
सर्लाही, हरिपुर : सर्लाहीको हरिपुर नगरपालिका १ मा निर्माणाधीन हजारबिघा खानेपानी तथा सरसफाइ आयोजना निर्माण सम्पन्न गराउन हरिपुर नगरपालिका सर्लाही, हरिपुर खानेपानी तथा सरसफाई ब्यवस्थापन बोर्ड, हजारबिघा खानेपानी तथा सरसफाई उपभोक्ता समिति, वागमती सेवा समाज नेपाल।अक्सफाम तथा नेपाल स्वास्थ्यको लागि पानी (नेवा) बीच सम्झौता भएको छ ।
नेपाल सरकारको लगानीमा निर्माण शुरु भइै लामो समयदेखि अधुरो रहेको खानेपानी आयोजना सम्पन्न गराउन उल्लेखित पक्षहरुले २ करोड, ६७ लाख, ६० हजार, पाँच सय सात रुपैयाँ लगानी गर्ने सम्झौता भएको हो ।
वागमती सेवा समाज नेपाल।अक्सफामको समन्वय तथा सहजीकरणमा भएको हजार बिघा खानेपानी आयोजनाको निर्माण सम्पन्न गर्न गराउन सम्झौतामा उल्लेखित गतिबिधि तथा लगानी चालु आर्थिक बर्ष भित्रै गरी सम्पन्न गर्ने लक्ष्य रहेको छ ।
लामो समयदेखि निर्माण सम्पन्न हुन नसकेको हजार बिघा खानेपानी आयोजनाको निर्माण सम्पन्न गराई समुदायमा खानेपानी आपुर्ति गर्न गराउन आज यो सम्झौताले आशाको किरण जगाएको वागमती सेवा समाजका परियोजनाका संयोजक किशोर चन्द्र उपाध्यायले बताउनुभयो।

अक्सफामको सहयोगमा वागमती सेवा समाज नेपालद्धारा सञ्चालित खानेपानी आयोजनाहरुको लागि बैकल्पिक ब्यवस्थापन पद्धति (Alternative Management Model-AMM) परियोजनाको सहयोग समन्वय तथा सहकार्यमा हरिपुर नगरपालिकामा खानेपानी आयोजनाहरुको एकिकृत तथा दिगो ब्यवस्थापनका लागि हरिपुर खानेपानी तथा सरसफाइ ब्यवस्थापन बोर्ड सञ्चालनमा छ ।

खानेपानी ब्यवस्थापन बोर्डले प्रदान गर्ने सेवाहरुलाई बिश्वसनीय प्रभावकारी तथा दिगो बनाउन बोर्ड अन्तर्गत खानेपानी आयोजनाहरुको संख्या अर्थात खानेपानी उपभोग गर्ने घरधुरीहरुको संख्या बढाउनु अति नै जरुरी रहेको परियोजना संयोजक उपाध्यायले बताउनुभयो।
“जुन सुकै निकायले निर्माण शुरु गरे तापनि त्यस्ता संरचना अथवा लगानीको प्रतिफल जनताले समयमै पाउनु पनि अति नै महत्वपुर्ण हुन्छ । त्यसैले हरिपुर नगरपालिका भित्र नयाँ खानेपानी आयोजनाहरु निर्माण गर्न गराउन, आयोजनाका अधुरो संरचनाहरुको निर्माण सम्पन्नताको लागि बितरित खानेपानीको गुणस्तर तथा बितरण प्रणालीको गुणस्तरका लागि हरिपुर खानेपानी ब्यवस्थापन बोर्ड सक्रिय छ” उहाँले भन्नुभयो ।

यसका लागि बोर्डले सहयोगी निकायहरु, सरकारी तथा गैर सरकारी निकायहरुसँग समन्वय तथा सहकार्य गर्दै आएको हरिपुर खानेपानी तथा सरसफाइ व्यवस्थापन बोर्डका अध्यक्ष हरिबहादुर थापाले बताउनुभयो।


543 पटक हेरिएको 

