
वीरगन्ज : डेढ महिनाअघि हैजाको महामारी फैलिएको वीरगन्ज महानगरपालिकासहित पर्साका १४ वटै पालिकामा आइतबारदेखि हैजाविरुद्धको खोप अभियान सुरु गरिएको छ।
आइतबार जिल्ला प्रशासन कार्यालय पर्सामा प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीलाई खोप खुवाएर खोप अभियान सुरु गरिएको हो। जिल्ला प्रशासन कार्यालय पर्साकै परिसरमा स्वास्थ्य कार्यालय पर्साले आयोजना गरेको हैजा विरुद्धको प्रतिकार्य खोप अभियानको शुभारम्भ कार्यक्रममा स्वास्थ्यकर्मीको हातबाट प्रजिअ सुवेदीले खोप खाएर अभियानको सुरुवात गरेको स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले जानकारी दिनुभयो।
खोप अभियानको शुभारम्भ कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा। अभियान गौतम, नेपाल चिकित्सक संघ नारायणी शाखाका अध्यक्ष डा। मनोज कुमार गुप्ता, नेपाल प्रहरीका प्रहरी उपरीक्षक सुदीप राज पाठक, सशस्त्र प्रहरी परीक्षक पुरनचन्द्र भट्ट लगायतले पनि खोप सेवन गर्नुभयो।
पर्साको वीरगन्ज महानगरमा सुरुमा गत भदौ ६ गते ३ जना झाडापखालाका बिरामीमा हैजाको संक्रमण पुष्टि भएको थियो। त्यसयता असोज २३ सम्म वीरगन्जका विभिन्न अस्पतालमा गरी १ हजार ५ सय ६७ जना झाडापखाला र हैजाका बिरामी उपचारार्थ आएकोमा तीमध्ये २ सय ४५ जनामा हैजाको संक्रमण पुष्टि भएको थियो।
नारायणी अस्पतालका सूचना अधिकारी डा। उदयनारायण सिंहका अनुसार अस्पतालमा अहिले हैजाको संक्रमण पुष्टि भएका बिरामी एक जना पनि उपचाररत नरहेपनि अहिले पनि दैनिक चार पाँच जना झाडापखालाका बिरामीहरू उपचारका लागि आइरहेका छन्।
डेढ महिना पहिले फैलिएको हैजाको प्रकोप पूर्ण रूपमा नियन्त्रणमा अझै आइनसकेको र फेरि हैजाको संक्रमण फैलिन नदिने उद्देश्यले पर्सामा विश्व स्वास्थ्य संगठनको सहयोगमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबारदेखि हैजाविरुद्धको खोप अभियान सञ्चालन गरेको हो।
आइतबारदेखि सुरु भएको यो खोप अभियान कात्तिक २ गतेसम्म चल्नेछ। यस अभियानमा जिल्लाभरका १ वर्षमाथि उमेरका ६ लाख ५४ हजार जनालाई हैजा विरुद्धको खोप खुवाउने लक्ष्य रहेको जनस्वास्थ्य अधिकृत ठाकुरले जानकारी दिनुभयो।
आइतबारदेखि सुरु खोप अभियान अन्तर्गत जिल्लाका १४ वटै पालिका कार्यालय, सबै वडा कार्यालय, सरकारी तथा निजी अस्पताल, सबै सामुदायिक तथा निजी विद्यालय, कलेज, सबै सरकारी कार्यालय, गैरसरकारी संघसंस्थाका कार्यालय, नियमित खोप सेवा सञ्चालन हुँदै आएका बाह्य खोप केन्द्रहरू, मन्दिर, मस्जिद, चर्च, गुम्बा, बसपार्क, नेपाल भारत सीमा नाका, उद्योग कलकारखाना सबैमा खोप केन्द्र स्थापना गरेर खोप खुवाउन थालिएको ठाकुरले बताउनुभयो।
यस्तै पर्साको छिमेकी जिल्ला बारामा भने सोमबारदेखि हैजा विरुद्धको खोप अभियान सुरु गरिने हुनेछ। पर्साको वीरगन्ज महानगरसँग सीमा जोडिएका बाराको कलैया र जितपुरसिमरा उपमहानगरपालिका, परवानीपुर, प्रसौनी, फेटा र विश्रामपुर गाउँपालिका गरी ६ वटा पालिकामा पनि सोमबारदेखि हैजाविरुद्धको खोप अभियान सञ्चालन गरिने खबर अन्नपूर्ण पोष्टले प्रकाशन गरेको छ।


224 पटक हेरिएको 

