बायोग्यास प्लान्ट र वर्षातको पानी संकलन प्रणाली सहितको अत्याधुनिक सार्वजनिक शौचालय सञ्चालनमा

  वास खबर सम्बाददाता  415 पटक हेरिएको

काठमाडौं: चन्द्रागिरि नगरपालिका–१५, ढुङ्गेअड्डामा आज बुधबार एक नमूना अत्याधुनिक सार्वजनिक शौचालयको औपचारिक उदघाटन गरिएको छ। चन्द्रागिरि नगरपालिका वडा नं. १५ र एरोसान सस्टेनेबल स्यानिटेशनको सहकार्यमा निर्माण गरिएको यो सार्वजनिक शौचालयलाई नगरप्रमुख घनश्याम गिरी, उपप्रमुख बसन्ती श्रेष्ठ र एरोसान सस्टेनेबल स्यानिटेशनकी सल्लाहकार सोनी श्रेष्ठले संयुक्त रूपमा उदघाटन गर्नुभयो।

यो शौचालय प्रविधियुक्त, महिलामैत्री, अपाङ्गमैत्री, बालबालिकामैत्री, जेष्ठ नागरिकमैत्री तथा वातावरणमैत्री हुने गरी निर्माण गरिएको छ। स्नानगृह सहित महिलाका लागि ३ वटा शौचकक्ष, पुरुषका लागि ४ वटा पिसाव गृह र २ वटा शौचकक्ष, अपाङ्गमैत्री १ वटा शौचकक्ष यहाँ उपलब्ध छन्। रोग संक्रमण न्यूनिकरणका लागि स्वचालित फ्लस, स्वचालित बत्ती, स्वचालित साबुन मेसिन र स्वचालित धाराको प्रयोग गरिएको छ। साथै महिलाहरूका लागि स्यानिटरी प्याड खरिद सुविधा पनि राखिएको छ।

काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिकासँगको सहकार्यमा ९ वटा अत्याधुनिक सार्वजनिक शौचालय निर्माण तथा सञ्चालन गरिरहेको एरोसान नेपालले चन्द्रागिरि नगरपालिकामा पहिलोपटक यस्तो शौचालय सञ्चालनमा ल्याएको हो। ५२८ वर्ग फिट क्षेत्रफलमा निर्माण भएको यस शौचालयमा वातावरणमैत्री बनाउने उद्देश्यले ८ घन मिटर क्षमताको बायोग्यास प्लान्ट र ५०० वर्ग फिट क्षेत्रफलमा वर्षा पानी संकलन प्रणाली जडान गरिएको छ।

उदघाटन कार्यक्रममा नगरप्रमुख घनश्याम गिरीले भन्नुभयो “नगरको सार्वजनिक विकास कार्यलाई व्यवस्थित रूपमा अघि बढाइरहेका छौं। सार्वजनिक शौचालयको आवश्यकता महसुस गर्दै योजना बनाएर अघि बढेका हौं। यो नमूनाको रूपमा रहेको अत्याधुनिक शौचालयपछि बलम्बु यातायात कार्यालय र नागढुंगामा पनि उचित स्थान पहिचान गरेर एरोसानकै सहकार्यमा थप शौचालय निर्माण गर्ने योजना छ।”

उपप्रमुख बसन्ती श्रेष्ठले भने यो शौचालय महिलालाई प्राथमिकतामा राखेर निर्माण गरिएको देख्दा खुशी लागेको बताउँदै वातावरणलाई ध्यानमा राखी उत्सर्जित फोहरको बायोग्यास मार्फत स्रोतमै व्यवस्थापन गरेर नदी–नालामा जाने फोहर केही मात्रामा भए पनि नियन्त्रण गर्न योगदान दिएकोमा एरोसान नेपाललाई धन्यवाद व्यक्त गर्नुभयो।‘यस्ता शौचालयहरू अन्य स्थानमा पनि निर्माण गर्न आवश्यक छ’ उहाँले भन्नुभयो।

वडा अध्यक्ष घनश्याम लुइँटेलले ढुङ्गे अड्डा बस बिसौनी क्षेत्रमा सर्वसाधारणको भीड बढी हुने भएकाले शौचालय सुविधा दिनु स्थानीय सरकारको दायित्व भएको बताउनुभयो।“पहिले फोहर फाल्ने स्थानको रूपमा प्रयोग हुँदै आएको यस क्षेत्रलाई सदुपयोग गर्दै अत्याधुनिक सार्वजनिक शौचालय निर्माण गरेका छौं। अब यस क्षेत्रको बाँकी भागलाई हरियाली पार्कका रूपमा विकास गर्ने र तल्लो तलामा प्रहरी बिट स्थापना गर्ने योजना छ,” उहाँले भन्नुभयो।

एरोसान सस्टेनेबल स्यानिटेशनकी कार्यक्रम अधिकृत अर्चना श्रेष्ठले भन्नुभयो “यो शौचालयबाट निस्कने ठोस तथा तरल फोहरलाई स्रोतमै व्यवस्थापन गर्न बायोग्यास प्लान्ट जडान गरिएको छ। साथै आकाशेपानी व्यवस्थापनका लागि जमिन पुनःभरण गरी स्रोत संरक्षण गरिएको छ।”

यो अत्याधुनिक सार्वजनिक शौचालय आजदेखि औपचारिक रूपमा सर्वसाधारणका लागि खुला गरिएको छ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार