राष्ट्रिय खानेपानी तथा सरसफाइ अनुसन्धान केन्द्र र एन्फो बीच सहयोग सम्झौता

  वास खबर सम्बाददाता  767 पटक हेरिएको
🔗
154
Shares

भक्तपुर : राष्ट्रिय खानेपानी तथा सरसफाइ अनुसन्धान, नवप्रवर्तन तथा क्षमता विकास केन्द्र (NWSSRICDC) र वातावरण र जनस्वास्थ्य संस्था (ENPHO) बीच सहयोग सम्झौता (Agreement of Cooperation – AOC) भएको छ। खानेपानी, सरसफाइ र स्वच्छता (WASH) क्षेत्रमा क्षमता विकास, ज्ञान व्यवस्थापन तथा प्रविधि आदान–प्रदानमा सहकार्य गर्न दुई संस्थाबीच सम्झौता भएको हो ।

सम्झौता पत्रमा राष्ट्रिय खानेपानी तथा सरसफाइ अनुसन्धान, नवप्रवर्तन तथा क्षमता विकास केन्द्रका प्रमुख ई.राम कुमार श्रेष्ठ र वातावरण र जनस्वास्थ्य संस्था एन्फोका कार्यकारी निर्देशक भावना शर्माले हस्ताक्षर गर्नुभयो।

बिहीबार भएको सम्झौता अनुसार दुवै संस्थाले सुरक्षित रूपमा व्यवस्थापित पानी र सरसफाइ सेवा विस्तारका लागि मानव मलमूत्र व्यवस्थापन (FSM), फोहोरपानी व्यवस्थापन (WWM), ठोस फोहोर व्यवस्थापन (SWM) र नगरव्यापी समावेशी सरसफाइ (CWIS) सम्बन्धी कार्यक्रमहरूमा संयुक्त रूपमा काम गर्नेछन्।

‘यो सम्झौताले दुवै पक्षबीचको सहकार्यलाई औपचारिक रूप दिन र नेपालमा सुरक्षित रूपमा व्यवस्थापित पानी र सरसफाइ सम्बन्धी (FSM, WWM, SWM, CWIS) क्षेत्रमा क्षमता विकास, ज्ञान व्यवस्थापन तथा अन्य प्राविधिक सहकार्यका कार्यहरू कार्यान्वयन गर्न सहकार्यको ढाँचा तयार पार्ने उद्देश्य राख्दछ’ सम्झौतामा भनिएको छ।

राष्ट्रिय खानेपानी तथा सरसफाइ अनुसन्धान, नवप्रवर्तन तथा क्षमता विकास केन्द्रले सरोकारवालाहरूको क्षमता अभिवृद्धि गरी WASH क्षेत्रमा दक्ष मानव स्रोत विकास गर्ने उद्देश्य राखेको छ। यसै सन्दर्भमा एन्फो सँगको सहकार्यबाट तालिम सामग्री विकास, भर्चुअल तालिम सुविधा विस्तार र अनलाइन लर्निङ म्यानेजमेन्ट सिस्टम मार्फत ज्ञान आदानप्रदान गर्ने कार्य अघि बढाइनेछ।

सम्झौता अनुसार एन्फोले तालिम सामग्री र ज्ञान उत्पादनहरू तयार गरी समीक्षा तथा सुधारका लागि NWSSRICDC सँग सहकार्य गर्नेछ। ती सामग्रीहरू अन्ततः NWSSRICDC को संस्थागत सम्पत्तिका रूपमा हस्तान्तरण गरिनेछन्। साथै, एन्फोले राष्ट्रिय WASH रिपोजिटरी निर्माण गरी WASH सम्बन्धी स्रोतहरू व्यवस्थित गर्नेछ र ती सामग्रीहरू NWSSRICDC को डोमेन मार्फत सार्वजनिक गरिनेछ।

यसैगरी, NWSSRICDC ले एन्फो द्वारा विकास गरिएका तालिम सामग्री र ज्ञान उत्पादनहरू अनुमोदन गरी वार्षिक तालिम कार्यक्रम अन्तर्गत समावेश गर्नेछ। साथै, केन्द्रले आफ्नै परिसरमा भर्चुअल तालिम सुविधा स्थापना गर्नका लागि स्थान उपलब्ध गराउने र अनलाइन तालिम सञ्चालनका लागि आवश्यक प्राविधिक सहयोग गर्नेछ।

सम्झौता अन्तर्गत दुवै संस्थाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा क्षमता विकास कार्यक्रम, अनुसन्धान तथा सिकाइ–साझेदारी गतिविधि संयुक्त रूपमा आयोजना गर्ने सहमति जनाएका छन्।

दुवै संस्थाबीच भएको उक्त सम्झौता २०८२ साल असोज २३ गतेदेखि २०८४ साल असोज २२ गतेसम्म (९ अक्टोबर २०२५ देखि ९ अक्टोबर २०२७ सम्म) लागू हुने भएको छ। आपसी सहमतिमा सम्झौताको अवधि थप गर्न सकिने सम्झौतामा उल्लेख गरिएको छ।

सम्झौताले नेपालमा दिगो, समावेशी र वातावरणमैत्री खानेपानी तथा सरसफाइ प्रणाली सुदृढ गर्न योगदान पुर्‍याउने दुवै संस्थाको विश्वास रहेको छ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार