गोलबजारको वडा नं. ३ का दुई टोल सफा र स्वच्छ टोल घोषणा

  वास खबर संवाददाता  454 पटक हेरिएको

सिरहा : गोलबजार नगरपालिकाको वडा नं ३ स्थित मास्टर आखें चोक र पान्थरी टोललाई पूर्ण सरसफाइ उन्मुख सफा र स्वच्छ टोल घोषणा गरिएको छ । पुर्ण सरसफाइ अभियान अन्तर्गत सफा र स्वच्छ क्षेत्रका लागि आवश्यक सूचकहरु पूरा गरी वडा स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समिति (वार्ड वास सीसी) बाट प्रमाणिकरण भएपछि शुक्रबार ७५ घरधुरीको मास्टर आखें चोक र ७४ घरधुरीको पान्थरी टोललाई सफा र स्वच्छ टोल स्वघोषणा गरिएको हो ।

वेल्ट हंगर हिल्फे (WHH) र सबल नेपालको साझेदारीमा सिरहामा सञ्चालित Up Scaling WASH System strengthenin Aproach in Terai Region in Nepal परियोजना  अन्तर्गत सिरहाको विभिन्न पालिकामा खानेपानी, सरसफाइ र स्वच्छता सम्बन्धी कार्यक्रमहरु सञ्चालन भैरहेका छन् । सोही कार्यक्रम अन्तर्गत मास्टर आखें चोकमा २०८२ साउन २४ गते प्रारम्भिक छलफलको समयमा ६ घर परिवारले खुला दिसा गरेको भेटिएको थियो ।

त्यसपछि भदौ ३० गते पहिलो संयुक्त अनुगमन गर्दा ५ घरधुरीले खुला ठाउँमा दिसापिसाब गरिरहेको पाइएको थियो । खुला दिसाको अन्त्यका लागि सञ्चालन गरिएका विभिन्न कार्यक्रम गरेपछि असोज १३ गते दोश्रो संयुक्त्त अनुगमन गर्दा सबै घरले शौचालय निर्माण गरी शौचालयमा मात्र दिसापिसाब गरेको पाईएको थियो ।

त्यस पश्चात कार्तिक १३ गते वडा स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति (वार्ड वास सीसी) बाट प्रमाणीकरण गरी शुक्रबार पूर्ण सरसफाइ उन्मुख सफा र स्वच्छ टोल घोषणा गरिएको सबल नेपालका देवेस चौधरीले जानकारी दिनुभयो।

यस्तै शुक्रबार नै घोषणा गरिएको पानथरी टोलमा पनि पहिलो संयुक्त अनुगमनमा ११ घरधुरीमा शौचालय थिएन । दोस्रो संयुक्त अनुगमनमा ९ तथा तेस्रो संयुक्त अनुगमनमा ७ घर असोज ३१ गते चौथो संयुक्त अनुगमन गर्दा सबै घरले शौचालय निर्माण गरी प्रयोग गरेको पाइएको थियो ।

वडा नं. ३ का अध्यक्ष धन प्रसाद लामाको अध्यक्षतामा भएको घोषणा कार्यक्रममा वडा सदस्यहरु, टोलका बासिन्दाहरुको उल्लेख्य सहभागिता थियो ।

घोषणा कार्यक्रममा खुला ठाउँमा दिसापिसाब गरे ५५१ रुपैयाँ जरिवाना गर्ने लगायत १२ बुँदे प्रतिबद्धता समेत जाहेर गरिएको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार