
हेटौंडा : हेटौंडा उपमहानगरपालिका ४ का बद्री विक्रम थापालाई पाँच बर्ष पहिले सम्म अपाङ्गता भएका व्यक्तिहरुले भोग्नुपर्ने समस्याहरुका बारेमा त्यत्ति धेरै ज्ञान थिएन । ह्वील चेयरमा गुडिरहेका मानिसहरु देख्दा सहानुभूति जागेपनि दैनिक जीवन यत्ति धेरै कष्टकर होला भन्ने सोचेको पनि थिएन ।
स्पाइनल कर्ड इन्जुरी भएका व्यक्तिहरुले प्रयोग गर्ने सिआईसी क्याथेटर, डाइपर, युरिन ब्याग, स्यानिटरी प्याड र टिस्यु पेपर जस्ता सरसफाइ सामग्रीलाई सरकारले निशुल्क उपलब्ध गराउनुपर्छ।
ह्वील चेयर जब आफ्नै सहयात्री बन्न थाल्यो, त्यसपछि बल्ल अनुभूत गर्न थाल्नुभयो कि यहाँ त ह्वील चेयरले लगाउने फन्का सँगै समस्याहरु पनि घुम्दोरहेछ । भनिन्छ नि ‘देखेको संसार भन्दा भोगेको संसार धेरै फरक हुन्छ ।’
पाँच बर्ष अघि सवारी दुर्घटनामा परेपछि उहाँलाई मेरुदण्डको पक्षघात (स्पाइनल कर्ड इन्जुरी) भएको हो । जीवनमा कहिल्यै लौरो समेत नटेकेका थापाको मेरुदण्ड पक्षघात भएपछि ह्वील चेयर नै सहयात्री बन्न थाल्यो ।
थापाको भोगाईले भन्छ ‘मेरुदण्ड पक्षघात भएका बिरामीलाई आवातजावत गर्न भन्दा पनि दिसापिसाब गर्न सबैभन्दा बढी समस्या छ ।’ उहाँ भन्नुहुन्छ ‘पिसाब कन्ट्रोल नहुने व्यक्तिहरुले सिआईसी क्याथेटर अनिवार्य प्रयोग गर्नुपर्छ । अन्यको हकमा पनि पिसाब थैली (युरिन ब्याग) नै प्रयोग गर्नुपर्छ । युरिन ब्यागको पनि सरसफाइ नहुने वित्तिकै त्यही बाट अर्को रोगको संक्रमण सुरु हुन्छ । बेला बेलामा पिसाबको संक्रमण भईरहन्छ ।’
उहाँका अनुसार एक त युरिन व्याग सहज तरिकाले प्राप्त हुँदैन । किनभने नेपाल सरकारले निशुल्क उपलब्ध गराउने औषधीको सूचीमा युरिनल व्यागलाई समावेश गरिएको छैन । जसले गर्दा छुट्टै किन्नुपर्छ । सरकारले आधारभूत अस्पताल तथा प्राथमिक स्वास्थ्य केन्द्रबाट ९८ प्रकारको औषधी निशुल्क उपलब्ध गराउँदै आएको छ ।
सार्वजनिक शौचालयमा पहुँचयोग्य संरचना नहुँदा पनि आफूहरुले धेरै समस्या व्यहोर्नु परेको उहाँको अनुभव छ ।
युरिन व्यागको पाइप डाइरेक्ट पिसाब नली भित्र हाल्नुपर्ने भएकाले सरसफाइमा ध्यान दिन नसके विभिन्न संक्रमण हुने जोखिम रहेको उहाँले बताउनुभयो । युरिन ब्याग सहजै उपलब्ध नहुँदा कतिपय व्यक्तिले लामो समयसम्म प्रयोग गर्ने र यसको सफाइमा ध्यान नदिँदा पिसाबको संक्रमण तथा पथरी हुने जस्ता विभिन्न स्वास्थ्य समस्याहरु सिर्जना हुने उहाँको अनुभव छ ।
‘युरिन व्याग सँगै सफा गर्न जेली र बेटाडिन लगायत औषधी चाहिन्छ, जुन सहज तरिकाले उपलब्ध हुँदैन’ उहाँ भन्नुहुन्छ ‘युरिन व्याग एक लिटर क्षमताको हुन्छ । एक लिटर भएपछि सुरक्षित तरिकाले विसर्जन गर्नुपर्छ । यसको टिकाउपन बढीमा १५/२० दिनको भएपनि महिनौं दिनसम्म पनि प्रयोग गर्नुपर्ने बाध्यता छ ।’ जुन स्वास्थ्यको दृष्टिले निक्कै जोखिमपूर्ण मानिन्छ ।
नेपाल सरकारले स्पाइनल कर्ड इन्जुरी भएका व्यक्तिहरुलाई २०७८ भदौ देखि मासिक ५ हजार रुपैयाँ औषधी उपचार खर्च प्रदान गर्दै आएको छ । तर त्यो सहज रुपमा पाउन नसकेको र जीवन निर्वाह भत्ता वा औषधी उपचार खर्च मध्ये एउटा मात्र लिनुपर्ने नियमले आफूहरु समस्यामा परेको उहाँको भनाइ छ ।
सार्वजनिक शौचालयमा पहुँचयोग्य संरचना नहुँदा पनि आफूहरुले धेरै समस्या व्यहोर्नु परेको उहाँको अनुभव छ । मापदण्ड बमोजिम निर्माण नभएका संरचनाका कारण कतै ह्वील चेयर गुडाउनै नमिल्ने, कतै गुडाउन मिले पनि ढोकाबाट नछिर्ने र कथंकदाचित ढोकाबाट प्रवेश भैहालेछ भने पनि शौच गर्ने ठाउँमा कम्मोडको व्यवस्था नहुँदा सरसफाइ सेवाबाटै वञ्चित हुनुपरेको उहाँको भनाइ छ ।
‘अपाङ्गता भएका हुनाले हामी शारीरिक रुपमा त्यसै पनि कमजोर छौं, झनै हामीलाई चाहिने खालको संरचना नहुँदा दुर्घटना हुने, घाउ चोटपटक लाग्ने र ज्यानै जाने खतरा पनि छ, यसतर्फ सम्बन्धित सबैको ध्यान जानुपर्छ’ उहाँले भन्नुभयो ।
स्पाइनल कर्ड इन्जुरी भएका व्यक्तिहरुले प्रयोग गर्ने सिआईसी क्याथेटर, डाइपर, युरिन ब्याग, स्यानिटरी प्याड र टिस्यु पेपर जस्ता सरसफाइ सामग्रीहरुलाई सरकारले निशुल्क उपलब्ध गराउने औषधीको सूची भित्र समावेश गरी उपलब्ध गराएको खण्डमा पनि आफूहरुलाई धेरै राहत पुग्ने उहाँको भनाइ छ ।


237 पटक हेरिएको 

