श्रीनगरडाँडामा तीन महिनादेखि नियमित सरसफाइ

  वास खबर सम्बाददाता  169 पटक हेरिएको

पाल्पा : पाल्पाको तानसेन श्रीनगरडाँडामा तीन महिनाभन्दा बढी समयदेखि निरन्तर सरसफाइ भइरहेको छ । ‘हामी गर्छौं हाम्रो श्रीनगर सरसफाइ’ अभियानमा तानसेनका सामाजिक अभियन्ताहरू सहभागी हुने गरेका छन् ।

प्रत्येक शनिबार बिहानको समयमा स्वयंसेवी रूपमा श्रीनगरडाँडाको सरसफाइ गरिँदै आएको हो । श्रीनगरडाँडामा फोहोर बढेकाले त्यसलाई सरसफाइ गर्ने नागरिकको स्वः स्फूर्त अभियान र दायित्व भएकाले यो अभियान चलाएको अभियानका संयोजक शम्भू आचार्यले जानकारी दिनुभयो।

श्रीनगरडाँडामा घुम्न जाने आन्तरिक तथा बाहृय पर्यटकले जथाभावी फोहोर फालेकाले कुरुप बन्दै गएको छ । वियर, पानीका बोतल, जंकफुडका खोलहरु जथाभावी फालिने भएकाले पनि सरसफाइको महत्त्व भएको उहाँले बताउनुभयो। हनुमान मूर्ति, भ्यू टावर, पिकनिक क्षेत्रमा बढी फोहोर हुने गरेको छ ।

अभियानले श्रीनगर क्षेत्रमा सुन्दरता थप्न सहयोग पुगेको उहाँको विश्वास छ । स्थानीय बिहानी हिँड्डुल गर्ने नागरिकमा सरसफाइप्रति चेतना फैलाउन पनि यसले मद्दत पुगेको छ । अभियानका लागि कुनै समिति गठन नभएको उहाँले बताउनुभयो । ‘हामीले यसलाई शुद्ध नागरिक अभियानका रुपमा लिएका छौं,’ उहाँले भन्नुभयो ‘सरसफाइ अभियान सञ्चालन भएपछि श्रीनगर क्षेत्रमा पुग्ने नागरिकहरूमा चेतनाको अभिवृद्धि भएको छ ।’

यसअघि जथाभावी फोहोर फाल्नेहरू अहिले सचेत भएका छन् । पछिल्लो समयमा जथाभावी फोहोर फाल्ने कार्य पनि कम देखिएको स्थानीय अभियन्ता भोजराज भट्टराईले बताउनुभयो। तानसेनको सौन्दर्यकरण विस्तार र नागरिकस्तरमा सरसफाइप्रतिको धारणा विकास गर्न यो अभियानले सहयोग पुग्ने उहाँले बताउनुभयो।

तानसेनका विभिन्न कार्यालयका कर्मचारी, स्थानीय नागरिक, विभिन्न व्यक्तिहरूले सरसफाइका लागि आवश्यक सामग्री स्वःस्फूर्त प्रदान गर्ने गर्छन् । तानसेनको श्रीनगर क्षेत्रलाई व्यवस्थित गर्न यहाँ ट्रेकिङ मार्ग व्यवस्थापन, पिकनिक स्पट, शौचालय, पार्किङ लगायत काम तानसेन नगरपालिकाले गरेको छ ।

नगरपालिकाको आन्तरिक आम्दानी श्रीनगर क्षेत्र पनि एक हो । श्रीनगर क्षेत्रलाई फोहोरमुक्त गराउन स्थानीय सरकारले जथाभावी फोहोर गर्नेलाई दण्ड जरिवाना गर्नुपर्ने अभियन्ताको सुझाव छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार