डेढ साता बित्दा पनि वीरगन्जमा फैलिएको हैजा नियन्त्रणमा आएन, संक्रमितको संख्या २ सय नजिक

  वास खबर सम्बाददाता  289 पटक हेरिएको

पर्सा : वीरगन्जमा हैजाको प्रकोप फैलिएको डेढ साता भन्दा भैसक्दा पनि अझै नियन्त्रणमा आएको छैन । पर्सामा हाल संक्रमितको संख्या २ सय नजिक पुगेको छ । वीरगन्ज र पोखरियामा गरी जिल्लामा संक्रमितको संख्या १ सय ९३ पुगेको छ ।

वीरगन्ज महानगरपालिकाको कार्यालयले मंगलबार बिहान साढे ९ बजे सार्वजनिक गरेको तथ्यांक अनुसार महानगर क्षेत्रमा मात्रै हैजा संक्रमितको संख्या १ सय ७६ पुगेको छ भने पोखरिया अस्पतालमा सम्पर्कमा आएका झाडापखालाका बिरामी मध्ये हैजा संक्रमितको संख्या १७ पुगिसकेको छ ।

वीरगन्जस्थित विभिन्न अस्पतालमा मंगलबार बिहानसम्म ८ सय ९९ झाडापखाला तथा हैजाका बिरामी सम्पर्कमा आएका छन् । तीमध्ये २३ नयाँ बिरामी हुन् । ८ सय ९९ मध्ये ७ सय ९१ उपचारपछि घर फर्किसकेका छन् । वीरगन्जमा हैजा संक्रमित १ सय ७६ मध्ये १ सय ६२ उपचार पछि घर फर्किसकेका छन् । १४ संक्रमित अझै बिभिन्न अस्पतालमा उपचाररत छन् । हाल १ सय ८ जना झाडापखालका बिरामी वीरगन्जको विभिन्न अस्पतालमा उपचाररत छन् ।

नयाँ बिरामी भर्ना हुने दर र उपचार गरी घर फकिर्ने दर समान देखिए पनि नयाँ बिरामी देखिने क्रम नरोकिँदा भने चिन्ता बन्दै गएको छ । प्रकोप फैलिन नदिन भन्दै वीरगन्ज महानगरपालिकाको कार्यालयले एक सातादेखि बीरगन्जका सम्पूर्ण शिक्षण संस्था नै बन्द गराएको छ ।

सुरुमा खानेपानी संस्थान र डिप बोरिङका पानीमा हैजाका जीवाणु भेटिएको बताईए पनि विभिन्न प्रयोगशालाको नतिजाले वीरगन्ज महानगरमा वितरित पानीमा हैजाको जीवाणु नभेटिएको जनाएको छ। सरकारीदेखि गैरसरकारी संस्थाको लामो प्रयासपछि पनि वीरगन्जमा हैजाको वास्तविक स्रोतबारे अझै यकिन हुन नसकेको हो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार