अव्यवस्थित बस्तीको पीडा, दुषित पानीले घरघरै बिरामी

  वास खबर संवाददाता  248 पटक हेरिएको

राप्ती खोला

हेटौंडा : महेन्द्र राजमार्गको हेटौंडा खण्ड पार गरेर राप्ती पूल तर्ने वित्तिकै एउटा बस्ती भेटिन्छ । त्यहाँबाट केही अगाडि गएपछि महेन्द्र राजमार्गलाई छोडेर बायाँतिर मोडेर अगाडि बढ्दा पुगिन्छ सिमलटार बस्ती । यो हेटौंडा उपमहानगरपालिकाको वडा नं. ११ मा पर्दछ ।

करिब १८ सय घर परिवारको बसोबास रहेको बस्तीको बायाँ पट्टि राप्ती खोलाको नजिकै छ रत्नकुमारी सुवेदीको घर । रत्न कुमारीको घरका सबै सदस्यहरु मृगौला सँग सम्बन्धित विभिन्न रोगले ग्रस्त छन् । अस्पतालमा जचाउँन जाँदा डाक्टरहरुले समेत मृगौलासँग सम्बन्धित रोग लाग्नुमा दुषित पानी मुख्य कारण भएको बताउँदै आएका छन् । ‘हामी बिरामी परिरहेका छौं, हरहमेसा अस्पतालमा गईरहनु परेको छ, तपाईहरुलाई पानीकै कारण रोग लागेको भनेर डाक्टरले पनि भन्नु भएको छ’ सुवेदीले भन्नुभयो।

रत्नकुमारी सुवेदी

सुवेदीको परिवार मात्र होइन, सिमलटारको हरेक जसो घरका मानिसहरु खानेपानीजन्य रोगसँग लड्दै आएका छन् । प्रायजसो बालबालिका र बृद्धबृद्धाहरुलाई बर्षेनी झाडापखाला लाग्ने, ज्वरो आउने, पेट दुख्ने भैरहने उहाँले सुनाउनुभयो ।

सिमलटार टोल सुधार समितिकी सदस्य शारदा शर्मा

खोला किनारमा रहेको अव्यबस्थित बस्तीमा व्यबस्थित तरिकाले खानेपानी आपूर्ति गर्ने कुनै पनि संस्था छैन । घरायसी खाँचो टार्न आफूखुसी गाडेको हातेकल बाटै खानेपानी आपूर्ति गरिरहेको सिमलटार टोल सुधार समितिकी सदस्य शारदा शर्माले बताउनुभयो । भूमिगत सतहको २०/३० फिटमै भेटिने पानी तानेर पिउँदा पानीजन्य रोगहरु देखिएको उहाँले बताउनुभयो ।

‘अव्यस्थित बसोबास भएकाले यहाँ योजनाबद्ध तरिकाले खानेपानी, ढल, सडक, विजुलीको रेखाङ्कन गरिएको होइन, धेरैजसो परिवारसँग सीमित जग्गा छ’ शर्मा भन्नुहुन्छ ‘जसले गर्दा खानेपानीको ह्याण्ड पम्प र शौचालय सँगसँगै निर्माण गर्नुपर्ने बाध्यता छ।’

शौचालयको व्यवस्थित सेप्टिक ट्याङ्क नहुँदा रसाएर भूमिगत पानीको स्रोतमा मिसिने र ह्याण्ड पम्पको माध्यमबाट मानिसको पेटसम्म पुग्ने गरेको सिमलटारबासीको आशंका छ । टोलकी रत्न सुवेदी भन्नुहुन्छ ‘हामीले गरेको दिसापिसाब चेपुवा कलबाट तानेर हामीले नै पिईरहेका छौं भन्ने थाहा छ, तर पनि पिईरहन बाध्य छौं ।’
भूमिगत पानी प्रदुषण हुनुमा शौचालय र ह्याण्ड पम्प सँगसँगै निर्माण हुनु र राप्ती खोला पनि प्रमुख ठान्छन् सिमलटारका बासिन्दा ।

‘फोहोरपानी माथिबाट बगेर आएको छ । त्यही मुर्दाघाट छ । त्यो पारिको बजार एरियाको सबै फोहोरमैला पनि यही आएर थुप्रिएको छ । सुँगुर बँगुर कुखुरा मरेको त्यही लगेर फ्याँकेको हुन्छ । त्यही पानी छनौट भएर आएर हामी चेपुवा कलबाट तानेर पिईरहेका हुन्छौ’ सुवेदीले सिमलटार बस्तीको बेलिबिस्तार लगाउँदै गर्दा राप्ती खोला डुङडुङ्ती गनाईरहेको थियो ।

शौचालय नजिकै गाडिएको हाते पम्प

‘यही कारणले गर्दा धेरै बच्चाहरु, हामी जस्ता बुढाबुढीहरु पनि घाँटी दुख्ने, ज्वरो आउने, पेट दुख्ने समस्याले ग्रस्त छौं’ उहाँले दुषित पानीले पारेको असरबारे पुनः दोहो¥याउनु भयो ।

जमिनमुनि कम सतहमै भेटिने पानी सुरक्षित छैन भन्ने थाहा पाएरै शुद्धिकरण गरेर पिउने गरे पनि समस्या समाधान नभएको उहाँको अनुभव छ । ‘कतिले डाइरेक्ट चेपुवा कलबाटै पानी पिईरहेको छन्। मैले चाहिं फिल्टरमा राख्दा पनि सानो सानो कपाल जस्तो लामो लामो किटाणुहरु फेला पार्‍यौं’ उहाँले भन्नुभयो ।

हाते पम्पको प्लेटफर्म नजिकै शौचालयको सेप्टिक ट्याङ्क

खानेपानीमा देखिएको समस्या सुधारका लागि घरायसी स्तरबाट प्रयास भएपनि सार्थक नभएको सिमलटारबासीको अनुभव छ । यसका लागि हेटौंडा उपमहानगरपालिकाले खानेपानीलाई प्राथमिकताका साथ योजनाबद्ध ढंगले वितरण गर्नुपर्ने उहाँहरुको माग छ ।

‘हामी उपमहानगरपालिका भित्रका बासिन्दा दुषित पानी पिउन बाध्य छौं, उपमहानगरपालिकाले यो बस्तीको खानेपानी, सरसफाइ र ढल निकासको एकीकृत ढंगले समाधान गर्नुपर्छ’ सिमलटार टोल सुधार समितिकी सदस्य शारदा शर्माले बताउनुभयो।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार