स्याङ्जा : फोहोरमैला व्यवस्थापनमा उत्कृष्ट काम गर्दै आएको स्याङ्जाको वालिङ नगरपालिकाले गएको आर्थिक वर्षमा झण्डै २७ लाख रुपैयाँ आम्दानी गरेको छ। नगरपालिकाले फोहोरमैला व्यवस्थापन शुल्क र बिक्री शुल्कबाट यो आम्दानी गरेको हो।
नगर प्रमुख कृष्ण खाँणका अनुसार वालिङ नगरपालिकाले हाल नगर क्षेत्रका करिब तीन हजार घरपरिवारबाट दैनिक फोहोर सङ्कलन गर्दै आएको छ। कुहिने र नकुहिने गरी दुई थरीका फोहोर संकलन गर्ने नगरपालिकाले व्यवस्थापन शुल्क मार्फत् मात्रै २५ लाख रुपैयाँ उठाएको छ भने सङ्कलित फोहोरको बिक्रीबाट करिब दुई लाख रुपैयाँ आम्दानी भएको छ।
वातावरण तथा सरसफाइ शाखा प्रमुख मणि रेग्मीका अनुसार बजार क्षेत्रबाट दैनिक पाँच टन कुहिने र पाँच टन नकुहिने गरी करिब १० टन फोहोर सङ्कलन गरिन्छ। कुहिने फोहोर (घाँसपात, तरकारीका बोक्रा, कागज, फलफूलका अवशेष, भान्साको फोहोर आदि)लाई वर्गीकरण गरी गड्यौला प्रविधिबाट प्राङ्गारिक मलमा रुपान्तरण गरिन्छ।

नकुहिने फोहोर (प्लास्टिक, कपडा, टिन–फलाम, कार्टुन आदि) तौलका आधारमा कवाडीलाई बिक्री गरिन्छ। चालु आर्थिक वर्ष २०८२/०८३ मा नगरपालिकाले फोहोरमैला व्यवस्थापन शुल्कबाट मात्रै झण्डै ३० लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य लिएको छ।
२०५३ सालमा स्थापना भएको वालिङ नगरपालिकाले वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) नामक परियोजनासँग सहकार्य गर्दै दिसाजन्य लेदो (Faecal Sludge) व्यवस्थापन प्रणाली पनि सञ्चालनमा ल्याएको छ।

नगर प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुबेदीका अनुसार सेवाग्राहीको सेफ्टी ट्याङ्कीमा रहेको दिसाजन्य लेदो पदार्थलाई प्रतिट्याङ्की ६ हजार पाँच सय रुपैयाँमा व्यवस्थापन गरिन्छ। उक्त पदार्थलाई प्लान्ट मार्फत् पानी र ठोस वस्तु छुट्याएर ठोस भागलाई मलका रूपमा प्रयोग गरिन्छ।
वालिङ उपप्रमुख कविता तिवारीका अनुसार, “देशका धेरै पालिकाले निजी क्षेत्रसँग साझेदारीमा फोहोर व्यवस्थापन गर्दै आएका छन् तर वालिङले आफ्नै पहलमा यो कार्य अघि बढाएको छ।” उहाँले थप्नुभयो, “नगरपालिकाले बनाएको सरसफाइ केन्द्र अहिले सिकाइ केन्द्रको रूपमा विकसित हुँदै गएको छ।”

नगरपालिकाका अनुसार, अहिले देशका विभिन्न पालिकाबाट मात्रै नभई विदेशबाट समेत प्रतिनिधिहरू वालिङमा फोहोर व्यवस्थापनको असल अभ्यास सिक्न आउने गरेका छन्। आगन्तुकहरूका लागि सरसफाइ केन्द्र परिसरमै सूचना केन्द्र सञ्चालन गरिएको छ, जसबाट नगरपालिकाको फोहोर व्यवस्थापन प्रणालीबारे विस्तृत जानकारी दिइन्छ।



299 पटक हेरिएको 


