
काठमाडौ : सरसफाइ क्षेत्रमा निजी क्षेत्रको लगानी न्यून छ वा छँदै छैन भन्दा पनि फरक पर्दैन । यसै सन्दर्भमा सरसफाइ क्षेत्रमा लगानीकर्ताहरुलाई कसरी आकर्षण गराउन सकिन्छ भन्ने बिषयमा छलफल तथा अन्तरक्रिया भयो ।
“सरसफाइ सेवाको व्यवस्थापन, प्रबर्धन र सामाजिक उत्तरदायित्वलाई व्यवसायिक मोडेलमा रुपान्तरण” बिषयक कार्यक्रममा वाटर एड नेपालका सिनियर वास पोलिसी एडभाइजर गोविन्द श्रेष्ठले वास क्षेत्रमा ठूलो लगानीको अवसर हुँदा हुँदै पनि लगानीकर्ताहरुलाई आकर्षण गराउन नसकेको बताउनुभयो।
‘वास क्षेत्रमा लगानी गर्न लगानीकर्ताहरुलाई के ले बाधा पुर्यायो ? किन आउन सकेन ? थाहा नभएर हो कि ? वातावरण नबनेर हो कि ? सरकारले नै प्रोत्साहन गर्न सकेन ?’ सुरुमै उहाँले लगानीकर्ताको ध्यान खिच्नुभयो।
मिडिया हेल्पलाइनले आयोजना गरेको छलफल कार्यक्रममा उहाँले सरसफाइ क्षेत्रमा लगानीकर्ताको मात्र नभई सरकारको लगानी पनि कम रहेको बताउनुभयो। लगानी कम हुँदा देशैभरि चाहिए जत्ति स्तरीय भ्याकुम ट्रकहरु नभएको र प्रशोधन केन्द्रहरु बन्न नसकेको उहाँले औल्याउनुभयो।
हेर्नुहोस् भिडियोः
‘सरसफाइ क्षेत्रमा लगानी बढाउन सरकार पनि सक्षम छैन । अनि यहाँहरु जस्तो लगानीकर्ताहरुलाई यस क्षेत्रमा तान्नै सकेको छैन अर्थात यहाँहरु आउनु नै भएको छैन’ लगानीकर्ताहरुलाई वास क्षेत्रमा आउन आग्रह गर्दै उहाँले भन्नुभयो।
उहाँले सरसफाइ श्रृंखलाको हरेक चरणमा लगानीको अवसरै अवसर भएको र यो क्षेत्रमा लगानी गर्नु रोजगारी अवसर सिर्जना गर्नु, लगानीकर्ताले नाफा आर्जन गर्नु र देश प्रतिको सेवा पनि भएको बताउनुभयो।
‘लगानीकर्तालाई जोड्न त जोड्ने तर कसरी ?’ पोलिसी एडभाइजर श्रेष्ठ बोल्दा बोल्दै नेपाल नगरपालिका संघका अध्यक्ष भीम ढुंगानाले प्रश्न गर्नुभयो । श्रेष्ठले लगानीकर्ताहरुलाई सुरुमा लगानीको वातावरण बनाईदिनुपर्ने बताउनुभयो।
‘काठमाडौकै कुरा गरौं, अहिलेसम्म लाइसेन्स दिईएको छैन । भ्याकु ट्रक चलाउने कुरामा निजी क्षेत्रलाई त्रासको वातावरण छ । सरकारले उहाँहरुलाई लगानी गर्दा डुब्यो भने के गर्ने ? त्यसको ग्यारेन्टी छैन । यस्तो यस्तो काममा सरकारले यत्ति प्रतिशत लगानी गर्छ यत्ति चाहिं तपाईहरु लगाउनुस भनेर लागत साझेदारी पनि गर्नुपर्यो ।’ उहाँले भन्नुभयो।
उहाँले निजी क्षेत्रले गर्न सक्ने काम निजी क्षेत्रलाई मात्र दिनुपर्ने र गर्न नसक्ने अवस्थामा मात्र सरकारको सहभागिता हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा सहभागी उद्योगी व्यवसायीले भने कुनै स्पेसिफिक प्रोजेक्टको लागि कति लगानी लाग्छ र ? कसरी रिर्टन आउँछ भन्ने अध्ययन भए नभएको बारे प्रश्न गरेका थिए ।
उहाँले यस क्षेत्रमा लगानी गर्दा हुने फाइदाका बिषयमा प्रारम्भिक अध्ययनहरु पनि भैसकेको र छिमेकी राष्ट्रहरुमा यही क्षेत्रमा लगानी गरेर मनग्गे नाफा कमाएका उदाहरण समेत पेश गर्नुभयो ।

‘यसमा सरकारले पनि आव्हान गर्नुप¥यो लगानीकर्ताहरुलाई, यो मोडेलमा यसरी जाउँ, यसका लागि यसरी संयुक्त लगानी गरौं भनेर’ उहाँले भन्नुभयो।
सरकारले पनि लगानीकर्ता सँगै लगानी गर्ने हो भने लगानीकर्ताको आकर्षण बढ्ने उहाँको भनाइ थियो। ‘यसका लागि लगानी गर्ने वातावरण बनाउनु पर्छ, सरसफाइ क्षेत्रमा लगानी गर्दा फाइदा चाहिं अवश्य छ’ उहाँले भन्नुभयो।
कार्यक्रममा उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य भक्त हमाल, नेपाल वायोग्यास प्रमोसन एसोसिएसनका अध्यक्ष उपेन्द्र रिमाल, नेपाल डेरी एसोसिएसनका केन्द्रिय अध्यक्ष प्रल्हाद दाहाल, होटल व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष दिनेश कुमार चुके लगायतले सरसफाइ क्षेत्रमा कसरी लगानी गर्न सकिन्छ भन्ने बिषयमा आ आफ्नो विचार व्यक्त गरेका थिए ।


252 पटक हेरिएको 

