
पृष्ठभूमि :
नेपालमा जलवायुजन्य विपद्हरु बाढी, पहिरो, हिमताल बिस्फोट, खडेरीको उच्च जोखिम भएकोले विपद् पुर्व तयारी र प्रतिकार्य सुधार गर्न पुर्व चेतावनी प्रणाली (Early Warning System – EWS) अत्यन्तै महत्वपूर्ण रहेको छ। यो प्रणालीले जोखिममा रहेका समुदायहरूलाई समयमै सूचना दिन्छ, जसले जनधनको क्षति घटाउन सहयोग पुर्याउँछ।
बहु–जोखिम पूर्व चेतावनी प्रणालीको कार्यान्वयनले समुदायको उत्थानशीलता बढाउन र सम्भावित जोखिम न्यूनीकरण गर्न महत्वपूर्ण भूमिका खेल्दछ। यो प्रणालीले छिटो सूचना प्रवाह गर्न सक्ने भएकाले समुदायहरूलाई आसन्न खतरा सामना गर्न सजिलो हुन्छ। जब प्रविधि र स्थानीय ज्ञानलाई एकीकृत गरिन्छ, तब पूर्व चेतावनीहरू समाजका सबै तहमा पुग्न सक्छन्। यसले बिपद् पूर्व तयारीको संस्कृतिको विकास गर्छ, प्रतिकार्य क्षमता बढाउँछ र जनधनको क्षति घटाउँछ।
सेप्टेम्बर २०२४ र अक्टोबर २०२५ को अत्यधिक वर्षा, बढ्दो बर्षाको तीव्रता र त्यसबाट उत्पन्न बाढी तथा पहिरोका घटनाहरूले नेपालमा बढ्दो जलवायु परिवर्तनका कारण उत्पन्न विपद् व्यवस्थापनको चुनौती देखाउँछ।
नेपाल सक्रिय विपद् जोखिम न्यूनीकरण एवं व्यवस्थापनको दिशामा क्रमशः अघि बढिरहेको देखिन्छ, जसले समुदायको सहभागिता र प्रविधिको प्रयोगलाई प्राथमिकतामा राख्दछ। यस्तो परिवर्तनले जोखिम न्यूनीकरणको दिगो उपायलाई आत्मसाथ गर्दछ, जहाँ समुदायहरू केवल सूचित मात्र होइन, आफ्नै सुरक्षा सम्बन्धी निर्णयमा सहभागी पनि हुन्छन्।
प्रविधि र स्थानीय सहभागिताको सन्तुलनमा आधारित समग्र विपद् व्यवस्थापन रणनीतिको विकास गर्न आवश्यक छ। यो नेपालले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन अन्तर्गत बहु–जोखिम पूर्व चेतावनी प्रणाली निर्माण गर्ने प्रतिबद्धतालाई आत्मसाथ गर्छ। यस्तो प्रतिबद्धताले पूर्व तयारी, प्रतिकार्य, र पुनःस्थापना सहितको समग्र विपद् जोखिम न्यूनीकरण एवं व्यवस्थापनको अभ्यासको आवश्यकता बुझाउँछ।
समयमै दिइने चेतावनीहरूले विपद् प्रभाव घटाउन मद्दत गर्छ, जसले समुदायहरूलाई योजना बनाउन र प्रभावकारी रूपमा प्रतिक्रिया दिन सक्षम बनाउँछ। चेतावनीहरू उपयुक्त माध्यमबाट प्रवाह गरिनु आवश्यक छ, ताकि तिनीहरूको प्रभाव र पहुँच अधिकतम होस्।
जलवायु परिवर्तनका कारण बढ्दो बिपद् जोखिमहरूलाई सामना गर्न नेपालमा पूर्व चेतावनी प्रक्रियामा समुदायको पूर्ण सहभागिता अनिवार्य छ। यस्तो सहभागिताले सामाजिक एकता बलियो बनाउँछ र विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यक्रमहरूको प्रभावकारिता बढाउँछ।
नेपालमा हालैको भारी वर्षा र उत्पन्न बिपद्
