
सप्तरी : सप्तरी जिल्लाको अग्निसाइर कृष्णसवरण, विष्णुपुर, डाक्नेश्वरी, राजगढ र सप्तकोशी गरी पाँच वटा पालिकामा “हात धुने हिरो बन्नुहोस्” भन्ने नाराका साथ विश्व हात धुने दिवस २०२५ विविध कार्यक्रम गरी मनाईएको छ।
समुदायमा सरसफाइको महत्त्वबारे जनचेतना जगाउने, रोग संक्रमण रोकथाममा हात धुने अभ्यासलाई दैनिक जीवनको संस्कृतिको रूपमा विकास गर्ने र सामुदायिक स्वच्छता सुदृढ बनाउने उद्देश्यले विश्व हात धुने दिवस मनाईएको हो ।
दिवसको अवसरमा महुली सामुदायिक विकास केन्द्र, सप्तरीले विद्यालय, स्वास्थ्य चौकी, वडा कार्यालय तथा समुदायस्तरमा चित्रकला तथा नारा लेखन देखि उत्कृष्ट हात धुने स्टेशन प्रतियोगिता समेत आयोजना गरिएको थियो ।

हरेक बर्षको अक्टोबर १५, मा मनाइने विश्व हात धुने दिवसको अवसरमा ११ विद्यालय, ४ स्वास्थ्य चौकी, २ वडा कार्यालय तथा १० वटा समुदायस्तरमा सरसफाइ तथा व्यक्तिगत स्वच्छतामा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले सचेतनामूलक गतिविधिहरू आयोजना गरिएको वाश अधिकृत सन्तोष प्रसाद चौधरीले जानकारी दिनुभयो।
वेल्टहंगर हिल्फेको सहकार्यमा महुली सामुदायिक विकास केन्द्र, सप्तरीद्वारा सञ्चालित “Up-Scaling WASH System Strengthening Approach in the Terai Region of Nepal” परियोजना अन्तर्गतको कार्यक्रममा हात धुने व्यवहार प्रदर्शन, चित्रकला प्रतियोगिता, नारा लेखन, सचेतनामूलक र्याली तथा सहभागितामूलक क्रियाकलापहरू सञ्चालन गरिएको उहाँले जानकारी दिनुभयो।
उक्त कार्यक्रमबाट ५८१ महिला र ३६९ पुरुष लाभान्वित भएका थिए। ती मध्ये विद्यालय स्तरमा २५४ छात्रा र २४३ छात्र, समुदायस्तरमा २७२ महिला र ३६ पुरुष, वार्डस्तरमा ६० महिला र ४० पुरुष तथा स्वास्थ्य संस्थामा १५ महिला र ३० पुरुष सेवाग्राही सहभागी थिए।
यसै अवसरमा समुदायस्तरमा “उत्कृष्ट हात धुने स्टेशन प्रतियोगिता” समेत आयोजना गरिएको थियो। विद्यालय तथा समुदायस्तरमा सफा र व्यवस्थित हात धुने स्टेशनको मूल्यांकन गरी उत्कृष्ट स्थानहरूलाई प्रोत्साहन तथा सम्मान प्रदान गरियो।
बाल क्लबका सदस्यहरू, मासिक धर्म स्वास्थ्य (MHM) नेटवर्क, महिला स्वास्थ्य स्वयंसेविका (FCHVs) तथा स्थानीय स्रोत व्यक्ति (LRPs) ले हात धुने सही तरिका सम्बन्धी व्यवहारिक प्रदर्शन गरे। त्यस्तै विद्यालयका WASH फोकल शिक्षक र बाल क्लबका सदस्यहरूले साबुन र पानी प्रयोग गरी हात धुने चरणहरू विद्यार्थीलाई सिकाएका थिए।
कार्यक्रमले विद्यालय तथा समुदायस्तरमा सरसफाइमैत्री वातावरण निर्माण, हात धुने व्यवहारमा सुधार र स्वास्थ्यप्रति जिम्मेवार अभ्यासलाई प्रोत्साहन गरेको छ। कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विद्यार्थी, शिक्षक, स्वास्थ्यकर्मी, महिला समूह, वडास्तरीय सरसफाइ समिति, हरूको सक्रिय सहभागिता रहेको थियो। सहभागीहरूले हात धुने सरल तर प्रभावकारी तरिकाबारे जानकारी लिएर दैनिक जीवनमा नियमित अभ्यास गर्ने प्रतिबद्धता जनाएका छन्।

महुली सामुदायिक विकास केन्द्रले प्रत्येक वर्ष WASH क्षेत्रसँग सम्बन्धित दिवसहरू मनाउँदै समुदायलाई सरसफाइमैत्री बनाउने अभियान सञ्चालन गर्दै आएको छ। यस वर्षको दिवसले विशेष गरी विद्यालय र समुदायका बालबालिका तथा अभिभावकहरूलाई व्यवहारिक रूपमा हात धुने महत्त्वबारे सशक्त सन्देश पुर्याएको वाश अधिकृत चौधरीले जानकारी दिनुभयो।



537 पटक हेरिएको 

