
भक्तपुर : भक्तपुरको चाँगुनारायण नगरपालिकामा खानेपानी र सरसफाइमा लैङ्गिक समानता र सामाजिक समावेशीकरण मूल प्रवाहीकरण सम्बन्धी कार्यशाला सम्पन्न भएको छ । नगरपालिकाको खानेपानी तथा सरसफाइ सम्बन्धी योजना तथा नीतिहरूमा लैङ्गिक समानता र सामाजिक समावेशीकरणलाई मूलधारमा ल्याउने उद्देश्यले कार्यशाला आयोजना गरिएको हो ।
वातावरण र जनस्वास्थ्य संस्था (ENPHO) ले स्थानीय साझेदारहरूसँगका सहकार्यमा आयोजना गरेको कार्यशालाले नगरपालिकाका विभिन्न विभागका कर्मचारी तथा वडाका प्रतिनिधिहरूलाई एउटै साझा मञ्चमा ल्याई आगामी दिनमा खानेपानी तथा सरसफाइ र स्वच्छता सम्बन्धी बनाईने योजनाहरुमा लैङ्गिक समानता र सामाजिक समावेशीकरणलाई सुनिश्चित गर्न प्रतिबद्ध बनाएको छ ।

कार्यशालामा चाँगुनारायण नगरपालिकाको वास शाखाका प्रमुख सुरेन्द्र लामिछानेले चाँगुनारायण नगरपालिकाभित्र सञ्चालित खानेपानी आयोजनाहरुको बिषयमा जानकारी गराउनु भएको थियो । उहाँले ती खानेपानी आयोजनाहरुको अवस्था, सामाजिक समावेशीकरणको स्थितिका बिषयमा समेत प्रकाश पार्नुभयो।

लैङ्गिक समानता र सामाजिक समावेशीकरण सम्बन्धी सिद्धान्तहरू प्रत्येक नगरपालिका योजना, नीति तथा कार्यान्वयन प्रक्रियामा प्रभावकारी रूपमा समावेश गर्न सक्षम बनाउने खालका थिए । जसको प्रयोग र अबलम्बनबाट खानेपानी तथा सरसफाइ सेवाहरू अझ समतामूलक, पहुँचयोग्य र दिगो बनाउन सफल हुने कार्यशालाका सहभागीहरुले बताएका छन् ।
एन्फोले चाँगुनारायण नगरपालिकामा २०८० भदौ देखि सुरक्षित खानेपानी र उत्थानशील नगरपालिका (Building a Water Safe Resilient Municipality)-SARWACHA सर्वोच परियोजना सञ्चालन गरिरहेको छ।



433 पटक हेरिएको 