हालसालै सन् २०२५ को अक्टोबर ३ र ४ मा विशेषगरी नेपालका मध्य तथा पूर्वी क्षेत्रमा आएको विनाशकारी वर्षा र त्यसको कारण उत्पन्न बाढी तथा पहिरोका घटनाहरुद्वारा उत्पन्न क्षति प्रति सरकारले तुलनात्मक रुपमा संवेदनशीलता देखाएको देखिन्छ। मुख्य गरी सरकारले निम्न बमोजिम पाँच वटा क्षेत्रलाई प्राथमिकतामा राखेको देखियो।

√ प्रभावकारी पूर्वानुमान एवं सम्भावित विपद् बारे पुर्व जानकारी एवं पूर्व चेतवानी
√ विपद्मा तत्काल तथा सक्रिय प्रतिकार्य
√ दुई दिन सार्वजनिक बिदा
√ तीन दिन सार्वजनिक यातायात बन्द
√ मुख्य प्रभावित क्षेत्र एवं विस्थापितहरुको स्थलगत अनुगमन एवं राहत तथा पुनर्स्थापना
विपदबाट सिकिएका पाठहरू आगामी योजना तथा रणनीतिहरूमा समावेश गर्नुपर्छ, विशेष गरी विपदबाट उत्पन्न अवस्था सुधार गर्न।
सरकारले उक्त बिपद्बाट उत्पन्न क्षति सक्दो कम होस् भनी विपद् बारे पूर्व चेतावनी सुचनाहरु विभिन्न मध्यम मार्फत समुदायस्तरमा पुग्ने गरी सम्प्रेषण गरेको देखिन्छ र विभिन्न सञ्चार माध्यममा प्रकाशित समाचार अनुसार सरकारले विपद् पूर्व तयारी एवं प्रतिकार्यमा केही सुधार गरेकाले सम्भावित क्षतिमा कमी आएको देखिन्छ। तथापि कोशी प्रदेश, मधेश प्रदेश, काठमाडौ लगायत विभिन्न क्षेत्रहरुमा बाढी, पहिरो र नदीको बहावले जनधनको ठूलो क्षति पुर्याएको छ।
यी घटनाहरूले प्रभावकारी पूर्व सूचना एवं चेतावनी प्रणाली र समुदायस्तरको तयारीको आवश्यकता झल्काउँछ। साथै यस्ता विपद्का घटनाहरूले बिपद्को पूर्व चेतावनी प्रणालीलाई अझ प्रभावकारी बनाउन आवश्यकता देखाउँछ, विशेष गरी जोखिमपूर्ण समुदायहरूको सुरक्षाका लागि समयमै सूचना सम्प्रेषण र प्रभावित समुदायको सहभागितामा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको अत्यावश्यक छ।
सेप्टेम्बर २०२४ र अक्टोबर २०२५ को अत्यधिक वर्षा, बढ्दो बर्षाको तीव्रता र त्यसबाट उत्पन्न बाढी तथा पहिरोका घटनाहरूले नेपालमा बढ्दो जलवायु परिवर्तनका कारण उत्पन्न विपद् व्यवस्थापनको चुनौती देखाउँछ। यी लगातारका घटनाहरूले विपद् पूर्व तयारी र प्रतिकार्य प्रणालीहरूलाई निरन्तर सुधार गर्नुपर्ने आवश्यकता देखाउँछ।
तथ्यगत रुपमा अघिल्लो बर्ष र यस बर्षको तुलना गर्न अहिले नै हतारो होला, तर विपदबाट सिकिएका पाठहरू आगामी योजना तथा रणनीतिहरूमा समावेश गर्नुपर्छ, विशेष गरी विपदबाट उत्पन्न अवस्था सुधार गर्न। यसका लागि तीनै तहका सरकारी निकायहरू, गैरसरकारी एवं निजी क्षेत्र तथा स्थानीय समुदायहरू र अन्तर्राष्ट्रिय साझेदारहरू बीच समन्वय एवं सहकार्य आवश्यक छ, साथै स्रोत र सम्वन्धित ज्ञानको प्रभावकारी प्रयोग हुन जरुरी देखिन्छ।
हालको प्रणालीमा सीमितता
