
मकवानपुर : मकवानपुरको कैलाश गाउँपालिकाको ६ वटा टोललाई पूर्ण सरसफाइ उन्मुख तथा सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गरिएको छ। कैलाशको वडा नं.७ को ताम्लाङ – रतुवा, वडा नं. ९ को सागिने र वडा नं. १० को कोशीराङ–घट्टेचौर, कुमलटार, भाल्टार र बाँझोखेत टोललाई सोमबार र मंगलबार घोषणा गरिएको हो।
वडा अध्यक्ष सूर्यबहादुर ब्लोनको अध्यक्षता र गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा अध्यक्ष मुक्तानले खानेपानी आम नागरिकको नैसर्गिक र मौलिक अधिकार भएको उल्लेख गर्दै गाउँपालिकाले दिगो खानेपानी सेवा सुनिश्चित गर्न विभिन्न संस्थासँग साझेदारीमा काम गरिरहेको बताउनुभयो।

“गाउँपालिकाले मुहान दर्ता र बीमा कार्यक्रम ल्याएको छ, ताकि विपद् वा क्षतिको अवस्थामा पुनर्निर्माण सहज होस्,” उहाँले भन्नुभयो। अध्यक्ष मुक्तानले सुरक्षित खानेपानीका लागि फिल्टरको प्रयोग गर्न र दिगोपनाका लागि खानेपानी महसुल नियमित रुपमा उठाउन आग्रह गर्नुभयो। साथै उहाँले खानेपानीका संरचनाहरुको संरक्षण सामूहिक जिम्मेवारी भएको समेत बताउनुभयो।
उहाँका अनुसार हालसम्म २ हजार भन्दा बढी घरमा मिटर सहित एक घर एक धारा पुर्याईसकेको र यस आर्थिक बर्षभित्र ३ हजार देखि ३,५०० घरधुरीमा ‘एक घर–एक धारा’ कार्यक्रम विस्तार गर्ने लक्ष्य राखिएको छ। उहाँले सरसफाइ र खानेपानीसँगै सडक लगायत भौतिक पूर्वाधार निर्माणका काम पनि तीव्र गतिमा भइरहेको बताउनुभयो।
कार्यक्रममा उपाध्यक्ष बालकुमार मल्ल ठकुरीले सरसफाइका ७ सूचक र २३ उपसूचकहरूलाई पालना गर्न आग्रह गर्दै मुहानदेखि धारासम्मको संरचना संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो।
वडा अध्यक्ष ब्लोनले फोहोरपानीका कारण विभिन्न रोग फैलिने बताउँदै, घर, शौचालय, भान्सा र टोल सफा राख्ने बानी सबैमा बसाल्नुपर्नेमा जोड दिनुभयो। उहाँले वडाका ५३ टोलमध्ये पहिलोपटक घोषणा भएको ५ टोललाई उदाहरणीय बनाउन आग्रह गर्नुभयो।
यस्तै वडा नं.७ को ताम्लाङ -रतुवा टोल घोषणा कार्यक्रमा वडा अध्यक्ष उदास कुमार भोलोनले सरसफाइको कुरालाई देखावटी रुपमा भन्दा पनि पहिले आफ्नो सोचाइमै सरसफाइ ल्याउनुपर्ने बताउनुभयो। उहाँले हातको स्वच्छतामा विशेष ध्यान दिन आग्रह गर्नुभयो।

नेपाल ग्रामीण पुनर्निर्माण संस्था (RRN) का जिल्ला संयोजक लीलबहादुर कार्कीले प्रदूषित पानीका कारण करिब ६० प्रतिशत रोगहरू फैलिने तथ्याङ्क प्रस्तुत गर्दै, जर्मन सरकारको सहयोगमा WHH र गाउँपालिकाको लागत साझेदारीमा सञ्चालन भएको सुरक्षित पानी र सरसफाइ अभियानलाई निरन्तरता दिनुपर्ने बताउनुभयो। उहाँले सचेतना बढाउन र सोच परिवर्तन गर्न आग्रह गर्दै सरसफाइका सूचकहरू पालना गर्न पनि जोड दिनुभयो। ‘पानी हाम्रो जिन्दगानी हो, तसर्थ सुरक्षित पानी मात्र पिउने गरौं’ उहाँले भन्नुभयो ।

ग्रामीण पुनर्निर्माण संस्था (RRN), वेल्ट हंगर हिल्फे (WHH) र गाउँपालिकाको साझेदारीमा सञ्चालित वास सुदृढीकरण परियोजना क्षेत्र भित्रका १२७ घरपरिवार र वडा कार्यालय, स्वास्थ्य संस्था, विद्यालय र खानेपानी कार्यालयलाई गरी १३१ वटा पानी फिल्टर उपलब्ध गराईएको छ ।



256 पटक हेरिएको 

