
काठमाडौं : उपराष्ट्रपति रामसहाय प्रसाद यादवले विश्व हात धुने दिवस २०२५ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा स्वच्छ, सुरक्षित र स्वस्थ जीवनका लागि हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ।
उहाँले जारी गर्नुभएको सन्देशमा स्वच्छता र स्वास्थ्यप्रति सजग रहन विश्व हात धुने दिवसले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै, साबुन र पानीको प्रयोग गरी नियमित रूपमा हात धुने बानी अपनाउन सबैलाई आग्रह गर्नुभएको छ।
सन्देशमा उहाँले भन्नुभएको छ, “हात धुनु हैजा, डायरिया, रुघाखोकी, निमोनिया लगायतका संक्रमणजन्य रोगहरूबाट बच्ने सजिलो, सस्तो र प्रभावकारी उपाय हो।” उहाँले खाना पकाउनु र खानुअघि, शौचालय प्रयोग गरेपछि, खोक्दा वा हाछ्युँ गर्दा तथा नाक छोएपछि साबुनपानीले कम्तीमा २० सेकेण्डसम्म हात धुनुपर्ने आवश्यकता औंल्याउनुभएको छ।
उपराष्ट्रपति यादवले नियमित हात धुने अभ्यासले व्यक्तिगत स्वास्थ्य सुधारसँगै समुदायलाई रोगमुक्त बनाउन सहयोग पुग्ने उल्लेख गर्दै स्वच्छतालाई स्वास्थ्यको आधारका रूपमा अंगिकार गर्न सबैलाई आग्रह गर्नुभएको छ।
“स्वच्छता नै स्वास्थ्यको आधार हो,” उहाँले सन्देशमा उल्लेख गर्नुभएको छ, “नियमित हात धुनुले कुपोषण, स्वास्थ्य समस्या तथा अन्य रोगहरूको न्यूनीकरणमा मद्दत पुर्याउँछ र सामाजिक लाभ, आर्थिक बचत तथा दीर्घकालीन स्वास्थ्य सुरक्षाको सुनिश्चितता प्रदान गर्दछ।”
उहाँले विश्व हात धुने दिवसको सार्थकता सबैले हात धुनुलाई दैनिक जीवनको अभिन्न हिस्सा बनाएर मात्र पुष्टि हुने उल्लेख गर्दै आजकै दिनबाट स्वच्छता र स्वास्थ्यप्रति प्रतिबद्ध रहँदै नियमित हात धुने बानी बसाल्न सबैलाई आह्वान गर्नुभएको छ।
विश्व हात धुने दिवस प्रत्येक वर्ष अक्टोबर १५ मा मनाइँदै आएको छ। यस वर्षको दिवस ‘It might be gloves. It’s always hand hygiene’ भन्ने नाराका साथ देशभर विभिन्न सरसफाइ तथा जनचेतनामूलक कार्यक्रमहरू आयोजना गरी मनाइँदैछ।



330 पटक हेरिएको 

