वीरगञ्जमा हैजा सङक्रमितको संख्या घट्दै, ४ सय ३४ बिरामी निको भएर घर फर्किए

  वास खबर सम्बाददाता  250 पटक हेरिएको

वीरगञ्ज : वीरगञ्जमा फैलिएको झाडापखाला तथा हैजाको सङ्क्रमण नियन्त्रणमा आउने क्रममा रहेको छ। वीरगञ्जमा गएको शुक्रबार साँझ तीन जनामा फेला परेको हैजाको सङ्क्रमण बिहीबार साँझ साढे पाँच बजेसम्मको परीक्षण रिपोर्ट अनुसार एक सय ४३ जनामा पुगेको छ। तर उपचाररत बिरामीको संख्या पनि घट्दो क्रममा रहेको छ।

वीरगञ्ज महानगरपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत सुमनचन्द्र ठाकुरका अनुसार बिहीबार नयाँ ८४ जना झाडापखालाका बिरामी अस्पताल भर्ना भएकामा ११ जनामा हैजा सङ्क्रमण पुष्टि भएको थियो।

बिहीबार नै १८ जना हैजा सङ्क्रमित सहित एक सय ७७ जना उपचार पछि निको भएर घर फर्किएका छन्। वीरगन्ज महानगरपालिकाको स्वास्थ्य शाखाका अनुसार बिहीबार साँझसम्म विभिन्न अस्पतालबाट उपचारपछि निको भएर ४३४ जना घर फर्किसकेका छन्। ती मध्ये हैजाको संक्रमण पुष्टि भएका ७४ जना पनि निको भएर घर फर्किएको वीरगन्ज महानगरपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत सुमनचन्द्र ठाकुरले जानकारी दिनुभयो ।

हालसम्म झाडा पखाला तथा हैजाका ६ सय १२ जना बिरामी विभिन्न अस्पतालमा भर्ना भएकोमा चार सय ३४ जना उपचारपछि निको भएर घर फर्किएपछि एक सय ७८ जना मात्र विभिन्न अस्पतालमा उपचाररत छन्। जसमध्ये ६९ जना हैजाका बिरामी रहेका छन्।

महानगरको वातावरण निरीक्षक प्रकाश ऐरसहितको प्राविधिक टोलीले शंकास्पद क्षेत्रमा पुगेर धाराको पानी संकलन गर्दै नियमित परीक्षण गर्ने कामलाई तीव्रता दिएको छ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार