सुरक्षित सरसफाइ किन आवश्यक छ ?

  वास खबर सम्बाददाता  308 पटक हेरिएको

सुरक्षित सरसफाइ भनेको के हो ?

सुरक्षित सरसफाइ भन्नाले व्यक्तिगत, पारिवारिक तथा सामुदायिक स्तरमा सरसफाइलाई स्वास्थ्यमैत्री, वातावरणमैत्री र दिगो तरिकाले व्यवस्थापन गर्ने प्रक्रिया बुझिन्छ। यसले मानव मलमूत्र, फोहरमैला र फोहर पानीलाई सुरक्षित रूपमा व्यवस्थापन गरी रोग फैलन नदिने, वातावरणलाई प्रदूषित हुन नदिने र मानव जीवनलाई स्वच्छ र स्वस्थ राख्ने लक्ष्य राख्छ।

सुरक्षित सरसफाइका आधारभूत तत्वहरु

  1. १. सुरक्षित शौचालयको प्रयोग

  2. सुरक्षित सरसफाइको पहिलो आधार सुरक्षित शौचालय हो। प्रत्येक घरमा प्रयोगयोग्य शौचालय हुनु जरुरी हुन्छ। खुला दिसा गर्ने अभ्यासले रोग फैलिने सम्भावना बढाउँछ, त्यसैले सबैले शौचालय प्रयोग गर्नुपर्छ। साथै, शौचालयमा ढाक्ने वा फ्लस गर्ने सुविधा भएमा मलमूत्र सुरक्षित रूपमा व्यवस्थापन हुन्छ, दुर्गन्ध कम हुन्छ र संक्रमण फैलन पाउँदैन।

  3. २. फोहरमैला व्यवस्थापन

  4. दैनिक जीवनमा घर, विद्यालय, अस्पताल वा बजारबाट निस्कने फोहरलाई व्यवस्थापन गर्नु पनि सुरक्षित सरसफाइको महत्त्वपूर्ण अङ्ग हो। जैविक (मलजल, भान्साको फोहर) र अजैविक (प्लास्टिक, फलाम, कागज) फोहरलाई छुट्याएर व्यवस्थापन गर्दा पुनःप्रयोग र पुनःउत्पादन गर्न सकिन्छ। यसले वातावरण प्रदूषण कम गर्छ र फोहरलाई सम्पदामा परिणत गर्न मद्दत गर्दछ।

  5. ३. फोहर पानीको निकास र व्यवस्थापन

  6. घरायसी तथा सामुदायिक जीवनमा निस्कने फोहरपानीलाई जथाभावी फाल्दा सरसफाइ बिग्रन्छ र वातावरण प्रदूषित हुन्छ। त्यसैले नाली, सोखपिट वा प्रशोधन प्रणाली मार्फत फोहर पानीलाई सुरक्षित निकास गर्ने अभ्यास हुनुपर्छ। यसरी व्यवस्थित फोहर पानीले वातावरणीय स्वास्थ्य जोगिन्छ र वरपरको जीवनस्तर स्वच्छ रहन्छ।

  7. ४. हात धुने सुविधा

  8. हात धुने सुविधा सुरक्षित सरसफाइमा अत्यन्तै जरुरी छ। शौचालय नजिकै साबुनपानी वा स्वच्छ पानीले हात धुने स्थान उपलब्ध हुनु पर्छ। विशेष गरी दिसा पिसाब गरेपछि, खाना खानु अघि वा बालबालिकाको दिसा धोएपछि तथा विरामीको स्याहार सुसार गर्नु अघि र पछि अनिवार्य रूपमा हात धुनु पर्ने हुन्छ। यसले रोगजन्य कीटाणु संक्रमण हुन नदिई परिवारलाई स्वस्थ राख्छ।

  9. ५. स्वच्छ खानेपानी

  10. स्वच्छ खानेपानी सुरक्षित सरसफाइको मेरुदण्ड हो। घरमा पानीलाई सुरक्षित भण्डारण गर्ने, ढाकेर राख्ने र आवश्यक परे शुद्धिकरण गरेर मात्रै पिउनुपर्ने हुन्छ। साथै, पानीको स्रोतलाई पनि प्रदूषण–मुक्त राख्नुपर्ने भएकाले नियमित सरसफाइ र संरक्षण आवश्यक हुन्छ।

  11. ६. सामाजिक सचेतना र व्यवहार परिवर्तन

  12. सुरक्षित सरसफाइ केवल भौतिक संरचनामा मात्र सीमित छैन, यो सामाजिक अभ्यास र चेतनासँग पनि जोडिएको हुन्छ। समुदायलाई सरसफाइको महत्वबारे निरन्तर सचेत गराउनुपर्छ। व्यक्तिगत र सामूहिक जीवनमा सकारात्मक व्यवहारलाई अंगाल्दा मात्र दिगो सरसफाइ सम्भव हुन्छ। यसले दीर्घकालीन रूपमा स्वस्थ समाज र स्वच्छ वातावरण निर्माण गर्न सहयोग पुर्‍याउँछ।

    सुरक्षित सरसफाइको महत्व

    सुरक्षित सरसफाइ स्वास्थ्य, सम्मान र समृद्ध जीवनसँग प्रत्यक्ष सम्बन्धित हुन्छ। यसले हैजा, टाइफाइड, पखाला जस्ता रोगको जोखिम घटाउँछ। साथै, वातावरणलाई प्रदूषणमुक्त राख्छ र सामुदायिक जीवनलाई स्वच्छ, सुरक्षित र दिगो बनाउन सहयोग पुर्‍याउँछ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार