
बागलुङ : पश्चिम बागलुङको बडिगाड गाउँपालिकामा हालसम्म ६२ टोललाई पूर्ण सरसफाई तथा पोषणमैत्री घोषणा गरिएको छ। ताजा उपलब्धिमा भिमगिठे र खहरे टोलले पनि पूर्ण सरसफाई तथा पोषणमैत्री टोलको मान्यता पाएका छन्।
अभियानका स्रोतव्यक्ति तथा जनस्वास्थ्य निरीक्षक शेरबहादुर बुढाका अनुसार गाउँपालिकाभित्र रहेका कुल ६९ टोलमध्ये ६२ टोल घोषणा भइसकेका छन् भने बाँकी सात टोल पनि चाँडै नै पूर्ण सरसफाई तथा पोषणमैत्री बन्ने तयारीमा छन्।
२०७९ माघ २ गतेबाट सुरु भएको यो अभियान अन्तर्गत विभिन्न वडामा उल्लेखनीय प्रगति भएको छ।
-
• वडा नं. १ दगातुम्डाँडाका ६ टोल,
-
• वडा नं. २ खर्बाङका २ टोल,
-
• वडा नं. ३ सिसाखानीका ६ टोल,
-
• वडा नं. ४ जलजलाका ९ टोल,
-
• वडा नं. ५ ग्वालीचौरका ९ टोल पूर्ण सरसफाई तथा पोषणमैत्री घोषणा भइसकेका छन्।
खर्बाङका ३ र सिसाखानीका ३ टोल भने अझै घोषणा हुन बाँकी छन्।
त्यस्तै,
-
• वडा नं. ६ खालका ४,
-
• वडा नं. ७ भीमगिठेका ७,
-
• वडा नं. ८ रणसिंकिटेनीका १०,
-
• वडा नं. ९ दर्लिङ खोलाका ५,
-
• वडा नं. १० दर्लिङका ४ टोल घोषणा भइसकेका छन्।
यद्यपि वडा नं. १० दर्लिङकै १ टोल अझै घोषणा हुन बाँकी छ।
बुढाका अनुसार, ‘‘टोल, वडा र पालिकाले तोकिएका सबै सुचकहरू पूरा गर्ने क्रममा विभिन्न अभियानहरू सञ्चालन भएका छन्। अहिले हामी टोल घोषणाको अन्तिम चरणमा छौं,’’ उनले बताए।
गाउँपालिकाले आगामी २०८३ चैत मसान्तभित्र सम्पूर्ण बडिगाडलाई पूर्ण सरसफाई तथा पोषणमैत्री पालिका घोषणा गर्ने लक्ष्य लिएको छ।
यसअघि, बडिगाड गाउँपालिका–२ मा गहते–हुकुर्थुम खानेपानी स्वच्छता तथा सरसफाई आयोजना सञ्चालनमा आएको छ। ४३ घरपरिवारका २४० जना प्रत्यक्ष लाभान्वित भएको उक्त आयोजनाको लागत करिब २६ लाख ४२ हजार रुपैयाँ रहेको छ।
सोमध्ये नेवाबाट १५ लाख ६५ हजार, गाउँपालिकाबाट ४ लाख ७२ हजार तथा स्थानीयको ६ लाख ४ हजार रुपैयाँ बराबरको जनश्रमदानमार्फत आयोजना सम्पन्न भएको हो।


186 पटक हेरिएको 

