
झापा : झापाको चारआलीमा निर्मित मानव मलमूत्रीय फोहोर व्यवस्थापन केन्द्रलाई पूर्ण क्षमतामा सञ्चालन गर्न चारआली साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले समन्वय गर्न थालेको छ । उपभोक्ता संस्थाले बिर्तामोड नगरपालिका, मेचीनगर नगरपालिका र बुद्धशान्ति गाउँपालिका सँग समन्वय गरिरहेको संस्थाका अध्यक्ष राजन चिमरियाले जानकारी दिनुभयो।
संस्थाको १७ औं परिषद सभामा बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष चिमरियाले मानव मलमुत्रीय फोहोर व्यवस्थापन केन्द्र निर्माणका लागि बिर्तामोड नगरपालिका, मेचीनगर नगरपालिका र बुद्धशान्ति गाउँपालिकाको पनि लगानी भएकाले तीनै वटा पालिकासँग समन्वय भैरहेको जानकारी गराउनुभयो।
“हाम्रो संस्थाले रेखदेख र सञ्चालन गर्दै आएको मानव मलमूत्रीय फोहोर व्यवस्थापन केन्द्रलाई पूर्ण क्षमतामा सञ्चालन गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउने काम गरेका छौं।” बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै उहाँले भन्नुभयो “पूर्ण क्षमतामा सञ्चालन गर्न तीनैवटै पालिका सित समन्वय गर्ने काम भइरहेको छ ।”

२०७६ सालमा निर्माण सम्पन्न गरी चारआली खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थालाई सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी दिईएको प्रशोधन केन्द्रमा कोशी प्रदेशकै दोस्रो व्यवस्थित ल्याव समेत रहेको र प्रयोगशालामा माटो, गोबर लगायतको परिक्षण गर्न सकिने जानकारी गराउनुभयो । हाल प्रयोगशालामा दुई जना प्राविधिकको अभाव रहेको जानकारी गराउँदै प्रयोगशालालाई समेत सञ्चालन गर्न पहल भइरहेको उहाँले बताउनुभयो।
झापाको मेचीनगर नगरपालिकाको १४ र १५ वडा, विर्तामोड नगरपालिका र बुद्धशान्ति गाउँपालिकाको सबै वडाका गरी १ लाख ४२ हजार ८ सय ४८ जनसंख्याबाट निस्कने दिसाजन्य लेदो प्रशोधन गर्ने गरी मानव मलमूत्रीय फोहोर व्यवस्थापन केन्द्र निर्माण गरिएको थियो ।
कुल ७ करोड ९३ लाख ९७ हजार ८ सय २२ रुपैयाँ लागत रहेको मलमूत्रीय फोहोर व्यवस्थापन केन्द्र निर्माणमा ८५ प्रतिशत अर्थात ६ करोड ७४ लाख ८८ हजार १ सय ४९ रुपैयाँ एसियाली विकास बैंकको लगानी रहेको छ ।
फोहोर व्यवस्थापन केन्द्र निर्माणका लागि मेचीनगर नगरपालिकाले १६ लाख ६७ हजार ३५४ रुपैयाँ, विर्तामोड नगरपालिकाले ६७ लाख ८८ हजार ५ सय १३ रुपैयाँ र बुद्धशान्ति गाउँपालिकाले ३४ लाख ५३ हजार ८ सय ५ रुपैयाँ लागत साझेदारी गरेका छन् ।
दैनिक २७ घनमिटर दिसाजन्य लेदो प्रशोधन गर्ने क्षमता रहेको यस केन्द्रमा मुश्किलले सालाखाला दैनिक १ ट्याङ्कर लेदो मात्र आउने गरेको छ।



379 पटक हेरिएको 

