
सप्तरी : राजविराज नगरपालिकामै रहेको एक विद्यालय १६ वर्षदेखि सौचालय बिनै सञ्चालनमा रहेको छ । राजविराज नगरपालिका १० कदमाहास्थित रहेको श्री गायत्री जगदीश सावित्री सुध आधारभूत विद्यालय १६ वर्षदेखि शौचालय बिनै सञ्चालनमा रहेका कारण विद्यालयका शिक्षक/शिक्षिका तथा विद्यार्थी खुला ठाउँमै दिसापिसाब गर्न बाध्य छन् ।
मुसहर समुदायको बाहुल्यता भएको समुदायलाई ध्यानमा राखेर २०६६ सालमा शिक्षा कार्यालय सप्तरीबाट अनुमति लिएर सञ्चालनमा गरेको यस विद्यालयमा हाल बालविकासदेखि कक्षा चारसम्म सञ्चालनमा रहेको छ ।
शौचालयविहीन रहेको यस विद्यालयमा रहेको जम्मा दुईवटा कोठा मा बालविकाससहित पाँचवटा कक्षा सञ्चालनमा रहेको छ भने त्यहीँ दुईवटा कोठामा विद्यार्थीका लागि खाजा तयार पार्ने काम र विद्यालयको कार्यालय समेत सञ्चालन गर्दै आएको विद्यालयका प्रधानाध्यापक सुष्मा यादवले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘‘६४ जना विद्यार्थी रहेको यस विद्यालयमा कक्षा कोठा थप्नका लागि पटकपटक सम्बन्धित निकायमा निवेदन दिए पनि हालसम्म कुनै सुनुवाइ हुन सकेको छैन । यस विद्यालयसम्म आउन जान विद्यार्थीलाई बाटोको समेत सुविधा नभएपछि खेतको आलीबाट विद्यालय आवतजावत गर्नुपर्ने बाध्यता छन् ।’’
विद्यायमा एक जना राहत र चार निजी स्रोतको गरी पाँच जना शिक्षक शिक्षिका कार्यरत छन् । सोही वडाका मट्टीगढीमा रहेको राष्ट्रिय आधारभूत विद्यालय मट्टीगढीमा पनि बालविकासदेखि कक्षा पाँचसम्म सञ्चालनमा रहेको विद्यालयमा समेत चार वटा कोठामा ६ वटा कक्षा सञ्चालनमा रहेको विद्यालयका प्रधानाध्यापक महेन्द्र प्रसाद यादवले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘‘कोठाको समस्यासँगै विद्यालयको व्यवस्थापन गर्न आवश्यक छ ।’’
इन्टेलेक्चुअल नेपाल सप्तरीका अध्यक्ष एवम् शैक्षिक अभियन्ता डा.सूर्याप्रसाद यादवले राजविराज नगरपालिका भित्रको केही विद्यालयहरूलाई मर्ज गरेर थप व्यवस्थापन गरेर सञ्चालन गर्न आवश्यक रहेको गोरखापत्र अनलाइनले प्रकाशन गरेको छ।
वडाको विद्यालयमा पटकपटक अनुगमन र निगरानी गर्दै आएकाले विद्यालयको अवस्थाको विषयमा जानकार रहेको राजविराज नगरपालिका १० का वडा अध्यक्ष गंगाराम खंगले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘‘गायत्री जगदीश सावित्री सुध आधारभूत विद्यालयमा भनेको डाटाभन्दा एकदमै न्यून विद्यार्थी रहेकाले विद्यार्थीको सङ्ख्या बढाएर गुणस्तरीय शिक्षा नदिएसम्म यस विद्यालयमा थप केही गर्न समस्या भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘मट्टीगढीको विद्यालयको समस्या समाधानका लागि बजेट छुट्टयाएको छु ।’’


236 पटक हेरिएको 

