विपदमा बोर्डको भरोसा, खडेरीमा पनि हुन दिएन खानेपानी अभाव

  वास खबर सम्बाददाता  538 पटक हेरिएको

सर्लाही : तराई मधेसमा लामो खडेरीका कारण सर्लाहीको सदरमुकाम मलंगवा तथा ब्रम्हापुरी गाउँपालिका लगायतका नागरिकहरू खानेपानी समस्याले काकाकुल झैं बने । भूमिगत पानीको सतह गहिरिएर हातेकलमा पानी आउन छाडेपछि त्यहाँका नागरिकले आँत भिज्ने गरी पानी पिउनै पाएनन् ।

तर ब्रम्हापुरी गाउँपालिका र मलंगवा नगरपालिका सँगै जोडिएको अर्को नगरपालिका हरिपुरका बासिन्दाले भने खानेपानीको कुनै समस्या झेल्नु परेन । सिँचाई सुविधा नहुँदा धानबाली समयमा लगाउन नपाए पनि खानेपानीमा खडेरीको कुनै असर नै महसुस गर्न नपाएको स्थानीय बताउँछन् ।

तराईका अन्य पालिकामा खानेपानी ठप्प हुँदा पनि हरिपुर बोर्डले आफ्ना उपभोक्ताहरु र छिमेकी पालिकालाई समेत निरन्तर पानी आपूर्ति गर्दै वैकल्पिक मोडेलको नमुना प्रस्तुत गरेको छ ।

हरिपुर नगरपालिकामा पनि खडेरीको असर नभएको होइन, हरिपुरका हातेपम्पहरुमा पनि पानी सुकेको लामो समय भैसकेको छ । तर हरिपुर नगरपालिकामा स्थापना भएको हरिपुर खानेपानी तथा सरसफाइ व्यवस्थापन बोर्डले नियमित खानेपानी आपूर्ति गरेपछि स्थानीयले खडेरीको असर महसुस गर्न नपाएका हुन् ।

हरिपुर नगरपालिका ९ की आशा कुमारी माझी भन्नुहुन्छ “यहाँ कहिल्यै पानीको अभाव महसुस गर्नुपरेको छैन । धारा खोले पछि पानी आउँछ, परिवारको दैनिक आवश्यकता सहजै पूरा हुन्छ।” माझी थप्नुहुन्छ “खानेपानीको अभावको समाचार धेरै सुन्यौं, तर हामीले कहिल्यै अभाव झेल्नु परेन, किनकि हामीले हाते पम्प छोडेको लामो समय भैसक्यो, अहिले पाइप प्रणालीबाट आएको पानी पिउँदै आएका छौं ।”

छिमेकी पालिकामा समेत वितरण

हरिपुर खानेपानी तथा सरसफाइ व्यवस्थापन बोर्डले आफ्नो उपभोक्तालाई खानेपानीको समस्या हुन नदिएको मात्र होइन, खानेपानीको समस्या भएका अन्य पालिकालाई समेत खानेपानी वितरण गरेर संकट टार्न सहयोग गरेको छ ।

हरिपुर खानेपानी बोर्डका व्यवस्थापक मनिष कुमार भुजेल भन्नुहुन्छ “हामीले प्रणालीलाई एकीकृत गरेर केवल सप्लाई सुनिश्चित गरेका मात्र छैनौं, खडेरी जस्ता आपतकालीन अवस्थामा पनि निरन्तर आपूर्ति कायम राखेका छौं । हामीले खानेपानी ट्यांकर मार्फत छिमेकी नगरपालिकाको अनुरोधमा विभिन्न बस्तीमा सुरक्षित खानेपानी वितरण गरेका छौं ।”

उहाँका अनुसार साउन ९ गतेदेखि भदौ १ गतेसम्ममा आफ्ना उपभोक्ता बाहेक छिमेकी पालिकामा करिब २ लाख ५० हजार लिटर सुरक्षित पानी वितरण गरेको छ । “ब्रम्हापुरी गाउँपालिकाको महादेव टोल, मुस्लिम टोल, पडरिया र मलंगवा नगरपालिकाका वेली, हुलाक टोल, पासवान टोल र कौडेना नगरपालिकाको लक्ष्मीपुरमा खानेपानी वितरण गर्‍यौं” उहाँले भन्नुभयो।

बोर्ड स्थापना नभएको भए खडेरीको समयमा खानेपानी वितरण गर्ने कुरा सपनामा पनि सोच्न नसक्ने हरिपुर खानेपानी तथा सरसफाइ व्यवस्थापन बोर्डका अध्यक्ष हरि बहादुर थापा बताउनुहुन्छ । नगरपालिका भित्रकै खानेपानी उपभोक्ता समितिहरुले आफ्ना उपभोक्ताहरुलाई समेत पर्याप्त खानेपानी पुर्‍याउन नसकेको अवस्थामा बोर्डले भने छिमेकी पालिकालाई समेत खानेपानी वितरण गर्न सफल भएको उहाँले बताउनुभयो।

अक्सफाम नेपाल र वाग्मती सेवा समाजको साझेदारीमा सञ्चालित वैकल्पिक व्यवस्थापन मोडेल (Alternative Management Model) परियोजना अन्तर्गत २०७९ सालमा हरिपुर खानेपानी तथा सरसफाइ व्यवस्थापन बोर्ड गठन भएको हो । बोर्डले हरिपुर नगरपालिकाभित्र सञ्चालित पिडारी खानेपानी तथा सरसफाइ उपभोक्ता समिति, सानो जगतपुर खानेपानी तथा सरसफाइ उपभोक्ता समिति र इन्द्रपुर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिलाई एउटै व्यवस्थापनमा एकीकृत गरी नियमित खानेपानी आपूर्ति सुनिश्चित गरेको छ।

बोर्डले हाल १,०९४ घरधुरीलाई नियमित खानेपानी आपूर्ति गरिरहेको छ । भविष्यमा हरिपुर नगरपालिकाभित्रका सम्पूर्ण घरधुरीमा पाइप प्रणाली मार्फत खानेपानी पुर्‍याउने बोर्डको लक्ष्य रहेको बोर्डका अध्यक्ष थापाले बताउनुभयो।

वैकल्पिक सेवा वितरण उत्कृष्ट मोडेल

बोर्डको व्यवस्थापन प्रक्रिया व्यवस्थित भएकाले खडेरीमा आफ्ना उपभोक्तालाई सेवा सुनिश्चित गरेर पनि अन्यत्र वितरण गर्न सम्भव भएको बागमती सेवा समाजका परियोजना संयोजक किशोर चन्द्र उपाध्यायले बताउनुभयो। उहाँका अनुसार विभिन्न पालिकाको अनुरोधको आधारमा पानी आवश्यकतामा आधारित सूची बनाई ट्यांकर मार्फत समय तालिका अनुसार वितरण सुनिश्चित गरिएको बताउनुभयो।

अक्सफाम सँगको साझेदारीमा खडेरी प्रतिकार्य कार्यक्रम अन्तर्गत हरिपुर खानेपानी बोर्डले खानेपानी आपूर्ति सँगै खानेपानी, सरसफाइ र स्वच्छता सम्बन्धी सचेतनामूलक कार्यक्रमहरू पनि सँगसँगै सञ्चालन गरेको छ । उहाँका अनुसार केही नहरहरूको मर्मत गरी सिँचाइ प्रयोजनमा प्रयोग योग्य बनाएको छ।

“हरिपुर बोर्डले आफ्ना प्रयोगकर्तालाई नियमित पानी दिइ अन्य खडेरी जस्तो सङ्कटमा परेका स्थानमा समेत पानी आपूर्ति गर्न सफल भई वैकल्पिक सेवा वितरण मोडेलको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ” संयोजक उपाध्यायले भन्नुभयो।

मधेश प्रदेश सरकार साउन २६ गते र संघ सरकारले २०८२ साउन ७ गते मधेश प्रदेशलाई खडेरी विपद् सङ्कटग्रस्त घोषणा गरेको थियो । त्यसपछि मधेश प्रदेश सरकार र वास क्लस्टरको समन्वयमा अक्सफाम नेपाल तथा वाग्मती सेवा समाजको साझेदारीमा सर्लाही र रौतहटमा खडेरी प्रतिकार्य कार्यक्रम सञ्चालन गरिएको अक्सफाम नेपालका प्राविधिक संयोजक ई.विजय थापाले बताउनुभयो।

तराई मधेसका सर्लाही, महोत्तरी, धनुषा, सिराहा, रौतहट, सप्तरी, बारा, पर्सा लगायत जिल्लामा खडेरीको प्रभाव अत्यधिक देखिएको छ। यी जिल्लामा करिब ७० प्रतिशत भन्दा बढी बोरहोल प्रयोगविहीन भएका छन् भने ठूला खानेपानी आपूर्ति संरचनाहरू पनि सञ्चालनमा आउन सकेका छैनन्।

तराईका अन्य क्षेत्रमा खानेपानी ठप्प हुँदा पनि हरिपुर बोर्डले आफ्नो प्रयोगकर्तालाई निरन्तर पानी आपूर्ति गर्दै वैकल्पिक सेवा वितरण मोडेलको नमुना प्रस्तुत गरेको छ । यसले केवल स्थानीय बासिन्दालाई मात्र राहत दिएको छैन, एउटा भरपर्दो सेवा प्रदायक संस्था हुँदा खडेरी जस्ता आपतकालीन अवस्थामा समेत कसरी निरन्तर सेवा आपूर्ति सुनिश्चित गर्न सकिन्छ भन्ने एउटा उदाहरण प्रस्तुत गरेको छ । जसले स्थानीय सरकार प्रति नागरिकको भरोसा बढेको छ भने घरआँगनमै सरकार भएको अनुभूति दिलाएको छ ।

खडेरी प्रतिकार्यका थप फोटाहरु :

फोटोहरु : किशोर चन्द्र उपाध्याय, वाग्मती सेवा समाज।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार