर्सन सुलोचना कुमारी खड्का लगायतको सहभागिता थियो ।


कैलालीको गोदावरी नगरपालिका, सल्यानको शारदा नगरपालिका, दाङको घोराही उपमहानगरपालिका, गोरखाको गोरखा नगरपालिका, ललितपुरको ललितपुर महानगरपालिका, सिरहाको लहान नगरपालिका र झापाको मेचीनगर नगरपालिकामा नगरव्यापी समावेशी सरसफाइ सेवा प्रणालीहरुको विस्तार कार्यक्रम (Scalling of Citywide Inclusive Sanitation Service System) कार्यक्रम सुरु भएको छ ।

संयुक्त राष्ट्रसंघीय मानव बसोबास कार्यक्रम (UN-Habitat) र गोदावरी नगरपालिका सम्मिलित टोलीले एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्रको अवलोकन समेत गरेको छ। सो क्रममा मेयर बीरेन्द्र भट्टले फोहोरमैला व्यवस्थापन केन्द्रको पृष्ठभूमि, आगामी योजना र नगरपालिकाको परिकल्पना बारे बताउनु भयो।

मानव मलमूत्र प्रशोधन केन्द्र
मानव मलमूत्र प्रशोधन केन्द्र
मानव मलमूत्र प्रशोधन केन्द्र
सामूहिक फोटो : नगरपालिका र UN-Habitat को टोली

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार