सरसफाइको कमीले हुने हैजाले कहिले छोड्ने ?

  डा. प्रकाश बुढाथोकी  446 पटक हेरिएको

काठमाडौ : वीरगन्जमा १० वर्षपछि पुनः हैजाको संक्रमण फैलिएको छ । आइतबार साँझसम्ममा डेढ सय बढी शंकास्पद बिरामी उपचारका लागि विभिन्न अस्पतालमा उपचार भर्ना भएका छन् । हालसम्म ३ जनाको झाडापखालाकै कारण मृत्यृ भएको छ भने ९ जनाको आईसीयूमा र ७० जनाको एचडीयूमा उपचार भइरहेको छ । वीरगन्जका विभिन्न अस्पताल शंकास्पद बिरामीले भरिएका छन् ।

जिल्ला संकट व्यवस्थापन समितिले डेडिकेटेड शय्या छुट्याई उपचार गर्न जनशक्ति व्यवस्थापन गरेको छ । शनिबार बसेको जिल्ला समन्वय समितिको बैठकले संक्रमण नियन्त्रणका लागि सचेतना बढाउने, स्वास्थ्यकर्मी परिचालनलगायतका सबै उपाय अवलम्बन गर्ने निर्णय गरेको छ । संघीय खानेपानीमन्त्री प्रमोद यादव वीरगन्ज पुगेर अवस्थाका बारेमा जानकारी लिँदै विभागबाट पानी परीक्षणका लागि मोबाइल भ्यानसहितको टोली परिचालन गरेका छन् । स्थानीय तहले पानीको शुद्धीकरणका लागि पानी निर्मलीकरण गर्ने पीयूष पनि वितरण गरेको छ ।

हैजाले महामारीकै रूप लिन सक्ने देखिएपछि स्थानीय तहले विद्यालयहरू २ दिनका लागि बन्द गर्ने निर्णय समेत गरेका छन् । साथै, पानीपुरी, चाट, चटपटे आदि जस्ता खुला रूपमा बिक्री गरिने खानेकुरामा पनि रोक लगाइएको छ । वीरगन्ज महानगरपालिकाले शनिबार त्यहाँका अस्पतालसँगको बैठक गरेर १ देखि १६ वडालाई जोखिम वडा तथा ११, १२, १३ र १६ मा प्रकोप भएकाले जनशक्ति, औषधि, एम्बुलेन्सलाई तयारी अवस्थामा राख्न निर्देशन दिएको छ । महानगरपालिकाले हब स्याटेलाइट सञ्जाल सक्रिय बनाउँदै झाडापखालाका बिरामीलाई प्राथमिकता दिन र २४ सै घण्टा हेल्प डेस्क तथा सूचना केन्द्र र स्वास्थ्यकर्मीहरूको २५ वटा टोली परिचालन गर्ने निर्णय गरेको छ ।

अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनका अनुसार जहाँ मलमूत्रको सफाइ र खानेपानीको समुचित व्यवस्था हुँदैन, त्यहाँ तीव्र गतिमा संक्रमित व्यक्तिको दिसाबाट झाडापखाला तथा हैजा जस्ता विभिन्न संक्रामक रोगहरू फैलिन्छन् । विश्व स्वास्थ्य संगठन अनुसार पनि फोहोर छोएपछि, खानेकुरा पकाउँदा तथा खाना खाँदा साबुनपानीले राम्ररी हात धोएमा झाडापखाला हुने दरलाई आधा गर्न सकिने बताउँछ । नगर क्षेत्रमा नै झाडापखाला वा हैजा फैलनुको अर्थ खानेपानीको स्रोत दूषित भएर हो भन्नेमा कुनै द्विविधा छैन । यस्तोमा व्यक्तिगत सरसफाइमा पनि ध्यान नदिँदा जोखिम झनै बढेको देखिन्छ

हैजा ब्याक्टेरियम भिब्रियो कोलेरीले आन्द्रामा संक्रमण गर्दा हुने गम्भीर प्रकारको रोग हो । संक्रमित आहार र दूषित पानीबाट हैजाका जीवाणु स्वस्थ व्यक्तिको शरीरमा प्रवेश गर्छ र आन्द्रामा तीव्र गतिले संक्रमण गर्छ । आन्द्राको कोशिकाबाट बढी मात्रामा पानी निस्कन थाल्छ र चौलानी जस्तै दिसा हुन थाल्छ । शरीरमा तीव्र रूपमा तरल पदार्थको कमी हुँदै रक्तचाप कम हुन्छ र रोगी गम्भीर रूपले अचेत हुने अवस्थामा पुग्छन् । विभिन्न प्रमाणित तथ्यांकका अनुसार हैजाबाट संक्रमित भएका प्रत्येक २० जनामध्ये १ जनालाई यसले निकै सिकिस्त बनाउँछ । स्वस्थ वयस्कलाई पनि केही घण्टामै मृत्युको मुखमा पुर्‍याउन सक्छ ।

हैजाको लक्षण देखिएका वा विकसित भएकामा ८० प्रतिशत रोगीलाई भने सामान्य झाडापखाला मात्रै हुने गरेको पाइन्छ । तर समयमा उपचार नगर्ने हो भने गम्भीर संक्रमण देखिएका ५० प्रतिशत बिरामीको मृत्यु हुने जोखिम हुन्छ । करिब ८० प्रतिशत हैजा संक्रमितको उपचार ओआरएस वा जीवनजल, नुन, चिनी, पानी दिएर गरिन्छ । कान्तिपुरबाट साभार गरिएको।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार