
वीरगन्ज : वीरगन्जको विभिन्न टोलमा फैलिएको झाडापखाला र हैजाबाट विरामी भएका १ सय २९ जनाको विभिन्न अस्पतालमा उपचार भैरहेको छ। समुदाय स्तरमै हैजा फैलिएपछि आइतबार र सोमबार विद्यालय बन्द गरिएको छ ।
सयौं बिरामी भर्ना भएपछि बल्ल विभिन्न वडाका धाराको पानीको नमुना संकलन गरिएको छ । हैजाका जीवाणु संक्रमित खाना र पानीको सेवनले हैजा लाग्छ । सरसफाइको कमी, धमिलो खानेपानी पिउँदा हैजा छिटो फैलने जनस्वास्थ्यविद्हरू बताउँछन् ।
पछिल्लो १० वर्षमा वीरगन्जमा पहिलो पटक हैजाको प्रकोप देखिएको हो । भिब्रियो कलेरा नामक जीवाणु दूषित खाना वा पानीमार्फत शरीरमा प्रवेश गर्दा हैजा हुने जनस्वास्थ्य विज्ञहरू बताउँछन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकी स्थानीय र प्रदेश तहमा नियन्त्रणका लागि समन्वय भइरहेको बताउनुभयो। ‘भर्चुअल मिटिङ गरेर छलफल र सुझाव दिएका छौं ’ डा. बुढाथोकीले भन्नुभयो।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ), स्वास्थ्य मन्त्रालय र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाकोको टोली सोमबार वीरगन्ज परिचालित भएको छ ।
संक्रमितको संख्या बढेका कारण नारायणी अस्पतालमा नयाँ वार्ड खडा गरिएको छ । २२ वटा नयाँ बेड थप गरिएका छन् । स्थानीय तह र प्रदेश तहबाट उपचार व्यवस्थापनमा सक्रियता अपनाइएको छ ।
नारायणी अस्पतालका स्वास्थ्यकर्मीका साथै बीएस्सी नर्सिङ अध्ययनरत विद्यार्थीलाई पनि परिचालन गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलका अनुसार, प्रदेशबाट सोमबार थप स्वास्थ्यकर्मीको टोली परिचालित हुँदैछ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट आवश्यक परेको अवस्थामा जनशक्ति परिचालन गर्न सकिने गरी तयारी अवस्थामा राखिएको छ । गृह मन्त्रालयमार्फत सुरक्षा टोली पनि तयारी अवस्थामा राखिएको छ ।
स्वास्थ्यमन्त्री पौडेलका अनुसार, नारायणी अस्पतालमा उपचाररत हैजाका विरामीको निःशुल्क उपचार गर्न निर्देशन दिइएको छ । नारायणी अस्पतालमा भर्ना भएका ७३ जनामध्ये २५ जनामा हैजा पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । करिब ८० प्रतिशत हैजाका बिरामीलाई पुनर्जलीय झोल दिएर जटिलतालाई न्यूनीकरण गर्न सकिने जनस्वास्थ्यविज्ञहरू बताउँछन् । उचित तरिकाले उपचार गरेमा हैजाबाट हुने मृत्युलाई घटाउन सकिन्छ । सरकारले नीजि अस्पतालसँग समेत समन्वय भइरहेको मन्त्री पौडेलले बताउनुभयो।
यसैगरी खानेपानी संस्थान र डिप बोरिङका पाइपहरू नालाबाट झिकेर त्यसको व्यवस्थापनको काम पनि आइतबारदेखि सुरु गरिसकेको महानगरका प्रमुख प्रशासकीय अधिकृत कर्णले जानकारी दिनुभयो । सबैभन्दा बढी प्रभावित क्षेत्र वडा नम्बर १२ मा आइतबार त्यो काम गरिएको र सोमबारदेखि अन्य वडाहरूमा पनि त्यसलाई निरन्तरता दिइने उहाँले बताउनुभयो ।
यसका अतिरिक्त प्रभावित क्षेत्रहरूमा जनचेतना फैलाउन महानगरले २६ वटा टोली गठन गरेर परिचालन गरेको उहाँले जानकारी गराउनुभयो । जसमा महानगरका स्वास्थ्यकर्मी,वीरगन्जका नर्सिङ कलेजका छात्राहरू सहभागी छन् । उनीहरूले प्रभावित क्षेत्रका हरेक घरधुरीमै पुगेर अवस्थाको प्रत्यक्ष जानकारी लिने, सम्भावित संक्रमितहरूको पहिचान गर्ने, आवश्यक परामर्श दिने र सरसफाइ सम्बन्धी सचेतना फैलाउने कार्यलाई तीव्रता दिएको कर्णले जानकारी गराउनुभयो।
यस्तै, संघ सरकारको खानेपानी मन्त्रालयको खानेपानी तथा ढल व्यवस्थापन विभागबाट आएको प्राविधिक सहितको टोलीले पनि वीरगन्जका विभिन्न वडामा पुगेर परीक्षणका लागि खानेपानीको नमूना संकलन गरिरहेको विभागका महानिर्देशक इन्जिनियर रामकुमार श्रेष्ठले जानकारी दिनुभयो। प्रभावित क्षेत्रमा पानी शुद्धीकरणका लागि ‘पीयूष’ लगायतका आवश्यक सामग्रीहरूसहितको टोली वीरगन्ज पठाइएको श्रेष्ठले जानकारी दिनुभयो।
संघ सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि सरुवा रोग तथा महामारी नियन्त्रण महाशाखाबाट विज्ञ दुई जना चिकित्सकको टोली वीरगन्ज पठाएको छ । उक्त टोलीले झाडापखाला र हैजाका बिरामीहरू उपचाररत अस्पताल र प्रभावित क्षेत्रमा स्थलगत निरीक्षण गरिरहेको छ ।
यसैगरी मधेस प्रदेश सरकारले हैजाको महामारी फैलिएको वीरगन्जमा बिरामीको उपचारका लागि आवश्यक औषधि र सामग्रीहरू वीरगन्जको नारायणी अस्पतालमा पठाएको छ । प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट आइतबार वीरगन्ज आएका स्वास्थ्य महाशाखा प्रमुख डा. विपनकुमार झा र जनस्वास्थ्य अधिकृत सन्तोष ठाकुरले नारायणी अस्पतालका मेसु डा. चुमनलाल दासलाई उपचारमा आवश्यक पर्ने १७ प्रकारका औषधि र सामग्री स्वास्थ्य कार्यालय पर्सामार्फत नारायणी अस्पताललाई प्रदान गरेका हुन् ।
आइतबार वीरगन्जमा बसेको जिल्ला स्वाास्थ्य संकट व्यवस्थापना समितिको बैठकमा सहभागी भएको प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री सत्रुघनप्रसाद सिंहले हैजाको रोकथाम र नियन्त्रणका लागि स्वास्थ्य निर्देशनालयका प्रमुख निर्देशक सरोज न्यौपानेको नेतृत्वमा विज्ञसहितको टोली परिचालन गरिसकेको जानकारी गराउनुभयो ।स्वास्थ्य महाशाखाको आपुर्ति प्रमुख डा. विपनकुमार झा नेतृत्वको छुट्टै टोली पनि वीरगन्जमा परिचालन गरिसकिएको उहाँले बताउनुभयो।
उक्त बैठकमै प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. ओमप्रसाद अर्यालले नारायणी अस्पतालमा प्रदेशको स्वास्थ्य मन्त्रालयका तर्फबाट केही मात्रामा औषधि उपलब्ध गराइसकेको जानकारी गराए । नारायणी अस्पतालमा आइतबारदेखि प्रदेश सरकारले १० जना मेडिकल अफिसर चिकित्सक, १० जना परामेडिकल स्टाफ र केही स्टार्फ नर्स पठाइसकेको बताउनुभयो।


420 पटक हेरिएको 

