
पर्सा : हैजा संक्रमण देखिएको डेढ महिनापछि वीरगन्ज महानगरपालिकासहित पर्सा जिल्लाका १४ वटै स्थानीय तहमा हैजाविरुद्धको खोप कार्यक्रम सञ्चालन गरिने भएको छ।
जिल्ला स्वास्थ्य कार्यालय पर्साले शनिबार वीरगन्जमा आयोजना गरेको ‘हैजा रोगको महामारीविरुद्ध प्रतिकार्य खोप åअभियान सञ्चालनबारे जिल्लास्तरीय सरोकारवालाको अभिमुखीकरण कार्यक्रम’मा आजदेखि खोप अभियान सुरु हुने जानकारी दिइयो।
विश्व स्वास्थ्य संगठन ९ध्ज्इ० नेपालका चिकित्सक डा। पवन उपाध्यायले विश्व स्वास्थ्य संगठनले जिल्ला स्वास्थ्य कार्यालयको समन्वयमा यो अभियान सञ्चालन गर्न लागेको बताउनुभयो। उहाँका अनुसार आइतबारदेखि कात्तिक २ गतेसम्म पर्साका १४ वटै स्थानीय तहमा एकैसाथ यो कार्यक्रम सञ्चालन हुनेछ।
उपाध्यायका अनुसार पर्सासँग सीमा जोडिएका बाराका कलैया र जीतपुर सिमरा उपमहानगरपालिका, परवानीपुर, प्रसौनी, फेटा र बिश्रामपुर गाउँपालिका गरी झन्डै आधा दर्जन स्थानीय तहमा पनि यो खोप कार्यक्रम सञ्चालन गर्न लागिएको हो।
जिल्ला स्वास्थ्य कार्यालय पर्साका अधिकृत जयमोद ठाकुरले तोकिएका खोप केन्द्रहरू मार्फत र घरघरमै पुगेर पनि यो खोप लिन सकिने बताउनुभयो। उहाँले यो खोप पूर्ण रूपमा सुरक्षित रहेको दाबी गर्दै भारतबाट नेपाल प्रवेश गर्नेहरू, सरकारी कार्यालयमा सेवा लिन आउने सर्वसाधारण, अदालतका सेवाग्राही तथा बसपार्कमा भेटिने यात्रुहरूलाई पनि खोप दिने लक्ष्य रहेको बताउनुभयो।
उहाँका अनुसार भदौ ५ गतेदेखि वीरगन्जमा हैजा संक्रमण देखिएको हो। त्यसयता विभिन्न अस्पतालहरूमा १ हजार ५ सय ६७ जना झाडापखाला तथा हैजाका बिरामी उपचारका लागि पुगेका थिए, जसमा २ सय २७ जनामा हैजा संक्रमण पुष्टि भएको छ। पोखरिया नगरपालिकामा पनि १८ जनामा हैजा पुष्टि भएको उहाँले जानकारी दिनुभयो।
हालसम्म संकलन गरिएका नमूनाहरूको परीक्षणमा वीरगन्जका विभिन्न स्थानका पानीमा हैजाको जीवाणु नदेखिएको पनि ठाकुरले बताउनुभयो। उहाँका अनुसार १ वर्षदेखि माथि उमेरका सबै व्यक्तिले यो खोप लिन सक्नेछन्। मुखबाट सेवन गर्न सकिने यो खोप १ वर्षसम्म करिब ८० प्रतिशतसम्म प्रभावकारी हुने उहाँले दाबी गर्नुभयो।
आज आइतबार जिल्ला प्रशासन कार्यालय पर्सामा औपचारिक रूपमा खोप अभियानको उदघाटन गरिने भएको छ। उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारीसहित करिब २५० जना उच्च पदस्थ सरकारी अधिकारी र सरोकारवालाले खोप लिएर कार्यक्रमको उदघाटन गर्ने तयारी गरिएको ठाकुरले बताउनुभयो।
उहाँका अनुसार, यसअघि सञ्चालन भएका अन्य खोप कार्यक्रमहरूमा खटिएका स्वास्थ्यकर्मी नै यस पटक पनि खटिने छन्। पर्सा जिल्लामा ६ लाख ५२ हजार १ सय २९ जनालाई यो खोप दिने लक्ष्य राखिएको छ।


257 पटक हेरिएको 

