
पर्सा : वीरगन्जमा एक महिनादेखि फैलिएको हैजाको संक्रमण फेरि बढ्न थालेको छ । पछिल्लो तीन/चार दिन यता यहाँका अस्पतालमा झाडापखाला र हैजाका बिरामीको संख्या पुनः बढ्न थालेको हो ।
वीरगन्ज महानगरपालिकाको कार्यालयले शनिबार साँझ साढे ५ बजे सार्वजनिक गरेको तथ्यांक अनुसार महाननगरमा मात्रै हैजा संक्रमितको सख्या २ सय १९ पुगेको छ । उता पोखरिया अस्पतालमा समेत १ संक्रमित थपिएर हैजा संक्रमितको संख्या १८ पुगेको छ । वीरगन्ज र पोखरियामा समेत गरी जिल्लामा कूल हैजा संक्रमितको संख्या २ सय ३७ पुगेको छ । २४ घण्टामा वीरगन्ज र पोखरियामा गरी झाडापखाला र हैजाका २७ नयाँ बिरामी थपिएका छन् ।
हालसम्म वीरगन्ज महानगर र पोखरिया अस्पतालमा समेत गरी झाडापखाला र हैजाका १ हजार ४ सय ५१ बिरामी आएकोमा १ हजार ४ सय २१ डिस्चार्ज भई घर फर्किएका छन् । ३० अझै विभिन्न अस्पतालमा उपचाररत छन् । ती मध्ये २ आईसियु, एक एचडियु र २७ जनरल वार्डमा भर्ना छन् । हैजा संक्रमित मध्ये वीरगन्जको प्रभु अस्पतालमा २, तराई अस्पतालमा १ र पोखरिया अस्पतालमा उपचाररत छन् ।
तीनरचार दिनयता वीरगन्ज महानगर क्षेत्रमा हैजा संक्रमण पुनः बढेको नारायणी अस्पतालका प्रवक्ता डा। उदयनारायण सिंहले बताउनुभयो। शुक्रबार मात्रै नारायणी अस्पतालमा झाडापखालाका ६ बिरामी आउँदा तीन जनामा हैजा संक्रमण पुष्टि भएको उहाँले बताउनुभयो। दैनिक २०/२२ जनासम्म झाडापखाला र हैजाका बिरामी अस्पताल आउने गरेको उहाँको भनाइ छ ।
हैजा संक्रमण सुरुवात भएको महानगरको वडा १२ र ११ का झाडापखालाका बिरामी दोहोरिएर अस्पताल आउन थालेको पनि उहाँले बताउनुभयो। ‘एक पटक निको भएर गएकाहरू फेरि झाडापखाला लागेर आउन थालेका छन्,’ उहाँले भन्नुभयो ‘यसले उनीहरुले सेवन गर्ने पानीमै समस्या रहेको देखिन्छ ।’
एक साता यता वीरगन्जमा दैनिकजसो पानी परिरहेको र यहाँका नालाहरूमा अझै पनि हैजा संक्रमण फैल्याउने ब्याक्टेरिया रहेको यकिन भएको उहाँले बताउनुभयो। ‘सामान्यतया हैजाको किटाणु पाँच दिनसम्म पानीमा जीवित रहन्छ,’ उहाँले भन्नुभयो, ‘वर्षात हुन थालेपछि नालाको जलस्तर बढेको र तीनमा रहेको किटाणु नालामा रहेका खानेपानीका पाइपका लिकेजहरुबाट पानीमा मिसेर घरघरमा पुग्न थालेको छ ।’
हैजा संक्रमण देखिएको एक महिना भइसक्दा पनि वीरगन्ज महानगरमा यो संक्रमण फैलाउने स्रोतको ठ्याक्कै पहिचान भने हुन सकेको छैन । एक महिनाको अवधिमा हैजा संक्रमण कुनै बेला ह्वात्तै बढ्ने, कुनै बेला घट्ने र कहिले बेला स्थिर बिन्दुमा रहने गरेको छ ।
लामो प्रयास पछि पनि वीरगन्ज महानगर क्षेत्रमा हैजा संक्रमण घटेको छैन । बरु झन्झन् बढ्दो क्रममा छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रवक्ता एवम् अधिकृत जयमोद ठाकुर स्थानीय आफैं सचेत र सतर्क नभएसम्म सजिलै हैजा संक्रमण नियन्त्रणमा नआउने बताउँनुहुन्छ।


292 पटक हेरिएको 

