दक्षिण एसियाली क्षेत्रको खानेपानी तथा सरसफाइ सम्बन्धी तालिम ललितपुरमा सम्पन्न

  वास खबर संवाददाता  318 पटक हेरिएको


काठमाडौ : दक्षिण एसियाली क्षेत्रको खानेपानी, सरसफाइ तथा स्वच्छता सम्बन्धी पाँच दिने तालिम ललितपुरमा सम्पन्न भएको छ । CAWST को सहयोगमा वातावरण र जनस्वास्थ्य संस्था (ENPHO) ले दक्षिण एसियाली क्षेत्रका लागि प्रभावकारी वास तालिम सञ्चालन सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम आयोजना गरिएको हो ।

एन्फोले आयोजना गरेको दक्षिण एसियाली क्षेत्रको यो दोस्रो तालिम हो । यस अघि पनि तिनै देशका प्रोफेस्नलहरुका लागि प्रभावकारी वास तालिम सञ्चालन सम्बन्धी आफ्नै प्रशिक्षकबाट प्रशिक्षण गरिएको थियो।


पाँच दिनसम्म सन्चालन भएको तालिममा दक्षिण एसियाली राष्ट्रहरु भारत, भुटान, श्रीलंका र बंगलादेश तथा नेपालको तर्फबाट राष्ट्रिय खानेपानी तथा सरसफाइ अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र’ नगरकोट, प्राविधिक प्रशिक्षण प्रतिष्ठान भक्तपुर, स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान जावलाखेल ललितपुरका गरी १६ जनाको सहभागिता थियो।

१० पुरुष, ६ महिला गरी १६ जना सहभागी तालिमले ४ वटा सरकारी संस्था र ११ वटा विकास संस्थाको प्रतिनिधित्व गरेको एन्फोका प्रोग्राम म्यानेजर आश कुमार खाइतुले जानकारी गराउनुभयो।


उहाँका अनुसार आधुनिक तालिम सामग्रीहरुको उपलब्धता नभएको स्थानमा पनि परम्परागत तालिम सामग्रीहरुको उपयोगद्वारा कसरी तालिमलाई प्रभावकारी रुपमा सञ्चालन गर्न सकिन्छ भन्नेमा तालिम केन्द्रित थियो ।

तालिम प्रशिक्षक शोभा राना मगरले अन्तर्राष्ट्रिय सहभागीहरुलाई तालिम दिन पाउँदा खुसी लागेको बताउनुभयो। ‘देशभित्र धेरै तालिमहरु सञ्चालन गरियो, तर यो तालिम विभिन्न देशका सहभागीहरु बीचको अन्तरक्रिया, अनुभवको आदानप्रदान लगायत कारणले विशेष बन्यो’ उहाँले भन्नुभयो।


तालिम अवधिभर आफूहरुले सहजीकरण गर्ने सीप, सहभागी केन्द्रित तालिम विधिका बिषयमा जानकारी हासिल गरेका सहभागीहरुले बताएका छन् । सहभागीहरुले प्रभावकारी वास क्षमता विकासका उपायहरुका बारेमा आफ्नो सीप अझ अभिवृद्धि भएका पनि बताएका छन् ।


समापन सत्रमा बोल्दै तालिमका सहभागीहरुले उत्कृष्ट सहकार्य, साझा सिकाइ, र दक्षिण एसियाली क्षेत्रभरि प्रभावकारी वास तालिमलाई अझ मजबुत रूपमा अघि बढाउने प्रतिबद्धता जाहेर गरेका छन् ।

गत सोमबार बाट सुरु भएको तालिमको उदघाटन राष्ट्रिय खानेपानी तथा सरसफाइ अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्रका प्रमुख ई.राम कुमार श्रेष्ठले गर्नु भएको थियो।

फोटोहरु : रबिना मिलापति/एन्फो


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार