
राजविराज : झाडापखालाले तीन जनाको मृत्यु भएको सप्तरीको छिन्नमस्ता गाउँपालिका–५ को सदा टोल नै शौचालयविहीन रहेको खुलेको छ । अतिविपन्न ९० परिवारको बसोवास रहेको यहाँका ३३ वर्षीय बुचन सदाले झाडापखालाबाट आठ दिनको अन्तरमा परिवारका तीन सदस्य गुमाएका छन् ।
झाडापखालाले अझै ८० जना ग्रसित रहेको टोलमा एउटा पनि शौचालय छैन। त्यहाँका स्थानीयहरू छेउकै पोखरीको डिल र लुकीछिपी अर्काको खेतबारीमा शौच गर्न बाध्य छन् ।
महिलाले त झन् शौच गर्नका लागि एकाबिहानै उठ्नुपर्ने बाध्यता खेपिरहेकी छन् । ‘कहिलेकाहीँ उठ्न ढिलो हुँदा झाडी खोज्दै भौतारिनुपर्छ,’ २३ वर्षीया रानी सदाले दुखेसो सुनाइन् । बालबालिकाले घर छेउछाउमै शौच गर्छन् । भारतको पञ्जाब र मुम्बईमा कमाएर परिवारको गुजारा चलाउँदै आएका उनीहरूले आर्थिक अभावका कारण शौचालय बनाउन नसकेको ५० वर्षीय घुरन सदाले बताए ।
वर्षाको पानी निकास नहुँदा खानेपानीका लागि जडान गरिएका तीनमध्ये एउटा चापाकल अझै डुबानमा छ । बाँकी दुई वटा चापाकल पनि हिलाम्य छन् । त्यहीँ चापाकलबाट उनीहरू पानी पिउनेदेखि नुहाउने, लुगा धुने र भाँडा माझ्दै आएका छन् । टोलको साँघुरो बाटो हिलाम्य रहँदा हिँडडुल गर्न समस्या छ ।
टोलमा झाडापखालाले तीन जनाको मृत्यु भइसकेपछि गत शुक्रबार मात्रै थाहा पाएको गाउँपालिकाले साबुन, नेल कटर, सेनिटाइजरलगायतका सामग्री वितरण गरे पनि सरसफाइ भने अझै गराएको छैन । टोलका ठाउँठाउँमा फोहोर थुप्रिँदा दुर्गन्धित छ भने वर्षा रोकिएको दुई दिन भइसके पनि केहीका आँगन अझै धान रोप्न ठिक्क पारिएको खेतझैँ छन् ।
सदा टोलदेखि एक किलोमिटरकै दूरीमा रहेको स्वास्थ्य चौकी कोचाबखारी (लोखरम) मा बर्थिङ सेन्टरसम्म सञ्चालनमा त छ तर त्यहाँसम्मको बाटो हिलाम्य रहँदा एम्बुलेन्स पुग्ने अवस्था छैन । हिँडेर पुग्न पनि समस्यै छ ।
‘वार्षिक १८ जनालाई सुत्केरी गराउने हाम्रो लक्ष्य हो तर यहाँसम्म एम्बुलेन्स नआउँदा तीन महिनायता दुई जना मात्र सुत्केरी आउनुभएको छ,’ स्वास्थ्य चौकीका प्रमुख सिनियर अहेब आलोक रञ्जन झाले भने ।
ऐलानी जग्गामा बसोबास गरिरहेका सदा समुदायले नै चन्दा संकलन गरेर २०६१ सालमा स्थापना गरेको श्री दलित राष्ट्रिय प्राथमिक विद्यालय लोखरमको अवस्था पनि बेहाल छ । त्यसअघि दुई वटा कोठामै बहुकक्षा (चार वटा कक्षा) सञ्चालन हुँदै आएको त्यहाँ ०८१ मा मधेश प्रदेश सरकारले दुई कोठे विद्यालय भवन बनाइदिए पनि अधूरै छ ।
कक्षा ४ सम्म पठनपाठन हुने त्यस विद्यालयमा सदा समुदायका १ सय ३४ जना बालबालिका अध्ययरत छन् । तर भवन बालमैत्री छैन भने त्यहाँ पनि शौचालय र चापाकल छैन । पुरानो विद्यालय भवनमा रहेको चापाकल पनि हिलाम्य छ । पाँच जना दरबन्दी रहेको त्यस विद्यालयमा राहत, पिसिएफ र बालविकासमा चार जना शिक्षक मात्रै छन् ।

वडा सदस्यसहित ५ जना बिरामी अस्पताल भर्ना
टोलका ८० जना झाडापखालाले प्रभावित हुँदा पनि अहिलेसम्म ९ जनाको मात्रै आरडीटी (र्यापिड डायग्नोस्टिक टेस्ट) भएको छ । तीमध्ये ४ जनामा हैजा (कोलेरा Vibrio cholerae) पोजिटिभ देखिएको गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख सिनियर अहेब दिपेन्द्रप्रसाद यादवले बताए ।
‘सरसफाइ र पानी परीक्षण लगायतका काम हामी भोलिदेखि सुरु गर्छौँ,’ उनले भने, ‘प्रभावितले दिसाको नमूना नदिँदा पनि आरडीटी गर्न समस्या भइरहेको छ । अहिलेसम्म हामीले २३ जनालाई बट्टा दिँदा पनि ११ जनाले मात्रै नमूना दिनुभएको छ, अहिले दुई जनाको टेस्ट गर्न बाँकी छ ।’
उनका अनुसार वडा सदस्य ६५ वर्षीया अरहुलियादेवी सदा र आरडीटीमा पोजिटिभ देखिएका सुरज सदाका ३ वर्षीय छोरा मनिष, शिवकुमार सदाका ७ वर्षीय छोरा अमन र सुबोध सदाकी ३० वर्षीया पत्नी रेखादेवी सदा गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा भर्ना छन् ।
पखाला लागेर सिकिस्त भएकी वडा सदस्य अरहुलियालाई आइतबार राति भर्ना गरिएको हो । उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पताल मेडिकल सुपरिन्टेन्डेन्ट डा। प्रकाश साहले बताए ।
गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीले पालिकाका अधिकांश सर्वसाधारण आर्थिक र सामाजिक रूपमा पछाडि परेका कारण सबै ठाउँमा शौचालय बनाउन नसकेको बताए । ‘पालिकाका धेरै क्षेत्रमा अझै शौचालय छैन,’ उनले भने, ‘पालिकाको एक्लो स्रोतले सबै ठाउँमा शौचालय बनाउन सकिँदैन । सबै क्षेत्रमा शौचालय बनाउनका लागि दातृ निकायसँग सहकार्य भइसकेको छ, अब बनाउँछौँ ।’
कार्तिक २ गतेबाट सुरु भएको झाडापखालाले ६ गते बुचनका एक वर्षका छोरा सञ्जीव, ११ गते ६६ वर्षीय बुबा लक्ष्मण र १४ गते ४ वर्षकी छोरी राघिनीको मृत्यु भएको खबर कान्तिपुर दैनिकबाट साभार गरिएको हो।


218 पटक हेरिएको 