विपद् पूर्व तयारी एवं प्रतिकार्य सुधार गर्न निरन्तर सिकाइ र प्रणालीगत सुधार आवश्यक छ। हालका सीमितताहरू जस्तै विपद्को अवस्थामा प्रभावकारी सञ्चार सुबिधामा समस्या, स्थानीयस्तरमा साधन, स्रोत र क्षमताको कमी र अपर्याप्त समुदायको पहुँचहरुको प्रभावकारी समाधान हुनुपर्दछ। यी कमजोरीहरूले विशेष गरी जोखिम क्षेत्रहरूमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्रयासहरूलाई कमजोर बनाउन सक्छन्।
सुधारका उपायहरु
• बहु-पक्षीय सहकार्य : तीनै तहका सरकार, गैरसरकारी एवं निजी क्षेत्र, संचार क्षेत्र, विकाश साझेदार र समुदाय बीच साझेदारी एवं सहकार्य।
• क्षमता विकास : विपद्को अवस्थामा प्रभावकारी सञ्चार र पुर्व तयारीमा केन्द्रित समुदायको क्षमता विकास कार्यक्रमहरूमा लगानी। साथै विपद् प्रतिकार्य, राहत तथा पुनर्स्थापना सम्वन्धी कार्य अझ प्रभावकारी बनाउन जिम्मेवार मुख्य निकायहरुको क्षमता विकास।
• प्रविधिको उच्चतम प्रयोग : तत्कालै निगरानी र मोबाइल तथा अन्य संचारका मध्यम मार्फत पुर्व सूचना एवं चेतावनी प्रणाली विस्तार र व्यापक प्रयोग। बिशेष गरी महिला, बालबालिका, अपांगता भएका व्यक्ति, सिमान्तकृत र भौगोलिक रुपमा जोखिममा रहेकाहरू समूह लक्षित पूर्व सावधानी तथा चेतवानी सूचना सम्प्रेषण।
• ज्ञान सह-उत्पादन : वैज्ञानिक मौषम पूर्वानुमानलाई स्थानीय ज्ञानसँग जोड्दै विपद् पूर्व तयारीलाई प्रभावकारी बनाउने।
• जलवायु उत्थानशील तथा समाबेशी पूर्वाधार बिकास : स्थानीय ज्ञानको प्रयोग गर्दै समाबेशी तथा जलवायु उत्थानशील पूर्वाधारको योजना निर्माण तथा विकाशमा जोड दिन आवश्यक देखिन्छ।

निष्कर्ष र सुझाव
नेपालले बिगतका र हालसालैका विपद्का घटनाहरु बाट पाठ सिक्दै भविश्यमा हुनसक्ने विपद् जोखिमहरूको न्यूनीकरण गर्न पूर्व चेतावनी प्रणाली, पूर्व तयारी एवं प्रतिकार्य, राहत तथा पुनर्स्थापना कार्यमा विशेष गरी स्थानिय तह तथा समुदाय र सम्वन्धित निकायहरुको क्षमता विकासमा निरन्तर लगानी गर्न आवश्यक छ।
यी प्रणालीहरूलाई बलियो बनाउनु केवल प्रविधि विकासको कुरा मात्र होइन, वर्तमान आवश्यकता पनि हो। जलवायुजन्य जोखिमहरू तीव्र हुँदै गएका कारण प्रविधि र स्थानीय ज्ञानको एकीकृत योजना र प्रभावकारी क्षमता विकासले दीगो उत्थानशीलता र स्थानीय जलवायु अनुकुलन क्षमता निर्माणमा सहयोग पुर्याउँछ। यसले समुदायहरूलाई जलवायु परिवर्तन बाट उत्पन्न बिपद् सँग जुझ्न सक्षम बनाउँछ। साथै प्रभावकारी बहु-पक्षीय समन्वय एवं सहकार्य अत्यावश्यक देखिन्छ।
ई. रेशम जंग सिंह
(लेखक, लामो समय देखि पुर्वाधार विकासमा कार्यरत र जलवायु परिवर्तन एवं विपद् व्यबस्थापनमा बिध्यावारिधि गरिरहनु भएको छ)


788 पटक हेरिएको 

