सप्तरीमा बाढी प्रभावित १७८ परिवारलाई सरसफाइ सामग्री वितरण


सप्तरी :  सप्तकोशी नगरपालिका–वडा नं. ६ का बाढी प्रभावित रामजानकी, सलहेस र मेगजिन चौरिया टोलका १७८ परिवारलाई सरसफाइ सामग्री वितरण गरिएको छ। वेल्टहंगर हिल्फेको सहकार्यमा महुली सामुदायिक विकास केन्द्र, सप्तरीद्वारा सञ्चालित “Up-Scaling WASH System Strengthening Approach in the Terai Region of Nepal” परियोजना अन्तर्गत सरसफाइ सामग्री वितरण गरिएको हो।

वितरण गरिएको सामग्रीमा नुहाउने साबुन ४ थान, कपडा धुने साबुन २ थान, पियुष १ थान, ढक्कनसहितको पानीको बाल्टी १ थान, प्लास्टिक जग १ थान, शौचालय सफा गर्न हार्पिक १ थान, फिनेल १ थान तथा ट्वाइलेट ब्रस १ थान रहेका छन्।

महुली सामुदायिक विकास केन्द्रका कार्यकारी निर्देशक प्रभु नारायण चौधरीका अनुसार कार्यक्रमको उद्देश्य बाढी प्रभावित समुदायमा सरसफाइ तथा स्वच्छता व्यवहार अभिवृद्धि गर्नुका साथै संक्रमणजन्य रोगको जोखिम न्यूनीकरणमा सहयोग पुर्‍याउनु हो।कार्यक्रममा स्थानीय जनप्रतिनिधि, वडास्तरीय सरोकारवाला, स्वयंसेवक तथा परियोजना टोलीको सक्रिय सहभागिता रहेको थियो।

सप्तकोशी नगरपालिका प्रमुख कृष्ण ढकालले सहभागीहरूलाई धन्यवाद दिंदै समयमै गरिएका यस्ता पहलहरूले बाढी प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम न्यूनिकरणमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।

उहाँले यस अभियानले समुदायमा सरसफाइ तथा सुरक्षित पानी प्रयोगप्रति व्यवहारिक परिवर्तन ल्याउने अपेक्षा व्यक्त गर्नुभयो।त्यसैगरी, वडा नं. ६ का अध्यक्ष नन्दिलाल चौधरीले विपदका बेला सरसफाइलाई प्राथमिकता दिँदै चालेको कदमको प्रशंसा गर्नुभयो।

स्थानीय बासिन्दा भुटी सदा र खटर मुखियाले सामग्री वितरणले समुदायमा स्वास्थ्य सुरक्षा अभिवृद्धि हुने विश्वास व्यक्त गरे।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार