
दशैं नेपालीको सबैभन्दा ठूलो चाड हो। परिवारसँग भेटघाट गर्ने, नयाँ लुगाफाटा किन्ने, स्वादिष्ट परिकार खाने, घर सफा गर्ने । यी सबैले चाडको रमाइलो अझै बढाउँछ। तर चाडपर्वको रमझमसँगै फोहोर पनि अत्यधिक मात्रामा उत्पादन हुन्छ। हामी सचेत नभए यो फोहोरले हाम्रो वरिपरिको वातावरणलाई प्रदूषित गर्ने मात्र होइन, हाम्रो स्वास्थ्यमा समेत नकारात्मक असर पार्न सक्छ।
त्यसैले दशैंलाई अझै स्वच्छ, रमाईलो र उल्लासमय बनाउन अब हामीले फोहोर व्यवस्थापनमा ध्यान दिनैपर्छ।
यसो गरौं, जसले दशैंलाई अझ उल्लासमय बनाउँछ
थोरै तर आवश्यक सामान मात्र किन्ने
दशैंमा बजारमा भीडभाड हुन्छ। नयाँ कपडा, जुत्ता, सरसामान देख्दा धेरैलाई “यो पनि चाहिन्छ, त्यो पनि चाहिन्छ” भन्ने लाग्छ। तर आवश्यक भन्दा बढी किनमेल गर्दा खर्च मात्र बढ्दैन, प्रयोग नहुने वस्तुहरू घरमा थुप्रिन्छन् र अन्ततः फोहोर बन्छन्। त्यसैले पहिले नै ‘के किन्नैपर्छ ?’ भन्ने सूची बनाऔं र त्यसकै आधारमा विवेकपूर्ण तरिकाले खरिद गरौँ। यसरी योजना बनाएर मात्र किनमेल गर्दा चाड रमाइलो पनि हुन्छ र अनावश्यक फोहोर पनि घरमा जम्मा हुँदैन ।
पुनः प्रयोग गर्न मिल्ने झोला र भाँडा प्रयोग गर्ने
चाडमा मासु, तरकारी, फलफूल खरिद गर्दा वा उपहार पठाउँदा प्रायः प्लास्टिक झोलामा भर पर्छौँ। तर एकैपटक प्रयोग हुने प्लास्टिक झोला सजिलै नष्ट हुँदैनन् र वातावरणलाई दीर्घकालीन प्रदूषण निम्त्याउँछन्। त्यसैले बजार जाँदा कपडाको झोला वा डोको, टोकरी बोकेर जाने बानी बसालौँ। त्यसैगरी परिवारजन वा पाहुनालाई खान खुवाउँदा डिस्पोजेबल प्लेट र चम्चा प्रयोग गर्नुको सट्टा स्टील, ग्लास वा माटोका भाँडाको प्रयोग गर्दा धेरै फोहोर उत्पादन हुनबाट रोक्न सकिन्छ।
जैविक फोहोर छुट्टै संकलन गर्ने
दशैंमा घरमा मासु, तरकारी, फलफूल बढी प्रयोग हुन्छ। यसबाट हड्डी, बोक्रा, पात, बीउ जस्ता धेरै जैविक फोहोर निस्कन्छ। यी सबैलाई प्लास्टिक वा धातुजन्य फोहोरसँग मिसाउनुभन्दा छुट्टै ड्रम वा खाल्डोमा जम्मा गरेर कम्पोस्ट बनाउन सकिन्छ। यसरी बनेको मललाई बगैंचामा प्रयोग गर्दा माटो उर्वर हुन्छ। यसले वातावरण स्वच्छ राख्ने मात्र होइन, उत्पादनशील उपयोगमा पनि काम लाग्छ।
बाँकी खाना सदुपयोग गर्ने
दशैंमा धेरैजसो घरमा पाहुनाको ओइरो लाग्छ। त्यसैले खानपिन पनि बढी हुन्छ र प्रायः खाना बाँकी पर्छ। बाँकी खाना फाल्नुको सट्टा अर्को दिन पुनः तताएर खान सकिन्छ वा छिमेकी वा आवश्यकता भएकाहरूसँग बाँडेर सहभोज गर्न सकिन्छ। यसरी खाना सदुपयोग गर्दा एकातिर फोहोर कम हुन्छ भने अर्कोतिर मानवीय सम्बन्ध र आपसी सहयोगको भावना पनि बलियो हुन्छ।
फोहोर व्यवस्थापनको नियम पालना गर्ने
चाडपर्वमा सामान्य दिनभन्दा धेरै फोहोर उत्पादन हुन्छ। यसलाई व्यवस्थित गर्न स्थानीय तहले तोकेको समय, स्थान र तरिकामा फोहोर संकलन गर्नुपर्छ। नगरपालिकाले तोकेको दिनमै फोहोर बाहिर राख्ने, छुट्याएर दिने, खुला ठाउँमा नफ्याँक्ने । यी सबै सजगता पालना गर्न सके सामूहिक सरसफाइ सजिलो हुन्छ। यसरी हामीले आफ्नो घर मात्र होइन, वरिपरि सम्पूर्ण गाउँ–सहरलाई स्वच्छ बनाउन योगदान दिन सक्छौँ।
हो, दशैंको मूल भावना खुशी बाँड्ने, परिवार र समाजलाई जोड्ने हो। यदि हामीले फोहोर कम गर्ने सजग बानी अपनायौं भने चाडपर्व अझै सुखद, स्वस्थ र दिगो बन्न सक्छ। हामी सबैले वातावरणमैत्री व्यवहार अपनाउने हो भने चाडपर्वकै कारण थुप्रिने फोहोरलाई न्यूनीकरण गर्न सक्छौं।


341 पटक हेरिएको 

